गत शुक्रबार सुदूरपश्चिम प्रदेशको कैलालीमा आफ्नो गुटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली पुगेका थिए, दलबल सहित । उक्त आमसभामा केही युवाले कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायको माग गर्दै निर्मला पन्तको बलात्कारी खै ? लेखेको टिसर्ट लगाएका थिए । तर तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लियो ।
पिडितका लागि न्यायको माग गर्दा र प्रश्न गर्दा ज्यानै गुमाउनु पर्ने, रोजगारी गुमाउनु पर्ने वा प्रहरी नियन्त्रणमा रहनु पर्ने श्रृङ्खला सुरु भएको पहिले नै हो । निर्मलाको बलात्कारी हत्याराको खोजी गरी आवश्यक कारवाहीको माग गर्दा कञ्चनपुरका सनी खुन्नाको ज्यान गयो । निर्मलाका निम्ति न्याय माग्दै तयार पारिएका सरकार भेटियो, तर निर्मलाको निम्ति न्याय भेटिएन उल्लेखित पोष्टरहरु रातारात हटाईयो भने पोष्टर टाँस्नेहरु पक्राउ गरिए ।
निर्मलाको बलातकारी हत्याराको खोजीमा प्रहरी प्रशासनले आवश्यक चासो देखाएन बरु न्यायको खोजीमा सडकमा आएकाहरुलाई दमन गर्ने तर्फ लाग्यो । सुरुमै आवश्यक तदारुकता देखाएको भए सायद दोषी पक्राउ हुन थियो तर सरकारी नियकाहरुले त्यो तत्परता देखाउन चाहेनन् । निर्मलालाई न्याय दिने भन्दापनि पर्खाएर गलाउने तर्फ लागि परेको देखियो । यस्तो अवस्थाबाट थप दुःखी बनेका निर्मलाका आमा बुबा प्रधानमन्त्रीसंग छोरीको न्यायका लागि हार–गुहारका लागि काठमाण्डौ गए । सोही समयमा नेपाल भ्रमणका लागि आएका भारतीय सिने कलाकारले काठमाण्डौ ओर्लेकै दिन प्रधानमन्त्री ओलीलाई भेट्ने मौका पाए तर निर्मलाका बाबु आमाले एक हप्ता पर्खनु प¥यो ।
नागरिकलाई न्याय प्रदान गर्ने कुरामा वर्तमान सरकार कति संवेदनशील छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ । न्याय दिनु त कताकता न्यायको माग गर्नेहरु मारिनु पर्ने वा प्रहरी हिरासतमा बस्नु पर्ने बिडम्बनाबाट हामी कहिलेसम्म गुज्रनु पर्ने हो ? न त जनताको साथी भनिने प्रहरीबाट न्याय प्राप्तीको आशा गर्न सकिने न त जनताको सेवा गर्छाैं भनेर निर्वाचन जितेर जानेहरुबाट आशा गर्न सकिने । निमुखाका लागि न्यायको ढोका बन्द नै भएको हो त ? नभए, न्याय माग्दा नियन्त्रमा किन लिइन्छ ?
सम्पादकीय