तनहुँ लगायत चितवन र पर्सामा आगामी वैशाख १० मा संघीय संसदको सदस्यका लागि उपनिर्वाचन हुन गइरहेको छ । तनहुँको कुरा गर्दा मंसिर ४ सम्पन्न निर्वाचनबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त हुन आएको सदस्य पदमा निर्वाचन हुन लागेको हो ।
यो निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदबारको रुपमा नेपाली कांग्रेसका युवा नेता गोविन्द भट्टराई उम्मेदवार बनेका छन् । एमालेले पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई उम्मेदबार बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले युवा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदबार बनाएको छ । यहाँ राप्रपा, नेमकिपा, मंगोल नेशनल अर्गनाईजेशन लगाएतका दलका उम्मेबार पनि चुनावी मैदानमा छन् । झण्डै दर्जन उम्मेदबार चुनावी मैदानमा भएपनि नेपाली कांग्रेस, नेकपा एमाले तथा रास्वपाका उम्मेदबारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदबारहरु घरदैलो, कोणसभामा व्यस्त छन् । सुखद कुरा यस पटक तुलनात्मक रुपमा अन्य उम्मेदबारलाई गाली गरेर आफु अब्बल र योग्य देखिने होड कम देखिएको छ । आफुले विगतमा गरेका काम र निर्वाचित भएमा देशका लागि गर्ने योगदानका कुरा गरेर उम्मेदबारहरु मत माग्दै र मतदाता फकाउँदै गरेका दृश्य देखिएका छन्, यस पटक ।
हामीले खोजेको हाम्रो जनप्रतिनिधि हाम्रो सुख, दुःखमा साथी होस् । विस्तारै हाम्रा दुःखका दिनहरु सुखका दिनमा परिणत गर्न उनीहरुले हामीलाई सहयोग गरुन् भन्ने हो । गाउँमा विजुली ल्याउन पहल गरोस्, पानीका योजना ल्याउन स्वरमा स्वर मिलाओस्, मोटरबाटो बनाउन अनि त्यसका कालोपत्रे गर्न हातमा हात मिलाउने खालको हाम्रो प्रति िनधि होस् भन्ने हामी सबैको चाहना हो । एक वाक्यमा भन्नुपर्दा हाम्रो दैनिकीसंग जोडिएका समस्या समाधानमा उसले हातेमालो गरोस् भन्ने चाहना हो ।
मतदाताको विवेकमाथि पूर्ण विश्वास गर्दै हाम्रो आग्रह, हाम्रो रोजाई–राम्रो रोजाई होस् । आफुले गरेको मतदानले भोली खुसी प्रदान गरोस् नकि पछुताउने अवस्था ।
हाम्रो रोजाई, राम्रो रोजाई- सम्पादकीय
previous post