पृष्टभूमिः
न्यायका उपभोक्ताहरुले न्याय इन्साफमा प्रयोग गर्ने शब्दावलीहरु जान्न सकियो भने न्यायको परिणाम बुझ्न सजिलो हुन्छ । मुद्धामा इन्साफ वा फैसला हुँदा प्रयोग गरिने शब्दालीहरुले इन्साफको परिणाम संकेत गर्दछ ।
मुलतवीः
एउटै पक्षहरु बीच एक भन्दा बढी मुद्धा परेको अवस्था हुन सक्दछ । एक भन्दा बढी अदालतमा मुद्दा परेको हुन सक्दछ । सरकारवादी मुद्दामा– मुद्दा दायर हुन्छ तर अभियुक्त फेला नपरेको अवस्था हुन सक्दछ । प्रतिवादीलाइ फरारी बनाएर अभियोग पत्र दायर भएको हुन्छ । यस्ता अवस्थाहरुमा न्यायाधीशले मुल्तवी आदेश गरेर मुद्धाका लगतकट्टा गर्ने अभ्यास छ । विभिन्न अदालतमा दायर भई विचाराधीन रहेका मुद्धाहरु मध्ये कुनै एक अदालतमा रहेको मुद्दाको किनारा नभई अर्को अदालतमा रहेको मुद्दाको किनारा हुन नसक्ने वा गर्न नहुने भएमा , एउटाको मुद्धाको निर्णय गर्दा अर्को मुद्धालाई असर पर्ने भएमा मुल्तवी आदेश गर्ने प्रचलन छ ।
तामेली
कानुनी शब्दकोषमा मुद्धा चल्न नसक्ने अवस्था देखिएमा तत्सम्बन्धी व्यहोरा जनाइ सो मुद्दा स्थगन राख्ने निर्णय, टुङ्गो, किनारा भनेर परिभाषा गरिएको छ । अदालती अभ्यासलाइ हेर्दा कुनै विचाराधिन मुद्दा तत्काल फैसला गर्न नमिल्ने अवस्थामा तामेलीमा राख्ने प्रचलन छ । जस्तो अंश मुद्दामा वादीप्रतिवादीले तारीख गुजारेमा तामेलीमा राख्ने अभ्यास छ । कतिपय अवस्थाका तामेली जगाउन नसक्ने गरी फैसला प्रकृतिकै पनि हुन्छ भने अंश जस्ता मुद्धाहरु तामेलीमा राख्ने आदेश भएको भएपनि पछि वादीले जगाउन सक्ने अभ्यास छ । थप निर्णय गर्नुनपर्ने भन्ने न्यायमूर्तिलाई लागेमा पनि तामेलीमा राख्ने आदेश हुने गरेको छ । यस्तो तामेली चाही जगाउन मिल्ने हुँदैन ।
डिसमिस
मुद्दा निष्कृय गर्ने आदेशलाई डिसमिस फैसला भनिन्छ । अर्थात मुद्दामा वादी पक्षले थमाइ पाउने म्यादभित्र पनि गुज्रेको तारीख नथमाइ तारीख गुजारी बसेको अवस्थामा अदालतले डिसमिस फैसला गर्ने गर्दछ । तारीखमा बस्नु पर्ने पक्ष अर्थात न्यायको याचना गरेको पक्षले अदालतलाइ पनि सहयोग गर्नुपर्दछ । अदालतले खोजेको प्रमाण दाखिला गर्नुपर्दछ । बीचैमा तारीख छाडेमा, अर्थात अदालतको अनुमति नलिई तारीख छाडेमा त्यस्तो विवाद न्यायको रोहमा विचारणीय नहुने गरी सर्वोच्च अदालतबाट व्याख्या समेत भएको छ । मुद्धा डिसमिस गराउने पक्षलाई अदालतले सजायको भागी समेत गराउने गरेको छ ।
खारेजी
विशेष गरी हदम्याद, हकदैया र क्षेत्राधिकारको अभाव देखिएका मुद्दाहरु प्रारम्भमै दर्ता हुँदैनन् । तर कतिपय अवस्थामा विविध कारणले दर्ता हुन गएको भएपनि हदम्याद वा हकदैया वा क्षेत्राधिकारको अभाव देखिएमा त्यस्ता मुद्धाहरु खारेज हुन्छन् ।
निष्कर्ष
साधक जारी गर्ने गरी, एकतर्फी प्रमाण बुझेर, हारजीत हुने पनि फैसला हुन्छन् । यी फैसलाका रुपहरु बुझ्न सकियो भने अदालती भाषा बुझ्न सजिलो हुन्छ । सहज सम्बन्ध विच्छेद जस्ता सवालले अदालती भाषा, अभ्यास, कार्यविधि जीवनको अभिन्न अंग बन्दै आएको छ ।
हामीले जान्नै पर्ने शब्दावली
previous post