अलिकति भूमिका बाँधौ कि ! हामी हजुरआमा दुनियादारीका खबर राख्न एक नम्बर भए काकी पनि चानचुने छैनन् । दुईजनाको जम्काभेट भएपछि जस्तोतस्तोले नआँटे नचिताए पनि पुग्छ । फेरी अर्को मननीय कुरा के भने भान्सामा दाल बसालेर कुकर पड्किँदासम्म उनिहरुको वार्तालाप बीचमा न ब्रेक हुन्छ, न विज्ञापन आउँछ, न अवरोध हुन्छ, न लाईन जान्छ । वार्ता अविरल रुपमा जारी रहन्छ । वार्ता त्यतिबेला मात्र टुङ्गिन्छ । जब उनिहरुलाई भोक अथवा चियाको तलतल लाग्छ । एउटाको स्पीच सकिएपछि अर्की तुरुन्तै तयार भएर बस्छिन् । कतिबेला यिनको पूर्ण विराम शुरु हुन्छ वा सास फेर्न समय लिन्छिन् र म आफ्नो शुरु गरुँ ।
एउटा विहेमा गएका दुईटी बुढी गर्दुवा हाल्न । बेहुलीको विदावादी भएर पठाए तर उनीहरुको वार्तालाप जारी नै रह्यो ।
अर्को ब्रतबन्धमा भेटी चढाउन गएका ब्रतबन्ध टुङ्गियो तर उनीहरुको भलाकुमारी टुँगिएन ।
परिआए सानातिना झिनामसिना झगडा विवादहरु पनि मिलाउन पछि पर्दैनन् । एकै शब्दमा भन्ने हो भने गाउँमा दबदबा छ दुईटै बुढीहरुको ।
म भने सकेसम्म, मिलेसम्म, कथाले पत्याएसम्म दुईटैको नजिक पर्न डराउँछु । काकीको त ठीक छ । कहिलेकाही जम्काभेट, हुने हो तर घरकी हजुरआमासंग भने जोगिन साह्रै गाह्रो हुन्छ ।
देख्यो कि अर्ति उपदेश अथवा बेलुकातिर भेट भयो भने दिनभरीका सबै घटनाक्रम बेलिविस्तार सुनिदिनु पर्दछ । छेउमा बस्नै पर्दछ, सुन्नै पर्छ ।
मेरा पनि आफ्नै समस्या छ । आफ्ना दिनचर्या छन् । आफ्नो मेलोमेसो छ । आफ्नो दुनिया छ । उनिहरुको र मेरो उमेरका हिसाबले गन्थन, मन्थन अलि मेल खाँदैन । तर बाद्यता के भन्नु हुन्छ भने अघिल्ला भागहरुमा वर्णन गरिसकेको छु । जनिबेला अर्थको कुरा आउँछ, त्यतिबेला एक बचन पनि नसोधिकन लुरुक्क पैसा दिने भनेकी नै हाम्री हजुरआमा भएका कारणले सुन्न बाद्य हुन्छु ।
मन नपरेको नेता भाषण सुने जस्तो, मन नपरेको मान्छेको अन्तर्वाता हेरे वा सुनेको जस्तो गरेर सुनिदिनु पर्दछ । केही पाउन केही गुमाउनु पर्दछ भने झै बेला बेलामा गर्जो टार्ने मेरी हजुरआमाको दुईचार घण्टा भाषण नसुन्ने हिम्मत, दुस्साहस त म जस्तो बबुरोले कदापी गर्न सक्दिन ।
हजुर आमा र काकीको भलाकुसारी
previous post