भिमाद/भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८२।०८३ को प्रथम चौमासिकमा सम्पादित कार्यक्रम र सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले नगरपालिकाले सुशासनको क्षेत्रमा काम गर्न नसकेको, खेलकुदमा जोड नदिएको, वसपार्क लाई व्यवस्थापन गर्न नसकेको, फोहर व्यवस्थापन गर्न नसकेको, अस्पतालको निर्माणमा ध्यान नदिईएको,वोडिङ संचालकले विद्यार्थी तथा अभिभावकलाई गरिएको ज्यादती रोक्न भुमिका खेल्न नसकेको जस्ता विषयमा नगरपालिकाका ध्यानाकर्षण गराएका थिए । सडक वत्तिको मर्मत तथा कर्मचारीले आम जनतालाई दुख दिने गरेको, सडकको जताभावी पार्किङमा कडाई गर्न नसकेको विषयमा प्रश्न राखेका थिए । नगरपालिकाका कर्मचारीले सवारी साधनको दुरुपयोग गर्दा समेत नगरपालिकाले कारवाही गर्न नसकेको, राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पालिकाले कुनै उपलव्धी हासिल गर्न नसकेको विषयमा नगरप्रमुख सँग जवाफ मागेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले यस अवधिमा नगरपालिकावाट भएका कामका बारेमा जानकारी गराएका थिए । नगरपालिकाले वित्तिय सुशासन जोखिम मुल्यांकन एफआरएमा पालिका जिल्लाकै उत्कृष्ट पालिका भएको र पालिकाले यस अवधिमा कृषि औजार वितरण, दुग्ध उत्पादन गर्ने कृषकका लागि उत्पादनका आधारमा प्रोत्साहन कार्यक्रम अनतरगत दुधमा प्रतिलिटर १० रुपैया अनुदान दिने व्यवस्था गरेको वताए ।
कार्यक्रममा भिमाद नगरपालिका वडा नं १ का वडाध्यक्ष दिपक आले, २ का वडाध्यक्ष दिनेश कुमार थापा, ४ का वडाध्यक्ष रामकृष्ण राना, ६ का वडाध्यक्ष श्यामसुन्दर जोशी, ९ का वडाध्यक्ष रन वहादुर थापाले सहभागीहरुले सोधेका प्रश्नका जवाफ दिएका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्र सेनानी विश्ववन्धु भण्डारी, पालिकाका उपसचिव सन्दिप पौडेल, रास्वपा भीमादका अध्यक्ष हरि लम्साल, जनजेति क्यापसका प्रमुख केशवराज काफले, पालिका भित्रका टोलविकास संस्थाको अध्यक्षहरु, आमा समुह, क्लवका अध्यक्ष, अगुवा किसानहरु लगायत स्थानिय वासिन्दाको सहभागीता रहेको थियो ।
नगरपालिकाका उपप्रमुख शारदा खनालले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको संयोजन देवघाट मल्टिमिडिया प्रा.लिले गरेको थियो भने कार्यक्रम संचालन प्रेम प्रसाद पौडेलले गरेका थिए ।
