
स्वास्थ्यको महत्वलाई दर्शाउने एउटा छोटो कथा प्रस्ततु गरेर थप विषयमा चर्चा गर्नेछु । प्राचीन कालमा एकजना व्यापारी थिए, जसको एकमात्र लक्ष्य पौराणिक पात्र ‘कुवेर’ जस्तै धनी बन्नु थियो । धन कमाउनका लागि उनी रातभरि हिसाब–किताब र व्यापारिक योजनामा घोत्लिन्थे । भोक लाग्दा नखाने र कामको धुनमा बासी–पुरानो जे भेटिन्छ त्यही खाने गर्थे । रुघा, खोकी, ज्वारो आदिलाई उनी कुनै वास्ता गर्दैनथे बरु व्यापारका लागि समुन्द्र पारी र दुर्गम गाउँहरूसम्म पुग्थे ।
आधा उमेर नहुँदै उनले अथाहा सम्पत्ती कमाए तर अनिन्द्रा, समयमा नखाने र खाएपनि वासी खाना खाने, आराम नगर्ने भएका कारण उनको शरीर जीर्ण भैसकेको थियो । उनलाई यस्तो असाध्य रोगले समात्यो कि खाइनखाइ गरेर, नसुतेर अनि आराम समेत नगरेर कमाएको सबै सम्पत्ती स्वास्थोपचारमा खर्च भयो । अन्त्यमा उनीसँग न धन रह्यो न त राम्रो स्वास्थ्य नै । आयुर्वेदको चरक संहितामा प्रज्ञापराध संज्ञा दिएर भनिएको छ, मानिसले धन वा अन्य सुखको लोभमा जब आफ्नो बुद्धिलाई मारेर शरीरमाथि अत्याचार गर्छ, तब उसलाई रोगले घेर्छ । जब मानिसले भोलि सुखी हुन्छु भनेर आज स्वास्थ्यलाई दाउमा राख्छ, त्यो नै सबैभन्दा ठूलो अपराध हो । हाम्रा पौराणिक सन्दर्भहरू भन्छन्, धन केवल साधन हो अनि शरीर त्यो साधन चलाउने चालक । यदि चालक नै ढल्यो भने साधनको के अर्थ ?
धनार्जनका लागि जोखिम पूर्ण काम गर्दा ज्यान गुमाएका, अङ्गभङ्ग भएका वा दीर्घ रोगी भएका मानिस हामीले धेरै देखेका छौं । नदेखेका भएपनि समाचार सुनेका÷पढेका छौं । धनका लागि निन्द्रा त्यागेका, भोकभोकै वसेका, आवश्यक आराम नगरेका व्यक्ति खोज्न हामीले पौराणिक पात्र खोज्नु पर्दैन बरु हाम्रै गाउँ, छिमेक, टोलमा सर्वत्र भेटिन्छन् । हाम्रा पुर्खाहरूले “स्वास्थ्य नै धन हो” भन्नुको पछाडि गहिरो अर्थ थियो । तर, आधुनिक जीवनशैलीको दौडधुपमा हामीले धन कमाउन यति धेरै समय खर्चियौँ कि अन्त्यमा त्यही धन,स्वास्थ्य किन्नमा खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
प्रज्ञापराध धन कमाउने कुरामा मात्र सीमित छैन बरु पछिल्लो समय जिब्रोको स्वादसँग पनि जोडिएर आएको छ । हामीले स्वास्थ्यका लागि कुन खाना हितकर हो र कुन खाना अहितकर छ भनेर छुट्याउन छोडेका छौं । यसको साटो जिब्रोले कुन कुरा खाँदा स्वाद मान्छ भन्नेमा मात्र ध्यान जान थालेको छ । हाम्रा लागि स्वाद नै स्वास्थ्य भएको छ । र यही विषयमा यो लेखमा थप चर्चा गर्ने जमर्काेमा छु । अहिले हाम्रो प्राथमिकता बदलिएको छ । हामीलाई शरीरलाई के चाहिन्छ भन्ने भन्दा पनि जिब्रोलाई के मनपर्छ भन्ने कुराले बढी अर्थ राख्न थालेको छ ।
हामीलाई घरमा पाइने भुटेको मकै, गहुँ वा भटमास मिठो लाग्न छोडेको छ । उसिनेको गहुँ र मकै, बारीमा पाकेका बेलौंती, काफल लगाएतका सिजन अनुसारका फलफूल अब हाम्रो रोजाइका खाजा रहेनन् । हाम्रो रोजाई त बजारमा पाइने पाउरोटी, डोनट, चाउमिन, मःम, ससेज जस्ता पत्रु खाना बनेका छन् । ढुङ्गामा पकाएको कोदोको रोटी अनि साल वा केराको पातमा पकाएको मकैको रोटी तथा फापरको रोटी अब धेरैको सम्झना र स्वादमा छैन । यसको ठाउँ त पिज्जा र वर्गरले लिएका छन् । दही र मोहीको ठाउँ कोक, फेन्टा, डिउ, मिरिण्डा, स्प्राइट जस्ता चिसो पेयले लिएका
छन् ।
चटपट र पानीपुरीको आकाशिँदो व्यापारले अर्गानिकबाट आर्टिफिसियल तर्फ हाम्रो स्वाद मोडिएको थाहा
लाग्छ । घर छउको वगैँचामा पाकेका लिची, आँप र भुईँकटहरको ठाउँ लिची, म्याङ्गो र पाइनेपल जुसले लिएका छन् ।
बजारमा पाइने प्याकेटमा बन्द वा अन्य खान जिब्रोले स्वाद मान्ने खालका त छन् तर के ति खाना हाम्रो स्वास्थ्यका लागि पनि राम्रा
छन् ? भनेर सोच्न ढिला भैसकेको छ । हाम्रो रैथाने खानलाई विस्थापित गरेका ती खानाहरुमा फाइबर, भिटामिन र खनिज जस्ता शरीरलाई चाहिने पोषक तत्वको उपलब्धता सून्य नै हुन्छ भन्दा फरक पर्दैन । बरु कतिपय खानामा अति खराब चिल्लो पदार्थ हुने हुँदा मुटुको रोग निम्त्याउन सहयोगी भइरहेका
छन् । टेलिभिजन र सामाजिक सञ्जालका चमकधमकपूर्ण विज्ञापनले गर्दा बालबालिकादेखि वृद्धसम्म प्याकेटका खानेकुरामा लोभिएका छौं तर त्यसमा उपलब्ध हुने पोषक तत्वका बारेमा हाम्रो सोधिखोजी छैन ।
रैथाने खाना, खाजालाई गरिबको खाजा, खाजाको संज्ञा दिएर बजारिया खाना, खाजाको पछाडि दौडिने काम के सहि छ त ? पक्कै छैन र यति भन्न सकिन्छ कि अहिले हाम्रो दौडको गन्तव्य अन्ततः अस्पतालको बेड र ओषधीका झोला हो । हाम्रा बाबुनानीहरु सानो उमेरमै मोटोपनको समस्याबाट गुज्रन बाध्य छन् । ३०–३५ वर्षको नहुँदै हामीमध्ये कतिपय उच्च रक्तचाप र मधुमेहको समस्याले ग्रस्त हुन थालेका छौं । पाचन प्रणालीमा समस्या हुनु सामान्य लाग्न थालेको छ । धेरै मानिस प्राणघातक क्यान्सरको शिकार भएका छन् । मुटु, मृगौला र कलोजोमा समस्या हुनेहरुको संख्या बढ्दो छ । यि सबैको कारण हामीले जिब्रोको स्वादलाई प्राथमिकता दिएको तर स्वास्थ्यमा ध्यान नदिनु हो ।
प्याकेटमा बन्द खाना खानु हुँदैन भनेर बालबालिकालाई सिकाउनु त छँदैछ हामी स्वयमले पनि यस्ता खानाको उपभोग नगर्ने वाचा गर्नुपर्ने भएको छ । खानासँगै व्यायाम पनि उत्तिकै जरुरी भएकाले खाएको क्यालोरी खर्च गर्न श्रम वा खेलकुदमा जोड दिनुपर्छ । हेर्दा सामान्य लाग्ने व्यवहारिक परिवर्तनले हामीलाई स्वस्थ्य रहन मद्दत गर्नेछन् । यतातर्फ ध्यान दिन सक्दापनि हामी स्वस्थ रहन सक्छौं । हामीले नभुलौं, अस्पतालको बिल तिर्नुभन्दा अर्गानिक खेती गर्ने किसानलाई बढी पैसा तिर्नु सधैँ बुद्धिमानी हुन्छ । जिब्रोको स्वाद केही मिनेटको हुन्छ, तर स्वस्थ शरीरको साथ जीवनभरका लागि हुन्छ
“स्वास्थ्य नै धन हो” भन्ने उक्ति विर्सेर “स्वाद नै स्वास्थ्य हो” भन्ने विचार निर्माण र अनुशरणमा समाज लम्किरहेको बेला यो श्लोक र त्यसको अर्थले खासै महत्व राख्दैन । स्वास्थ्य नै धन हो भन्ने कुरा हामीले मान्न आनाकानी गरेपनि सत्य यही हो । त्यसैले आफैलाई प्रश्न गरौं, म स्वास्थ्यका लागि खाँदै छु कि जिब्रोको स्वादका लागि ?
