आफ्ना शत्तिशाली प्रधानमन्त्रीले अरिंगाल बनेर विरोधीलाई चिल्न निर्देशन दिएको एक वर्ष पुग्न ४ दिन बाँकी रहँदा सरकारी नेकपाका कार्यकर्ताले बल्ल निर्देशनको पालना गरेका छन् । गत वर्ष भदौ ३० मा पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृति दिवस कार्यक्रममा ओलीले आफ्ना कार्यकर्तालाई विपक्षिहरुमाथि अरिंगाल झै खनिन निर्देशन दिएका थिए । र सो निर्देशनको पालना गर्दे गत भाद्र २६ गते नेकपा कार्यकर्ताले बाँकेको खजुरा गाउँ पालिका वडा नं २ सितापुरको रेडक्रस हलमा कार्यक्रम गरिरहेका नेपाली कांग्रेसका नेता कार्यकर्ता माथि आक्रमण गरे । आक्रमणका क्रममा बाँके सभापति किरण कोइरालाको देब्रे हात समेत भाँचिदिए ।
बाँकेको यो घटनाले मूलतः दुइवटा कुराको पुष्टी गरेको छ । पहिलो हो, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ को निर्वाचन ताका भनेको कुम्युनिस्ट सत्तामा गए भने रुन पनि पाईँदैन भन्ने कुरा सत्य सावित हुँदैछ । न भए कुनै पनि राजनैतिक दलले स्वतन्त्रपूर्वक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकार माथि निर्वाचित जनप्रतिनिधिको प्रत्यक्ष निर्देशनमा यस्तो घटना हुने थिएन । सत्ताधारी दलकै कार्यकर्ता संविधान प्रदत्त अधिकारको उपभोगमा बाधक बन्नुले रुनपनि नपाइने भन्ने देउवाको भनाइलाई पुष्टी गरेको छ । यद्यपि त्यतिबेला कांग्रेसका कार्यकर्ता स्यमले देउवाका कुरा पत्याएनन् र कतिपय नेता तथा कार्यकर्ता घात प्रतिघातका खेलमा रमाएर कांग्रेसकै उम्मेदवारलाई पराजित गराउन लागि परे । हाम्रै जिल्ला तनहुँ त्यसको साक्षि छ ।
अर्काेकुरा जसरी सांच्चिकै अरिंगालमा संवेदना र मानवियता भन्ने हुँदैन, सरकारी अरिंगालमा पनि त्यो रहेनछ । किनभने उनीहरुले आफ्नी हजुर आमा वा आमा समान उमेरकी महिला माथि आक्रमण गरे र हात समेत भाँचिदिए । अझ स्मरण गर्नु पर्ने कुरा के छ भने जुन संविधानमा भएको व्यवस्थाको उपभोग गर्दै अरिंगालहरु सत्तामा छन् र संघियता, गणतन्त्र, धर्म निरपेक्षता भनेर दिनरात चिच्याईरहेका छन् उक्त संविधान निर्माण कार्यको अगुवाई गर्ने र संसारकै उत्कृष्ट संविधान निर्माण र घोषणा गर्न सफल व्यक्ति तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाकी बुहारी हुन अरिंगालहरुले आक्रमण गरेर हाँत भाँचिदिएकी कोइराला । थोरैपनि मानविय संवेदना र इतिहास अनि योगदानका प्रति सम्मान हुन्थ्यो भने बाँकेका ति अरिंगालहरुले शायद किरणको हात भाँच्ने सम्मको निकृष्ट क्रियाकलाप गर्ने थिएनन् ।
अझ विष्मय लाग्ने कुरा त के छ भने नेकपाका नेताहरु आफ्ना नेतामाथि भएको आक्रमणको विरोधमा उत्रेको कांग्रेसलाई सत्तोसराप गर्दैछन् । अझ नेकपाका सांसद नन्दलाल रोकायाले बाँके घटनामा संलग्नलाई कारवाही गरिए नेकपा प्रतिरोधका उत्रने बताएर साँच्चै आमानविय व्यवहार प्रदर्शन गरे । सरकार समर्थक दलका नेता कार्यकर्ता त कानुनको संरक्षक र नागरिक अधिकारको संरक्षक हुनु पर्ने हो तर यहाँ त उल्टो भै रहेको छ । सत्ताधारी नेकपाका जननिर्वाचित प्रतिनिधि फरक विचार राख्ने मानिस माथि आक्रमण गर्न अह्राउँछ, अराजकता सृजना गर्छ । अनि संसद जस्तो व्यक्ति तिनैको पक्षपोषण गरेर सडक प्रदर्शन र प्रतिरोध गर्ने कुरा गर्छ । यो भन्दा बिडम्बना अरु के होला ?
संस्थापक नेता जननायक विश्वेश्वरप्रसाद कोइरालको १०६ औ जन्मदिवस पारेर भदौ २४ बाट नेपाली कांग्रेसले देशभर राष्ट्रिय जागरण अभियान सञ्चालन ग–यो । नेता तथा कार्यकर्ताबीचको सम्बन्ध नविकरण, देशमा विद्यमान विसंगती, भ्रष्टाचार, असुरक्षा आदिको बारेमा नागरिकलाई जानकारी गराउने अभियानको उद्देश्य थियो । सरकारका कमि कमजोरी खोज्नु र खवरदारी गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म नै हो र कांग्रेस सोही धर्म निर्वाह गर्ने त्रममा थियो । सरकारले आम नागरिकका दैनन्दिनीलाई सहज नबनाउँदा सहज बनाउन दवाव दिनु पनि स्वाभाविक नै हो । आफ्नो स्वाभाविक धर्ममा हिडिरहेको कांग्रेस माथि आक्रमण किन ? सत्ता उन्मादले सरकारी नेकपाका नेता कार्यकर्तालाई अमानविय र नृशंश बनाएको भान हुँदैछ । बेलैमा आफुलाई सच्च्याउन नसक्दा क्षयिकरण निश्चित छ, चेतना आओस् ।