दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ८० प्रतिशत हिस्सा सुटुक्क र कौडीको भाउमा बेचेको खबरसंगै नेपाली अखबार, सामाजिक सञ्जाल र चिया पसल सबैतिर यसैको चर्चा छ । भनिन्छ, एनसेलको झण्डै १५ खर्ब रुपैयाँको सम्पत्ति छ । तर यसरी हिसाब गर्दा त्यसको ८० प्रतिशत १२ खर्ब हुनु पर्ने हो । तर मात्र साढे ६ अर्ब रुपैयाँमा ८० प्रतिशत हिस्सा बेचेको भन्ने समाचार बाहिरिएसंगै अनेकौं आशंकाहरु गर्न थालिएका छन् । अबको ६ वर्षमा नेपाल सरकार मातहत जाने खर्बाै रुपैयाँको सम्पत्ति सरकारी हुन नदिन नेपालको उच्च राजनैतिक तह समेतको संलग्नतामा यो काण्ड भएको भन्ने कुरामा विश्वास गर्ने नेपाली धेरै छन् । भ्रष्टाचारको हालसम्मकै सबैभन्दा ठूलो एनसेल काण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री गंगा दाहालको नेतृत्वदायी भूमिका रहेको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक अभिव्यक्ति दिएसंगै यो काण्ड अझ चर्चित बनेको छ ।
एनसेल विगतमा पनि ६० अर्वभन्दा बढी लाभांश नतिरेको सम्बन्धि विवादमा मुछिएको थियो । तर त्यसको उचित टुंगो नलाग्दै फेरी अर्काे विवादमा परेको छ । सरकारले पछिल्लो प्रकरण अर्थात एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति बनाएको छ । टंकमणी शर्माको संयोजकत्वमा गठित समितिका संयोजक माथि नै सुरुमै आशंका पैदा भएको छ । अघिल्लो प्रकरणमा एनसेललाई जोगाउन लागि परेका भनिएका संयोजक शर्माको नेतृत्वमा रहेको समितिबाट निष्पक्ष छानविन हुन्छ भन्नेमा आममानिसमा विश्वास छैन ।
गुणस्तरिय सेवा नदिएको, शुल्क महंगो लिएको, एनसेल सापटीको नाममा अत्यन्त महंगो सेवा शुल्क असुल्ने गरेको लगाएतका विवादमा रहिरहेको उक्त कम्पनीलाई फेरी पनि दलका नेताहरुले लेनादेनामा सामसुम पार्छन् भन्ने आम बुझाई छ । यदि यसो भएमा त्यो देशका लागि दुर्भाग्य हुनेछ । कुनै पनि नेपाल आमाको छोराले देशलाई खर्बाैं नोक्सान हुने गरी व्यक्तिगत लाभको आशामा काम गर्नु हुँदैन । नेताहरुले बुझुन्, नेपालीको धैर्यताको बाँध फुट्न लागेको छ । आजको कामले भोली जीवनभर पछुताउनु पर्ने अवस्था नबनोस् । कुनै पनि बहानामा एनसेलको पछिल्लो काण्ड सामसुम नपारियोस् ।
सामसुम नहोस् एनसेल प्रकरण – सम्पादकीय
previous post