हामीले आजभन्दा करिब ७१ बर्ष अगाडिको उत्साह, संकल्प, प्रतिबद्धतालाई निरन्तरता दिने संकल्प गर्ने दिन बैशाख २६ गते । अर्थात १०४ बर्षे राणाकालको जंगे न्यायप्रशासनलाई विस्थापित गरेर विधीको शासनको सुनिश्चिताका लागि, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका पाउन प्रधानन्यायालय ऐन जारी गरेको
दिन । आज भन्दा ७१ बर्ष अगाडिदेखि हामीले निरन्तर कानुन दिवस मनाउँदै आएका छौं ।
न्याय क्षेत्रमा क्रियाशिल न्यायाधीश, संवैधानिक कानुनका विज्ञ, अपराधशास्त्रका ज्ञाता, विधी शास्त्रका ज्ञाता समेतका बरिष्ठ अधिवक्ता, अधिवक्ता, कानुन क्षेत्रका विज्ञहरु सबैले आत्मसमिक्षा गरौं त आज हामीले आर्जन गरेको न्यायालाय, न्याय सम्पादन, वकालत न्यायीक मर्मको दृष्टिले ७१ बर्षे अनुभवले खारिएको परिपक्व छ त ? आत्मलाई साक्षी राखेर भन्ने हो भने झनै गएगुज्रेको छ ।
नौजना अपराधी छुटे पनि एक जना निर्दोष फस्नु हुँदैन भन्ने न्यायीक मर्म, न्याय गरेर मात्रै हुँदैन, न्याय पर्नुपर्दछ भन्ने न्यायीक आदर्शलाई न्यायमूर्ति, न्यायकर्मिहरुले आत्मसात गर्न सकेका छौं ? न्यायीक विचौलियाको पहिचान बनाउनबाट हामीले आफूलाई जोगाउन सकेका छौं ? ७१ बर्ष अगाडिको उपलब्धिलाई स्मरण गरेर कानुन दिवस मनाउँदै गर्दा आत्मसमिक्षा गर्नै पर्दछ । ७१ बर्ष अगाडि हामीले गरेको संकल्प राजनीतिक हस्तक्षेपमा विधिको शासनको मर्मलाई कुल्चने नै थियो ? हाम्रो न्यायीक कसीमा दोस्रो संविधान सभाको वैधानिकता, अनिर्णित महाभियोगहरुले न्यायीक असफलता तर्फ संकेत गरिरहेको तर्फ हाम्रो संवेदनशिलता कतै प्रकट हुनुपर्ने होइन ? नेपाल बार एशोसिएशनको भूमिका यो प्रधानन्यायाधीशलाई हटायौं वा यो प्रधानन्यायाधीश बारको आन्दोलनले बनायो भन्ने सन्देश दिनेतर्फ लक्षित हुनुभन्दा न्यायीक स्वायत्तता, सक्षम न्याय परिषद, राजनीतिक हस्तक्षेपबाट मुक्त सक्षम, निष्पक्ष, विधिको शासनबाट निर्देशित न्यायापालिका हुनुपर्ने
होइन ? भागवण्डाको न्यायाधीश नियुक्तिमा बार किन सहभागि भयो ? निष्पक्ष र स्वायत्त न्यायपालिको पक्षमा बार उभिन किन सकेन ?
यी सवालहरुले न्याय र कानुनको क्षेत्रमा सक्रिय सबैलाई कुरीकुरी गरिरहेको यो अवस्थामा हामीले ७१ बर्ष अगाडिको उत्साहपूर्ण जनविश्वास फर्काउने संकल्प आजको कानुन दिवसका अगाडि गर्नुपरेको छ । न्यायलाई विचौलियाले प्रभावित पार्न सक्दैन, न्यायाधीश विचौलियाको प्रभावमा पर्दैनन्, कानुन व्यवसायी नै विचौलियाको भूमिकामा हुँदैनन्, अदालतबाट यथासमयमा निष्पक्ष न्याय हुन्छ भन्ने जनविश्वास आर्जन गर्न न्यायालयलाई विधि र पद्धतिमा सञ्चालन गर्ने संकल्प गर्न सम्बद्ध सबैमा प्रेरणा जागोस– हार्दिक शुभकामना ।
७१ बर्ष अगाडिको उत्साहमा पुग्न संकल्प गरौं-सम्पादकीय
previous post