दमौली/जिल्ला समन्वय समिति तनहुँका आयोजनामा विभिन्न कार्यक्रम गरी ७० औं प्रजातन्त्र दिवस मनाइएको छ । अस्ति र हिजो प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा विभिन्न कार्यक्रम गरिएको हो ।
दिवसको अवसरमा मंगलबार बिहान खेलकुद मैदान सरसफाई कार्यक्रम सम्पन्न भएको छ । व्यास नगरपालिका र तनहुँ उद्योग वाणिज्य संघको संयोजनमा बीपी वनवाटिका स्थित खेलकुद मैदानको सरसफाई गरिएको हो । यसैगरी सोही दिन तनहुँ उद्योग वाणिज्य संघको संयोजनमा दमौली अस्पतालका विरामीलाई फलफूल वितरण कार्य समेत सम्पन्न भएको छ ।
तिन दिनसम्म मनाउने कार्यतालिका भए अनुसार फागुन ७ गते बुधबार पनि विभिन्न कार्यक्रमहरु गरिए । बुधबार विहान दमौली अनसन चौतारीमा दमौली अस्पतालको संयोजनमा नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
बुधबार नै व्यास नपा तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको संयोजनमा प्रभात फेरी र झाँकी प्रदर्शन गरियो । यसैगरी प्रजातन्त्र दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा चौथो निर्वाचन दिवसका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । प्रजातन्त्र दिवस सम्बन्धी कार्यक्रमहरुमा स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका नेता कार्यकर्ता, कर्मचारी, शिक्षविद, पत्रकार, सुरक्षा कर्मी, संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसैबीच ऋषिङ गाउँ पालकाले पनि ७० औं प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्राप्त समाचार अनुसार पालिकाले आफु भित्रका विभिन्न समयमा गाउँ पञ्चायत, गाउँ विकास समिति आदिको नेतृत्वमा रहेर काम गरेका अग्रजहरुको सम्मान गरेको छ ।
साथै सोही अवसरमा पूर्व वन मन्त्री शंकर भण्डारीले वडा नं ८ को नवनिर्मित वडा कार्यालयको समेत उद्घाटन् गरेका छन् ।