कमलबारी/पहार ट्रष्ट युकेको भगिनी संस्था पहार ट्रष्ट नेपाल कास्कीले सिद्धेश्वरी मावि कमलबारीमा ८ कोठे सुविधासम्पन्न विद्यालय भवन निर्माण गर्ने भएको छ ।
आइतबार कमलबारी आएको ट्रष्टको युके तथा नेपालली टोलीले विद्यालयको आवश्यकता मध्यनजर गरी एक करोड २१ लाखको लागतमा आठ कोठ विद्यालय भवन निर्माण लागिएको जानकारी गराएका हुन् ।
उक्त अवसरमा अयोजित कार्यक्रममा व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ट्रष्टका कार्यकारी निर्देशक स्वीटमेन, ट्रष्ट नेपालका पदाधिकारी समेतलाई स्वागत गर्दै भवन निर्माणको निर्ययको समेत स्वागत गरे । संस्थाको तर्फबाट ७० प्रतिशत लगानी गरिने र स्थानीय सरकार तथा समुदायको ३० प्रतिशत सहभागित हुनुपर्ने सर्तबारे आफु जानकार रहेको बताउँदै नगर प्रमुख न्यौपानेले विद्यालय र समुदायले जुटाए बाहेकको सहभागिताको अंश नगर पालिकाले व्यहोर्ने कुरामा ढुक्क हुन आग्रह गरे । उनले विद्यालय भवन निर्माण गर्दा बाल तथा अपाङ्ग मैत्री बनाउने विषयमा समेत ध्यान दिन सम्बन्धित पक्षको ध्यानाकर्षण गरे ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै पहार ट्रष्ट युकेका कार्यकारी निर्देशक स्वीटमेनले विगत साढे तीन दशकदेखि ट्रष्टले नेपालको शिक्षा क्षेत्रमा काम गर्दै आएको जानकारी गराउँदै यो अवधिमा १७० भन्दा बढी विद्यालय भवन निर्माण गरेको बताए । उनले भने, हामीले समुदायको सहभागिता विना कुनै विद्यालय भवन बनाएका छैनौं र यस पटक पनि त्यो सहयोग प्राप्त हुने र बालबालिकाका लागि सुरक्षित विद्यालय भवन बन्ने विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा पहार ट्रष्ट नेपाल कास्कीका अध्यक्ष विजुलीबहादुर गुरुङले ट्रष्टले शिक्षा क्षेत्रको विकासका लागि विद्यालय भवन निर्माणका अतिरिक्त पुस्तकालय, शिक्षक तलिमको क्षेत्रमा समे त काम गर्दै आएको बताउँदै आगामी दिनमा विद्यालयको शैक्षिक उन्नयनका लागि थप क्षेत्रमा सहयोग गर्ने बताए । ट्रष्टका महासचिव टेकमान प्रधानाङ्ग, अपरेसन म्यानेजर कान्ता घले तथा प्रोजेक्ट म्यानेजर टेकराज रानाको उपस्थिति रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी पाहुनाहरुको स्वागत गर्दै विद्यालयलाई गर्ने लागेकोमा आभार प्रकट गरेका थिए । स्थानीय स्वाग्दी आमा समूहले पाहुनाहरुलाई सेल रोटी र गुन्द्रुकको अचारले स्वागत गरेका थिए ।
ट्रष्टले यस अघि तनहँुका विभिन्न पालिकामा विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।