
स्तनपान र यसको महत्वबारे आम सर्वसाााधरणमा चेतना फैलाउने र स्तनपान गराउने बानी–व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यका साथ हरेक अंग्रेजी वर्षको अगस्त पहिलो सता अर्थात अगस्त १ देखि ७ सम्म संसारभर स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपाली पात्रो अर्थात विक्रम सम्बत अनुसार यो वर्ष साउन १७ देखि २३ सम्म यो दिवस मनाउने काम भइरहेको छ ।
यो वर्ष ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ नेपालमा स्तनपान सप्ताह मनाइउँदै छौं भने विश्वभर Protect Breastfeeding: A Shared Responsibility । भन्ने नारका साथ मनाईँदै छ । विश्व स्तनपान सप्ताहको यो वर्षका नाराको अर्थ र उद्देश्य स्तनपान सुरक्षाको महत्वे बारे मा मानिसहरुलाई सूचित गर्ने, स्तनपान एक महत्वपूर्ण सार्वजनिक स्वास्थ्य जिम्मेवारी भएको बोध गराउन यसको विषयमा छलफल चलाउने, सप्ताह मनाउनुको कारण र स्तनपानेको महत्व सम्बन्धी कार्यक्रमको अधिक प्रभावको लागी व्यक्तिहरु र संगठनहरु संग संलग्न रहेर कार्य गर्ने तथा सार्वजनिक स्वास्थ्य सुधार गर्न स्तनपानको सुरक्षामा प्रभावकारी कार्य गर्ने रहेको छ ।
हामीमध्ये धेरैलाई थाहा भएको कुरा हो, आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ । अझ विगोती दूधको महत्व त झनै धेरै छ । तर पछिल्लो समय आमाहरु आफ्नो रुप बिग्रने भन्दै बच्चालाई स्तनपान गराउनबाट पन्छिन खोजेका धेरै उदाहरणहरु भेटिन थालेका छन् । तथ्याङ्क नै केलाउने हो भने आफ्नो शारीरिक सौन्दर्य बिग्रने डरले स्तनपान गराउन हिच्किचाउने महिलाको संख्या नेपालमा झण्डै ५५ प्रतिशत रहेको छ । यसको अर्थ हो आधाभन्दा बढी आमाहरु बच्चालाई आफ्नो सौन्दर्यमा कमि आउने डरले स्तनपान गरउँदैनन् ।
तर ति आमाहरुले बुझ्नु पर्ने कुरा के हो भने नियमित स्तनपानले बच्चाको रोग प्रतिरोधी क्षमता विकास गर्ने, शारीरिक र मानसिक विकास गर्न सहयोग गर्ने, झाडापखाला लगायतका समस्याबाट मुक्त राख्न सहयोग गर्छ । अझ महत्वपूर्ण तथ्य के हो भने आमाको दूध नियमित खान यदि सबै बच्चाले पाउने हो भने संसारभरको बाल मृत्युदरमा नै कमि आउने स्वास्थ्य विज्ञहरुको दाबी छ । आमा भएका तर स्तनपान नगराउने तथा आमा बन्न लागेका युवतीहरुले बुझ्नु पर्ने तर उनीहरु भ्रममा रहेको तथ्य के हो भने स्तनपानले उनीहरुको शारिरीक सौन्दर्यमा कमि आउने होइन बरु थप निखार आउँछ । संगसंगै नियमित स्तनपान गराउने आमालाई डिम्बाशय र स्तन क्यान्सर हुने सम्भावकना कम हुने तथा पाठेघर सामान्य अवस्थामा फर्कन मद्दत गर्ने तथ्य हामीसंग छ । यति मात्र होइन अनावश्यक रूपमा तौल बढ्नबाट समेत नियमित स्तनपानले रोक्छ ।
हामी आफ्ना छोराछोरीलाई मुटुको टुक्रा, प्राण आदि नामले सम्बोधन गर्छाै । त्यसको भए भ्रममै सहि शारिरीक सौन्दर्य विग्रन्छ भनेर आफ्नो मुटुको टुक्राको जीवनलाई मृत्युको मुखमा धेकेल्ने किन ? आफ्नो प्राणको वास्थ्यसँग प्रत्यक्ष जोडिएको र मृत्युदर घटाउन प्रभावकारी उपाय अपनाउन किन हिचकिचाएका हुन् झण्डै ५५ प्रतिशत नेपाली आमाहरु बुझ्न सकिएको छैन । स्तनपान गराउनुको सट्टा अन्य वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढी हुने त छँदैछ त्यो बच्चा मानसिक तथा शारिरीक रुपमा पूर्ण स्वस्थ्य नरहने तथ्यलाई आमाहरुले भुल्नु हुँदैन ।
आमालाई हामी भगवानको प्रतिरुप मान्दछौं । भनिन्छ भगवान जहाँसुकै पुग्न सक्दैनन्, त्यसैले आमा बनाई दिएका हुन् । त्यसो हो भने भगवान अहिलेका ५५ प्रतिशत आमाले गरको व्यवहार गर्न सक्छन् त ?
भण्डै ४५ प्रतिशत आमाहरु स्तनपान गराउँछन् तर बच्चालाई जति समय नियमित स्तनपान गराउनु पर्ने हो त्यो पूरै समय स्तनपान गरउने आमाहरुको संख्या भने त्यसको पनि ७० प्रतिशत मात्र रहेको अध्ययनहरुले देखाएका छन् । बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने, बच्चालाई छ महिनासम्म आमाको दूध मात्र खुवाउने र दुई वर्षसम्म थप आहाराका साथै स्तनपान पनि निरन्तर गराइराख्नुपर्ने भनिन्छ तर यसो नहुँदा मानसिक र शारिरीक रुपमा स्वस्थ्य भएर हुर्कने र पूरा आयू बाँच्न पाउने अधिकारबाट नै बालबालिकाहरु बञ्चित हुनु परेको अवस्था हाम्रो यथार्थ हो ।
अझ विडम्बना के छ भने “स्तनपान शिशुको जन्मसिद्ध अधिकार हो ।” भनेर बालअधिकारका कुरा गरेर नथाक्ने शिक्षित र शहरिया आमाहरु नै आफ्ना शिशुलाई स्तनपान गराउँदैनन् र बजारबाट ल्याक्टोजिन लगाएत अनेक खालका मूल्य धेरै पर्ने तर पौष्टिक तत्व नाममात्रका हुने वैकल्पिक वस्तुहरु बच्चालाई खुवाउने गर्दछन् । सबै आमाहरु यस्तै छन् भन्ने होइन् । केही आमाहरुका व्यवहारिक कठिनाई होलान् र छन् ।
उनीहरु समय मिल्नासाथ बच्चालाई स्तनपान गराउँछन् । तर चिन्ता आफ्नो शारिरीक सौन्दर्यमा कमि आउँछ भनेर स्तनपान नगराउने र आधुनिक कहलाउन स्तनपान नगराएर बजारका अखाद्यवस्तु बच्चालाई खुवाउने आमाहरु बढ्दै गएकोमा हो ।
स्तनपान सप्ताह मनाउँदै गर्दा खासगरी आमा हुने उमेर पुगेका, गर्भवती तथा आमा बनेका महिलाहरुलाई बुझाउनु पर्ने भएको छ, स्तनपानले शारिरीक सौन्दर्यमा कुनै कमि आउँदैन । यसले त सौन्दर्यमा निखार ल्याउँछ, डिम्बाशय तथा स्तन क्यान्सर हुनबाट बचाउँछ । अनि अनाावश्यक तौल बढ्न
दिँदैन ।
त्यसैले स्तनपान गराउनु लज्जाको विषय होइन बरु यो त आमाले गौरब गर्नुपर्ने विषय हो । आफ्नो बच्चालाई मानसिक तथा शारिरीक रुपमा स्वस्थ्य भएर हुर्कने वातावरण निमार्ण गर्नु अनि उसको नैसर्गिक अधिकार प्रदान गर्नु लज्जाको विषय हुनै सक्दैन ।
अनि बच्चाको लागि स्तनपान स्वस्थ्य र दीर्घ जीवन पाउने अवसर । त्यसैले सबै आमाहरुलाई आग्रह नियमित स्तनपान गराउँ । नभूलौं दिगो आर्थिक विकासको एउटा सूचक अब नियमित स्तनपान पनि
हो । अस्तु ।