दमौली/नेपाली कांग्रेस तनहुँले एक विज्ञप्ती प्रकाशित गरी पार्टी भित्रका समस्याहरुको समधान संवादका माध्यमबाट गर्न नेपाली कांग्रेस तनहुँ प्रतिवद्ध रहेको जनाएको छ ।
कार्यवाहक सभापति जीतप्रकाश आलेले मंगलबार जारी गरेको विज्ञप्तीमा विधान विपरितका गतिविधिलाई अनुशासनको दायरा भित्र ल्याउन समेत कांग्रेस तनहुँ प्रतिवद्ध भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा माघ ८ गते दमौलीमा भएको भनिएको विशेष अधिवेशनको कुनै विधानगत आधार र कारण नभएको उल्लेख गर्दै नेपाली कांग्रेसका पदाधिकारी, कृयाशिल सदस्य तथा साधारण सदस्यलाई समेत समानान्तर भनिएको समितिमा राखिएको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
वैधानिक आधार विना व्यक्तिगत आधारमा भएको भेलाको कुनै राजनैतिक अस्तित्व नरहने र त्यसमा सहभागिको पनि राजनैतिक भविष्य नरहने उल्लेख गरिएको विज्ञप्तीमा महासमिति सदस्य एवं पूर्व जिल्ला सचिव कृष्णप्रसाद गौतम, क्षेत्रीय सभापतिहरु उदयराज गौली र किसान गरुङले कथित विशेष अधिवेशन र त्यस पछि गठित जिल्ला समितिसंग आफ्नो कुनै संलग्नता नरहेको पुष्टी गर्न विज्ञप्ती प्रकाशित गरिएको भनिएको छ । विज्ञप्तीको अन्त्यमा नेपाली कांग्रेस सम्बद्ध सबैलाई निराश नहुन आह्वान गरिएको छ ।