Tanahun Awaj
विचार/दृष्टिकोण

छाना चढ्ने र छाता ओढाउनेका नाममा

रमेश विकल

गएको साता सामाजिक सञ्जालमा आएका दुइवटा तस्विरले मन छोयो । एउटा तस्विर हुरीले छानो उडाएपछि उक्त मर्मत गर्न विद्यालयको छानोमा चढेका तीन महिला शिक्षकको थियो भने अर्काे तस्विर चीनको एक विश्व विद्यालयमा आयोजित कार्यक्रममा एक विद्यार्थी मन्तव्य राख्दै गर्दा अचानक पानी परेपछि ति विद्यार्थीलाई छाता ओढाउँदै गरेका प्राध्यापकको थियो ।

सामाजिक सञ्जालमा अघिल्लो साता आजकलको भाषामा भाइरल भएको तीन जना महिला शिक्षक मर्मतका लागि छाना चढेको तस्विर तनहँकै बन्दीपुर गाउँ पालिकाको हो । शिक्षकलाई राज्य दोस्रो दर्जाको नागरिकको व्यवहार गर्छ । आफु समानका राष्ट्रसेवकले राज्यका तर्फबाट पाउने सुविधा उसले पाउँदैन । विद्यालयमै माध्यमिक तहको शिक्षकले प्राथमिक वा निम्नमाध्यमिक तहको शिक्षकलाई फरक व्यवहार गर्छ । स्थानीय भनिएको सरकारको व्यवहारको त झन कुरै नगरौं । नेपालको हकमा कुनै पनि सरकार चाहे त्यो संघीय होस् चाहे प्रादेशिक वा स्थानीय कुनै सरकारको प्राथमिकतामा शिक्षा छैन । शिक्षा प्राथमिकतामा नभएपछि शिक्षक प्राथमिकतामा पर्ने वा उनीहरुको उचित सम्मान हुने भन्ने कुरै भएन । शिक्षणलाई सबैभन्दा सम्मानित पेशा बनाउँछौं । हामीले शिक्षाको महत्व आत्मसात गरेका छौं, त्यसैले अन्य राष्ट्रसेवकको तुलनामा धेरै सेवा र सुविधाले सम्पन्न बनाएर शिक्षण पेशामा आकर्षण थप्छौं । समग्र शिक्षा क्षेत्रमा सुधार ल्याउँछौं भन्नेहरु सत्तामा गए । सत्तामा गए मात्र होइन, शिक्षा मन्त्रालय नै सम्हाले । तर उपलब्धी हातलाग्यो सून्य । शिक्षाको बजेट झन घट्यो । अन्यको तुलनामा एक रुपैयाँ भएपनि बढी तलब शिक्षकको हुन्छ भनेर चर्का भाषण गर्नेहरु अहिले चुप छन् । सरुवामा त्यस्तै हण्डर र ठक्कर छ । अझ बेलाबेला आउने सरुवामा लेनदेनको चर्चाले पेशा नै छाडौं जस्तो बनाउँछ ।

तर ति शिक्षकमा सरकारले गरेको दोस्रो दर्जाका नागरिकको हेपाहा व्यवहारका कारण हिनता छैन । मनको कुनै पनि कुनामा लघुता बोकेको आभाष तस्विर हेर्दा हुँदैन । हिनता र लघुताको ठाउँ लिएको छ, हो हुरीले छानो उडाएका कारण नियमित कक्षा सञ्चालन गर्न नपाउँदा बालबालिकाको पढ्ने हक कुण्ठित भयो, बालबालिकालाई भविष्यको बाटो देखाउने जस्तो महत्वपूर्ण अभिभारा पूर्ण गर्नमा अवरोध सिर्जना भयो भन्ने जिम्मेबारी बोधले । त्यसैले त बन्दीपुर गाउँपालिका–३ मा रहेको सरस्वती आधारभूत विद्यालयका शिक्षकहरु वन्दना भट्टराई, शुभकामना कुँवर र निर्मला राना जेठ १७ को हुरीले छानो उडाएको विद्यालय भवनको छानोमा चढे र मर्मतको काममा पालिका वा अन्य कुनै निकायको मुख ताकेर बसेनन् र आफै मर्मतको काममा खटिए । उनीहरुलाई थाहा छ, पुलिस मुचुल्का, प्राविधक स्टमेट जस्ता अनेकौ सर्त पूरा गर्दा गर्दै विद्यार्थीको पढाई थुप्रैदिन अवरुद्ध हुन्छ ।
सरस्वती आविका शिक्षकहरुको छाना मर्मत गर्ने कार्यले धेरै अरु शिक्षकहरुलाई शायद आफ्नो भूमिका सम्झाएको छ, कि शिक्षक केवल विद्यालय समयमा कक्षामा उपस्थित भएर मात्र पुग्दैन । उसले अरु अनेकौं भूमिका निवार्ह गर्नुपर्छ । विद्यार्थीको अभिभावक बन्नु पर्छ र अझै महत्वपूर्ण कुरा त शिक्षक, विद्यार्थीको आदर्श बन्न सक्नुपर्छ जसलाई उसले पछ्याउन सकोस् ।

विद्यालयमा आउने समस्याहरुको समाधानमा सधैं अरुको मुख ताकेर वस्ने होइन बरु आफुले सकेको आफै गर्ने हो भन्ने पनि यसको सन्देश होला । हामीलाई यस्तै बानी परिसकेको छ । हामी हाम्रै घर अगाडी रहेको सडकको सानो खाल्डो पुर्न पालिका वा सडक विभाग पर्खेर वस्छौं वा त्यहाँ निवेदन गछौं तर आफैले दुइचारवटा ढुङ्गा ल्याएर त्यो खाल्डोमा हाल्दैनौं । हाम्रो त्यो प्रवृत्तिलाई राम्रै झापड हानेका छन् , ति शिक्षकहरुले । भलै ति शिक्षकहरु यस्ता सन्देशको भारी अरु शिक्षकलाई बोकाउन वा हाम्रो गलत प्रवृत्तिलाई झापडा हान्छु भनेर धुरी चढेका पक्कै होइनन् । भाइरल हुन यसो गरेका भनेर शंका गर्नेहरु पनि नभएका होइनन् । मलाई लागेको छैन कि सामाजिक सञ्जालमा भाइरल हुन र वाहवाही पाउन ति शिक्षक विद्यालयको धुरी चढेका हुन् । तस्विरसंगै सामाजिक सञ्जालमा आएका भिडियो हेर्दा त्यस्तो पटक्कै लाग्दैन । तर यदि भाइरल हुनकै लागि गरेका भएपनि यसले एउटा सकारात्मक सन्देश अवश्य प्रवाह गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा आएको विद्यार्थीलाई छाता ओढाएको तस्विर चाहीँ चीनको बेइजिङमा रहेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको दीक्षान्त समारोहको हो । दीक्षान्त समारोहमा दीक्षित एक छात्रा अचानक पानी आएर भिज्न थालेपछि युनिभर्सिटीका प्राध्यापक उनलाई छाता ओढाउँदैछन् । यसले एउटा शिक्षक, विद्यार्थीको असल अभिभावक बन्न सक्नुपर्छ भन्ने सन्देश शायद दिएको छ । आफुलाई गाग्री र विद्यार्थीलाई अम्खोरा सम्झेर सबै आफुले मात्रै दिने हो भन्ने अभिमान बोकेका हाम्रो अगाडी यो तस्विर नौलो नै हो । विद्यार्थीको सम्मान गर्न सक्दा नै उबाट पनि हामीले सम्मान पाउन सक्छौं । हामी उनीहरुका अभिभावकको रुपमा प्रस्तुत हुन सक्नुपर्छ र हामी गाग्री भएर सधैं विद्यार्थीरुपि अम्खोरालाई दिने हो भन्ने भाष्यबाट उम्केर गाग्रीले अम्खोराबाट पनि लिने गर्छ भन्ने बुझ्न सक्दा शिक्षक विद्यार्थीबीचको दूरी घट्ने छ । छाना चढ्ने र छाता ओढाउने दुबै गुरुहरु प्रति आजको आलेखमा शब्द सम्मान ।

Related posts

अब जलवायु न्याय

Deepak Joshi

नैतिकता बोधित आचारसंहिता

admin

राष्ट्रिय गन्जागोलको निकाश राष्ट्रिय एकता

admin