दमौल/तनहुँ जिल्लाका भूपू सैनिकहरूलाई लक्षित गरी रत्नहरी मेमोरियल अस्पताल दमौलीसँग भारत सरकारको भूपू सैनिक इकाइले स्वास्थ्य सेवा साझेदारी गर्ने प्रक्रिया अघि बढाइएको रत्नहरि अस्पतालले जनाएको छ । भारत सरकारको भूपू सैनिक योगदान स्वास्थ्य कार्यक्रम अन्तर्गत यो साझेदारी गर्न लागिएको हो ।
काठमाण्डौं स्थित रहेको भारतीय दुतवासका सैनिक सहसचिव लेफ्टिनेन्ट कर्नेल सुभजीत डेको नेतृत्वमा रहेको टोलीले आइतबार अस्पतालको निरीक्षण गरेको थियो । टोलीले अस्पतालमा उपलब्ध भौतिक संरचना, चिकित्सा सेवा, जनशक्ति, उपकरण र व्यवस्थापन प्रणालीको मूल्याङ्कन गर्दै सम्भावित साझेदारीका पक्षहरूबारे अध्ययन गरेको थियो ।

निरीक्षणका क्रममा अस्पताल प्रशासनले आफ्नो सेवा क्षमताबारे विस्तृत जानकारी दिएको थियो । भूपू सैनिक योगदान स्वास्थ्य कार्यक्रम अन्तर्गत नेपाली भूमिमा बसोबास गर्ने भारतीय भूपू सैनिक र तिनका आश्रित परिवारहरूलाई भारत सरकारमार्फत निशुल्क वा सहुलियतदरमा स्वास्थ्य सेवा उपलब्ध गराइन्छ । हालसम्म तनहुँ जिल्लाका भूपू सैनिकहरू उपचारका लागि पोखरा, चितवनजस्ता टाढा–टाढाका अस्पताल जान बाध्य थिए ।
भूपू सैनिक संघ तनहुँका अध्यक्ष क्याप्टेन सहवीर उचाईले जिल्लामा हाल करिब दुई हजार पाँच सय भूपू सैनिक रहेको जानकारी दिए । उनले भने, “दमौलीमै सीएचएससँग आवद्ध भएपछि जिल्लावासी भूपू सैनिकहरूले अब सहजै दमौलीमै सेवा प्राप्त गर्न सक्नेछन् । टाढा–टाढा जानुपर्ने झन्झट हट्नेछ ।” अस्पतालसँगको साझेदारी कार्यान्वयनमा आएपछि तनहुँ मात्र होइन, छिमेकी जिल्ला लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार लगायतका क्षेत्रका भूपू सैनिकहरू पनि लाभान्वित हुने उनले
बताए ।