दमौली/नवौं तनहूँ महोत्सवको सातौं दिनको सांगितिक आकर्षणको केन्द्रमा प्रिति आले मगर र पशुपति शर्मा रहे । कमेडियन हास्यकलाकार सुन्दर खनाल, माकुरी, पवन खतिवडा, भिम विष्ट लगायतका थुप्रै कलाकारले सातौं दिनको सांगितिक रौनक जुरुकै उचालेको थियो । अघिल्लो छैटौं दिन त झनै महोत्वसवको मञ्च नै माघी पर्व पाएको हुँदा खचाखच भरिएको महोत्सव अवलोकन छुटाउनेलाई पछुतो नै परेको आभाष थियो ।
प्रिति आलेको कौराह गितमा स्थानीय कालाकार मगर भेषभुसामा सजिएर मञ्चमा पुगेर नाँच देखाएका थिए । प्रिति आलेको प्रस्तुतीकलाले ६५ बर्षभन्दा माथिका कौराहप्रेमी मञ्चको तल कौराह सांगितिक तालमा नाँचेर रमाएका थिए । यो रमाईलो प्रस्तुती हेर्न देख्न रमाउन चौरासी पुजा गरिसकेका ज्येष्ठ नागरिकहरु लौरोका साहारामा कुर्चिमा अडिएर मनोरञ्जन लिईरहेका देखिन्थे ।
पशुपति र प्रीतिको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए । महोत्सवमा पशुपति आफ्ना चर्चित आधा दर्जन गीत गाउनुका साथै प्रीतिसँग जोडी बनेर दोहोरी पनि गाए । स्याङ्जा जाने बाटोमा तनहुँ, बिर्सिजाने मायालाई के भनौं, एकपछि अर्को चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई नचाए । दर्शकश्रोताको भीड बढ्दै जाँदा झनै रमाएका लोकगायक पशुपति शर्माले तनहुँगेलाई मात्रै नचाएनन्, आफू पनि मजाले नाँचे । ‘मलाई अमेरिका यै…’ भन्दै स्वदेशलाई माया गर्न सांगितिक सन्देश दिए । युटुवमा, टेलिभिजनमा देखेर सुनेर मोहित भएका दर्शक ती गायक तथा गायिकालाई आफ्नै आँगनमा पाउँदा झनै बढी खुसीले हौसिएका थिए । गायिका प्रीति आलेले ‘बाँमरी बामरी…’ बोलको गीतमा दशर्कहरु आफ्नै ताल र शैलीमा नाँच्नुसम्म नाँचे । कमेडियन माकुरी र सुन्दरमणी खनालको प्रस्तुतिमा दर्शक पेट मिचि हाँसेका थिए । आज बिहीबार आठौं दिनको महोत्सवमा शन्तिश्री परियार, गायिकाहरु वसन्त विक, उमादेवी खनाल, समृद्धि परियार र लक्ष्मी नेपालीको प्रस्तुति हुनेछ । पुस २५ देखि सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्नेछ ।