दमौली÷ आगामी मङ्सिर १६ गते विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदहरुमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अुनसार जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि मंसिर १६ मा निर्वाचन हुन लागेको हो ।
आयोगका अनुसार कोशी प्रदेशमा विभिन्न कारणले ९ पद रिक्त छन् भने मधेसमा ७, बागमतीमा ७, गण्डकीमा १, लुम्बिनीमा ६, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा ६ पद रित्त छन् ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नपा प्रमुख, जाजरकोटको नलगाड नपा उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर, हुम्लाको सर्केगाड, बाजुराको स्वामीकार्तिक खापर र रुकुमको पुथाउत्तरगंगा गापा उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
यसैगरी ताप्लेजुङको सिरिजङ्गा गापा–३, झापाको कन्काइ नपा–६, तेह्रथुमको लालीगुराँस नपा–८, सुनसरीको गढी गापा–६, ओखलढुङ्गाको मोलुङ गापा– ५, उदयपुरको त्रियुगा नपा–ं १२ र बेलका नपा– ९, सप्तरीको डाक्नेश्वरी नपा– १ र ४, धनुषाको धनुषाधाम नपा–१, महोत्तरीको रामगोपालपुर नपा–२, रौतहटको ईशनाथ नपा–७, राजपुर नपा– ६ र गढीमाई नपा– ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
मंसिर १६ मा वडाध्यक्षको चयनका लागि काठमाडौँको कीर्तिपुर नपा– १ र ४, काठमाडौँ मनपा– १६, नुवाकोटको ककनी गापा– २, मकवानपुरको हेटौँडा नपा–१२, गोरखाको गोरखा नपा–५, गुल्मीको मुसिकोट नपा–१, रोल्पाको रुन्टीगढी गापा–४, बर्दियाको ठाकुरबाबा नपा–४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गापा–२ र कपिलवस्तु शुद्धोधन गापा–१ दैलेखको दुल्लु नपा–१३, कालिकोटको तिलागुफा नपा–४, जाजरकोट कुशे गापा–७, डोल्पाको त्रिपुरासुन्दरी नपा–५, रुकुम (पश्चिम) सानीभेरी गापा– ५, बझाङको सुर्मा गापा–४, डोटीको पूर्वीचौकी गापा–६, दार्चुलाको दुहुँ गापा–५ र कञ्चनपुरको भीमदत्त नपा– ६ मा समेत निर्वाचन सम्पन्न हुनेछ ।
निर्वाचन आयोगले उम्मेदबारको मनोनयन दर्ताका लागि मंसिर २ गते विहान १० देखि अपरान्ह ५ बजेसम्मको समय निर्धारण गरेको छ । एमालेले दुइ जिल्ला समन्वय समिति प्रमुख बाहेकको उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ । यसैगरी मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका आयोगले प्रकाशन गरेको छ ।