सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, असंलग्न परराष्ट्र नीति नेपालको सार्वभौम र अखण्ड अस्तित्व संरक्षण गर्दै नेपालीको मौलिक पहिचानको संरक्षण गर्ने मूलमन्त्र बन्यो, बनाईयो र बनिरहेको छ । त्यो मूलमन्त्र निर्माण गर्नेले सत्तालाई केन्द्रमा राखेर देश र जनता लुट्नका लागि बनाएको थिएन । त्यसैले आजको पुस्ताले पनि त्यसको मर्मलाई जीवन्त र अपरिहार्य महसुस गरिराखेको
छ । अरु कुनै कारण छैन, कि राजा आउ देश बचाउ भन्नुपर्ने । २०४७ देखि २०८० सम्म आउँदा, अर्थात २०६३ जेठ १५ मा फालेको राजालाई आऊ भनेर आव्हान गर्नुपर्ने, सडकमा सीमित राजावादीहरुले राजा आउ देश बचाउ भन्दा विगत ३३ बर्षदेखि शासनको बागडोर सम्हालेकाहरु तर्सन आतंकित हुनुपर्ने कुनै कारण छैन । अझ १७ बर्ष अगाडि जनताको नासो जनतालाई सुम्पेर शासकीय अधिकारबाट टाढा बसेको शक्तिलाई दाजुभाउजुको रक्षा गर्न नसक्नेले के देश र जनताको रक्षा गर्न सक्छ भनेर प्रलाप गर्दा जनताले कति
पत्याए ? किन कि मदनआश्रीतको सुरक्षा पनि त नेपालमै हुन नसकेको हो नि । त्यसको भेऊ पनि पाउनु पर्दछ ।
अहिलेको सवाल जनादेशको गणतन्त्रमा देशको सार्वभौम अस्तित्व कहाँ पुग्यो ? देशको आर्थिक अस्तित्व कहाँ पुग्यो ? देशको सार्वजनिक सम्पत्तिको रक्षा यो गणतन्त्रले कति गर्न सक्यो ? नेपाललाई श्रमिकहरुको देशको पहिचान निर्माण गर्न के यो गणतन्त्र जिम्मेवार छैन ? सुन तस्कर, भूमाफियाहरु, देश लुटेर विदेशी बैंकमा थुपार्नेहरुको लागि उर्वरभूमि नेपाल भनेर बद्नाम बनाउने यिनै गणतन्त्रवादीहरु होइनन् ? गणतन्त्रवादीहरुले मुलुकमा गणतन्त्रलाई संस्थागत गर्न लागेको भए १७ बर्षमा जनताको विश्वास आर्जन गर्न सकेको भए मानव अधिकारवादी एक अर्थमा गणतन्त्रवादी कृष्ण पहाडीहरुले गणतन्त्रलाई पूर्व राजाबाट खतरा नभएको, कहि कतैबाट खतरा भए शिर्ष नेताहरुबाट खतरा छ । त्यो भनेको माधव कुमार नेपालबाट खतरा छ, बाबुरामबाट खतरा छ, खड्गप्रसाद ओलीबाट खतरा छ, शेरबहादुर देउवाबाट खतरा छ भन्नु पर्ने अवस्था ल्याउने यिनै गणतन्त्रवादीहरु होइनन् ? भन्ने हो ।
गणतन्त्रवादीहरुले के गरे ?
मुलुकमा १७ बर्ष शासन गरिसकेको गणतन्त्रलाई संस्थागत गर्न गणतन्त्रवादीहरुले के गरे ? नेपालको सार्वभौम अस्तित्वलाई सवल बनाउन गणतन्त्रवादीहरुले के गरे ? राष्ट्रिय अखण्डतालाई सवल बनाउन गणतन्त्रवादीहरुले के गरें ? चार जात छत्तिस बर्णको साझा फुलवारीका नेपालीजनलाई एउटै मालामा उनेर एकताको सन्देश दिन यी गणतन्त्रवादीहरुले के गरे ? हिजो कायम रहेको सामाजिक सद्भाव बचाई राख्न नसक्दा धरानबाट असहिष्णुताको झिल्का देखा पर्नुका पछाडी यी गणतन्त्रवादीहरु जिम्मेवार छैन्न ?
गणतन्त्रको उपलब्धिः
सत्र बर्षमा हामीले गणतन्त्रको उपलब्धिको रुपमा जनतालाई विश्वास दिलाउन सक्ने केही गर्न सकेनौं । सत्र हजारको हत्या, सत्र सय तीनलाई वेपत्ता पारेर ९६ अर्ब ३३ करोडको राष्ट्रिय सम्पत्ती ध्वस्त पारेर ल्याएको गणतन्त्रको उपलब्धि के हो ? ५२ अर्ब ८७ करोडको आर्थिक राहतको नाममा भएको लुटलाई उपलब्धि मान्ने ? सशस्त्र विद्रोले ५० बर्ष देशको विकासलाई पछाडि धकेलेको यथार्थलाई उपलब्धि मान्ने ? ६० लाख युवाहरुलाई खाडीमा धकेलेकोलाई उपलब्धी मान्ने ? कि नवराजाहरुले नेपालबाट लुटेका अरबौंको कालो धन दुबई, स्विस बैंकहरुमा लगेर लुकाउन पाएको सफलतालाई गणतन्त्रको उपलब्धि मान्ने ? कि १२ बुँदे समझदारी पछि बृहदशान्ति सम्झौता गर्नुको पूर्वसर्तको रुपमा रहेको गैरनागरिकलाई नेपाली नागरिकता वितरण गर्ने प्रपञ्चलाई उपलब्धि मान्ने ? त्यतिले नपुगेर अहिले फेरी एउटा राष्ट्रपतिले रोकेको नागरिकता विधेयक अर्को राष्ट्रपतिले संसदीय प्रक्रिया विना नै अधिल्लो राष्ट्रपतिको नामको मुनी सही गरेर जवरस्त खुलाएको नागरिकता विक्रीलाई उपलब्धि मान्ने ? कि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता खल्बल्याउन प्रयोग हुन सकेकोलाई उपलब्धि मान्ने ? के हो १७ बर्षे गणतन्त्रको उपलब्धि ? यही देशले धान्न नसकेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाई राख्नु परेको कारण के हो ? राजतन्त्रकालका नमिता सुनिता काण्डको अत्याचारलाई सम्झने हो भने गणतन्त्रका धेरै निर्मलाहरु विरुद्धको अत्याचारलाई कसरी विर्सने ? नेपालमा अब स्पष्ट परराष्ट्र नीति विनाको गणतन्त्र, प्रदेश सरकार देशले धान्नै नसक्ने बोझ भैसक्यो । निमुखा जनताको ढाड सेक्ने गरी कर लगाउने, पहुँचवाला तस्करलाई कर छुट दिने, उपचारका नाउँमा, विलासी सुविधाका नाउँमा, तलब भत्ताको नाउँमा यि र यस्तै बहानामा राष्ट्रिय ढुकुटी रित्याउने नीतिगत भ्रष्ट्राचार गर्ने गणतन्त्रले नेपाली जनताको जीवनस्तर कहाँ पु¥याउला ?
सामाजिक सद्भावको चिन्ताः
देशमा सामाजिक सद्भाव भड्कन लागेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । भनेको छ कि नेपालीको भावना र चाहाना विपरित धार्मिक सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको अनुकुल हुँदैन । कसैको धर्म संस्कृति र परम्पराप्रति कसैले दख्खल पु¥याउन पनि उचित
हुँदैन । जनमोर्चा नेता चित्रबहादुर केसीले जातजाती बीच द्वन्द र अन्तर विरोध पैदा गराएर एकआपसमा लडाएर नेपालको सार्वभौमसत्ता र अखण्डता कमजोर पार्न षडयन्त्र गरेको आरोप लगाउँदै सामाजिक सद्भाव कायम राख्ने नाउँमा प्रशासनिक दमन नगर्न सरकारलाई अनुरोध गरेका छन् । एमालेले चिन्ता व्यक्त गरेको छ । अध्यक्ष खड्गप्रसाद ओलीले प्रचण्ड र माधव नेपालहरुले नेपाली जुधाएर सामाजिक सद्भाव खल्बल्याउन खोजेको आरोप लगाए । नेपाली काँग्रेसले चिन्ता व्यक्त गरेको छ । माओवादीले पनि चिन्ता त गरेको छ । धरानका वर्तमान तथा पूर्व मेयरहरुले पनि आ–आफ्नै शैलीमा समाजिक सद्भाव कायम राख्नका लागि आव्हान गरेका छन् । सवत्र चिन्ता छाएको छ । समाधान अन्ततः सामाजिक सद्भावको विकल्प कस्ले सुझाउन सक्ला ?
सामाजिक सद्भाव
खल्बल्याएको आरोपः
सामाजिक सद्भाव खल्बल्याएको आरोप प्रधानमन्त्री पुष्पकमल दाहाललाई लागेको छ । नेकपा एमालेका नेता खड्गप्रसाद ओलीले यस्तो आरोप लगाएका छन् । त्यसैगरी नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले पनि प्रधानमन्त्रीले आदिवासी जनजाती दिवसमा माओवादीले बहूमत पाएमा जातीय पहिचानको आधारमा प्रदेशको नाम राख्ने बताएर भड्कन लागेको सामाजिक सद्भावमा घ्यू थपेको आरोप लगाएका छन् । यही कारण शेरबहादुर सत्ता समिकरणको विषयमा पुनरविचार गर्ने मनस्थितिमा पुगेको आभाष भएको छ । मुलुकको राजनीति तरल भएको यो समयमा सत्तासमिकरण फेरबदल हुँदा फेरी सत्तास्वार्थको आरोप दलहरुलाई लाग्न सक्दछ । सत्तास्वार्थका लागि पाँच बर्ष पुरा नगरी सत्तासमिकरण फेरबदल गर्ने सत्ता लोलुपताले अन्ततः गणतन्त्रलाई बद्नाम गराउछ । भनेको गणतन्त्रको विकल्प खोज्न नेपाली जनतालाई प्रेरित गर्दछ ।
सत्तास्वार्थमा शक्तिकेन्द्रको गोटीः
नेपालको राजनीतिक शक्तिहरु सत्तास्वार्थका लागि शक्तिकेन्द्रको गोटी बनेर सत्ताकेन्द्रित राजनीति मात्रै गरिरहँदा राष्ट्रिय स्वार्थ वेवारिसे भयो । राष्ट्रिय स्वाभिमान वेवारिसे भयो । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता अपमानित भयो । वितेको ३३ बर्ष अर्थात १७ बर्षको प्रयोगबाट अब हामी नेपालीले यो यथार्थ बुझ्नै पर्दछ कि सैद्धान्तिक मूल्य मान्यता र अडानबाट विचलित भएर भागबण्डाको सत्तास्वार्थमा लिप्त राजनीतिक नेतृत्वप्रति जनविश्वास गुमेको
छ । राष्ट्रिय स्वार्थ र स्वाभिमानलाई वेवारिसे बनाउने दलगत नेतृत्वले समस्याको समाधान दिन सकेन । लोकतन्त्रको पाँचबर्षे प्रयोगपछि नेपाली जनतामा लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलिदान दिन सक्ने विश्वास आर्जन गर्न नसक्नुको मूल कारण शक्तिकेन्द्रको गोटी बन्नु नै हो । विवादास्पद नागरिकता विधेयक, एमसीसी, एसपीपी लगायत यस्तै काण्डहरुले सत्ताधारीहरु शक्तिकेन्द्रको आज्ञाकारी बनेर सत्तामोहमा गोटी बनिरहेको नजरअन्दाज गर्न सकिदैन ।
अन्त्यमा,
देश सञ्चालन गर्नेहरु संघीय लोकतान्त्रिक गणतन्त्र सञ्चालन गर्न असफल भै सकेका छन् । उनिहरुमा सैद्धान्तिक विचलन पनि आएको छ । लाज छोप्न भागबण्डा र गठबन्धनको असंसदीय चुनावी राजनीतिक अभ्यास गरिरहेका छन् । शक्तिकेन्द्रहरुले प्राकृतिक साधन स्रोतले सम्पन्न देशमा छिरेर प्राकृतिक साधान र स्रोतको दोहोन गर्नुका साथै विश्वसाम्राज्यको फडा फैलाउन लागि सक्यो । नेपालको असफल विदेश नीतिले छिमेकी देशहरु चिन्तित देखिन थाले । क्रान्तिकारी परिवर्तन गरी देश विकासमा अग्रगामी छलाङ्ग मार्ने आश्वासन दिनेहरु कतिखेर कहाँ पुगेर लुक्ने हो, लाज बचाउने, जोखना हेर्न थालिसेको हुनुपर्दछ । कृष्ण पहाडिले भनेको कथा जस्तै यी शिर्ष नेता, भ्रष्ट नेता, देश र जनताको सपना नबोकेका नेतालाई फोहोरी राजनीतिक आहालबाट टिपेर फालेर त्यो आहाललाई कृत्रिम पौडी क्रिडास्थल बनाउन देश विदेशमा छरिएर रहेका युवा शक्ति एक हुन पर्ने बेला आयो ।