एउटा शिक्षकलाई अनकौं रुपमा चित्रण गरिएका छन्, हाम्रो समाजमा । कोही भन्छन्, शिक्षक एउटा मैनबत्ती हो जो आफु जलेर अरुलाई उज्यालो दिन्छ । शिक्षक एउटा माझी हो जसले हजारौं बालबालिकालाई ज्ञान रुपि सागर तार्छ र आफु भने किनारमै सिमित रहन्छ । शिक्षकलाई माझी वा मैनबत्ती जे भनेपनि दुबैको अर्थ ज्ञान बाँडने अर्थात अज्ञानताको अन्धकारबाट सबैलाई मुक्त गराउने व्यक्तिको रुपमा नै बुझाउन खोजिएको हो । तर संसारका केही देश बाहेक अधिकांश देशका शिक्षकहरु उपेक्षामा छन् । शिक्षकले संसार परिवर्तनका लागि गरेको योगदानको अवमूल्यन गरिएको छ । हाम्रोमा त राष्ट्र सेवकको दार्जा समेत पाएका छैनन् शिक्षकहरुले । निजामती कर्मचारी सरह सेवा सुविधा पनि शिक्षकहरुले पाउँदैनन् । यथार्थमा भन्नु पर्दा शिक्षकहरु दोस्रो दर्जाको नागरिकको रुपमा राखिएको छ, नेपालमा । शिक्षकको हित रक्षाका लागि गठन गरिएका भनिएका संगठनहरु फगत शिक्षक नेताहरुको सुविधा प्राप्तीको सोपान भएका छन् । र यही विषयमा विश्व शिक्षक दिवसको अवसर पारेर केही लेख्न मन लागेको छ ।
सन १९९४ देखि मनाउन थालिएको विश्व शिक्षक दिवस यो वर्ष पनि बुधबार मनाइयो । हरेक वर्ष इस्वी सन्को अक्टोबर ५ मा संसारभर यो दिवस मनाउने गरिएको छ । कोभिड–१९ का कारण दुइ वर्ष देखि अस्तव्यस्त बनेको शिक्षा क्षेत्रको अस्तव्यस्तता हटाउने ल्याकत शिक्षकले मात्र राख्ने भएकोले नै होला यस वर्षको नाराले शैक्षिक पुनरुत्थानको केन्द्रमा शिक्षक भन्ने आशय बोकेको छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, बैज्ञानिक र सांकृतिक संगठन(UNESCO) ले हरेक वर्ष तय गर्ने अन्तर्राष्ट्रिय शिक्षक दिवसको यस वर्षको नाराले कोभिडका कारण यो दुइ वर्षमा खस्केको शैक्षिक गुणस्तरको पुनरुत्थानको जिम्मा शिक्षकलाई दिएको छ । त्यसको केन्द्रमा शिक्षक रहेको उल्लेख गरेको छ । “Teachers at the heart of education recovery” यो नाराको अर्थ र आशय यही होइन र ?
केही समय अगाडी धादिङकी शिक्षक भागिरथी पौडेलको भीषण पहिरोलाई छिचोल्दै र कोभिडको महामारीको वेवास्ता गर्दै विद्यालय जाँदै गरेको तस्वीर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको थियो । भागिरथी त एउटा प्रतिनिधि पात्र मात्र हुन् यस्ता कष्ट सहेर आफु र आफ्नो परिवार नभनेर अहोरात्र बालबालिकाको भविष्य निर्माणमा समर्पित हुने शिक्षकहरुको कुनै कमि छैन यहाँ । कोेभिडकै विच कहिले विद्यालय खोल्न पाइएला र भविष्यका कर्णधार भनिने बालबालिकाको जिज्ञासा समाधान गर्न पाइएला, उनीहरु भित्रको अज्ञानको अन्धकार हटाउन पाइएला, शिक्षाको ज्योतिले उनीहरुको मनलाई प्रकाशित गर्न पाइएला भनेर व्यग्र प्रतिक्षा गर्ने शिक्षकको पनि कुनै कमि थिएन । त्यसैले त विद्यार्थी भएको टोलमा गएर साना समूह बनाएर होस् या अनलाईन माध्यमबाट होस् शिक्षकहरुले शैक्षिक क्षति कम गर्ने काममा लागि परिरहे । प्रशासनको विद्यालय नखोल्ने उर्दीका बीच पनि जोखिम मोलेर विभिन्न वैकल्पिक प्रणालीबाट बालबालिकालाई शिक्षक सिकाई क्रियाकलापमा सहाभागी गराई रहे ।
कोभिडका कारण बालबालिका र समग्र विश्वले व्यहोर्नु परेको शैक्षिक क्षति कम गर्न र त्यसको परिपूरण गर्न शिक्षकको जति महत्वपूर्ण भूमिका अरुको हुनै सक्दैन । विद्यालयमा आउने बालबालिका र तिनका अभिभावकले कोभिड विरुद्धको खोप नपाई सकेको अवस्थामा ति बालबालिकाको संसर्गमा रहेर पठन पाठन गर्नु जोखिम पूर्ण छ । तर शिक्षकहरुले त्यो जोखिम मोल्न तयार भएर विद्यालय खोल्न पाउनु पर्ने बताए र अहिले लगभग देशभरका विद्यालय आवश्यक स्वास्थ्य सावधानी अपनाएर खोलिएको अवस्था छ । यसको अर्थ हो, शैक्षिक अस्तव्यस्ततालाई कम गर्न शिक्षक आफै लागि परेका छन् ।
भनिरहनु परेन जोखिम पूर्ण काम गर्नेहरुलाई प्रोत्साहनको आवश्यकता पर्दछ । तर हाम्रो राज्य यस्तो छ कि जोखिम मोल्नेहरुलाई प्रोत्साहन होइन दुरुत्साहन गर्छ । कोभिड विरुद्धको खोपकै कुरा गरौं । शिक्षकहरुले खोप लगाउने पालो व्यापारीहरुले भन्दा ढिलो पाए । जोखिमका हिसाबले शिक्षकले सबैभन्दा पहिले, स्वास्थ्यकर्मी र ुसुरक्षाकर्मीसंगै खोपको सुविधा पाउनु पर्ने हो । शिक्षकले खोप पाउन पनि खोप नलगाएसम्म कक्षामा जान सक्दैनौं भनेर आन्दोलन नै गर्नुप¥यो ।
राज्यद्वारा गरिएको विभेदको हिसाब गरिसाध्य छैन, शिक्षक माथि । कोभिडको जोखिमसंग जुधेर काम गरिरहेका शिक्षकहरुलाई दुरुत्साहन गर्न राज्यले कुनै कसर बाँकी राखेको छैन । निजामती कर्मचारी लागाएतलाई हरेक वर्ष १० दिन पर्यटन काज तथा त्यत्ति नै बराबरको तलब सुविधा दिने घोषणा ग¥यो तर शिक्षकलाई त्यो दिन आवश्यक ठानेन । प्रोत्साहनको एउटा कुरा भयो । देशका विभिन्न स्थान घुमेर ति स्थानको सभ्यता, संस्कृति, परम्परा, भुगोल, हावापानी लगाएत विषयमा जानकारी राख्ने र त्यसबारे बाल बालिकालाई जानकारी गराउने कुरा त शिक्षकका लागि पो आवश्यक हुन्थ्यो र । के देशबारे जानकारी राख्ने, आफ्नो सभ्यता, संस्कृति, परम्परा, भाषा, भूगोल र हावापानी बारे जान्ने अधिकार बालबालिकालाई छैन ? पर्यटन काजमा शिक्षकलाई छुटाएसंगै जोडिएर आएको प्रश्न यो पनि हो ।
नियमित आवधिक बढुवाको व्यवस्था निजामतीको हकमा छ तर शिक्षकको हकमा छैन । एउटा शिक्षक सेवा प्रवेश गरेको २० वर्षसम्म सोही श्रेणीमा काम गर्न बाध्य हुने अवस्था विद्यमान छ । निजामतीका लागी अस्पताल छ तर शिक्षकका लागि अस्पताल बनाउन सम्भाव्यता अध्ययन गर्ने भनेर भनिएको त छ तर बजेटको भने व्यवस्था गरिएको छैन ।
उता शिक्षकको हित रक्षा गर्छाैं भन्ने नेताहरु विदेश भ्रमण, काज आदिको ललिपपमा भुलेर शिक्षक आन्दोलनलाई कमजोर बनाउन व्यस्त छन् । राज्यले ईसिडी शिक्षक तथा कार्यालय सहायक र सहयोगी माथि विभेद गरिरहेको छ । त्यस बारेमा मौसमी आन्दोलन बाहेक निर्णायक कुनै कदमा संघ, संगठन वा तिनीहरुको छाता संगठनको रुपमा रहेको महासंघले नै चाल्न सकेका छन् । यस्तोमा शिक्षकले आफ्नो दायित्व निर्वाह गर्दै समान अधिकारका लागि आन्दोलन पनि गर्नु पर्ने भएको छ । हित रक्षाका लागि नतुहिने आन्दोलनमा लाग्न सबै शिक्षकहरुलाई यस वर्षको शिक्षक दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना ।
सन्दर्भः शिक्षक दिवस
previous post