आयुष पोख्रेल
राम्जाकोट/ऋषिङ गाउँ पालिकाको वडा नं ५ मा सरसफाई सम्वन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ ।
ऋषिङ गाउँ पालिका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजनाको आयोजनामा मंगलबार सम्पन्न गोष्ठीमा साविक राम्जाकोटका सबै वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वडा नं ५का वडाध्यक्ष पदमबहादुर थापाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा वडा भित्र भएका सरसफाइमा सकारात्म र कमजोर पक्षबारे छलफल भएको थियो ।
वडा स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्यहरुका लागि सञ्चालित गोष्ठीमा वडालाई पूर्ण सरसफाई युक्त बनाउन अपनाउन सकिने उपायहरुबारे समेत छलफल भएको थियो । गोष्ठीमा अझै पनि वडाका कतिपय घरहरुमा शौचालय नभएको तथा भएका घरहरुले पनि शौचालय प्रयोग गर्ने नगरेको भेटिएकोले शौचालय बनाउन र बनेको शौचालयको प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्ने विषयमा सहमति भएको छ । साथै गोष्ठीमा सरसफाइका सूचक पूर्णरुपमा कार्यन्वयनमा ल्याउन टोल तथा छिमेकमा सुझाव दिने विषयमा समेत छलफल भएको थियो ।
आगामी देशैसम्ममा वडालाई पूर्ण सरसफाई युक्त वडा घोषणा गर्ने गरी सरसफाइको कामलाई तिब्रता दिने, टोल तथा छर छिमेकलाई सफा राख्न पहल र प्रयत्न गर्ने, सरसफाइका सबै सूचकहरु पालना गर्ने विषयमा सहभागिहरुले प्रतिवद्धता जनाएका थिए । वडाकार्यालयको सभाकक्षमा सम्पन्न गोष्ठीको सहजिकरण पश्चिम नेपालका प्रतिनिधि अमोद अधिकारीले गरेका थिए ।