अप्सरा भट्टराइ
मंसिर अन्तिम साता भएको कांग्रेसको चौधौं महाधिवेशनको मत गणना सकिएर सम्पूर्ण पदहरुको नतिजा सार्वजनिक भएको दिन पुष १० गते विहिबार संयोगवश संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मदिन परेको थियो । कृष्णप्रसाद भट्टराईले कस्तो कांग्रेस बनाउन चाहन्थे र अहिले कांग्रेस कस्तो छ भन्ने विषयमा थुप्रै वहस हुन सक्छ तर मैले यो आलेखमा ति सन्त नेताको सम्झना मात्र गर्न खोेजेकी हुँ । समाजिक सञ्जालमा फाट्टफुट्ट कांग्रेस शुभेच्छुक, समर्थकहरुले भट्टराईको सम्झनामा केही लेखेको देखियो । तर कांग्रेस पार्टीले औपचारिक रुपमा कुनै कार्यक्रम गरेर उनको सम्झना गरेको मेरो जानकारीमा आउन सकेन । दुर्गम स्थानमा रहेका कारण सूचनामा पहूँच नभएकाले पनि मेरो जानकारीमा त्यो कुरा नआएको हुनसक्छ ।
२०५६ सालको आम निर्वाचन कांग्रेसका लागि सहज थिएन । ३६से र ७४रे मा विभाजित कांग्रेसका लागि निर्वाचन असहज हुनु स्वाभाविक थियो । सभापति समेत रहेका गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर निर्वाचनमा होमिँदा सहज हुने अनुमान साथ उनलाई निर्वाचन पछिको प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर कांग्रेस निर्वाचनमा होमियो । भट्टराईलाई अघि सारेकै कारण कांग्रेसलाई सुविधाजनक बहुमत प्राप्त भयो र भट्टराई प्रधानमन्त्री भए । तर सत्ता बाहिर बस्नै नसक्ने स्वाभावका गिरिजा प्रसाद कोइरालाले १० महिना पनि काम गर्न, विदेश जाने अवसर समेत नदिएर राजिनामा गर्न बाध्य
गराए । त्यतिबेला आफुमाथि प्रस्तुत भएको अविश्वासको प्रस्तावको जवाफ दिँदै भट्टराईले भनेका थिए, के प्रजातन्त्र भनेको छलछाम र बेइमानी मात्र हो ? सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले के नागरिकले प्रजातन्त्र प्राप्तीको अनुभूति गर्न सक्छन् ? सम्भवत भट्टराईल यो कुरा आफु प्रति गिरिजाप्रसाद कोइरालाले देखाएको राजनैतिक बेइमानीको कुरा मात्र गरेका थिएनन् । तत्कालिन नेपाली राजनीति जसरी अगाडि बढिरहेको थियो, त्यसका प्रतिको चिन्ता थियो, उनको । भट्टराई चाहन्थे, राजनीति नागरिकको सेवाका लागि होस् । राजनीतिज्ञको ध्यान नागरिकको समग्र पक्षको विकासमा जाओस् । छलछाम र अँध्यारो कोठामा हुने अनेत कृत्यहरु नहोउन् । तर भट्टराई जे नहोस् भन्थे अहिले हाम्रो राजनीतिमा त्यही भइरहेको छ ।
नेपालको पहिलो संसदको सभामुख तथा २०४६ साल चैत्रमा प्रजातन्त्र पुनः स्थापना भएपछिका पहिलो प्रधानमन्त्री अनि सन्त नेता तथा किसुन जी आदि नामले आम नेपालीमाझ परिचित भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तिका रुपमा समेत परिचित थिए । स्पष्ट वक्ता र सिद्धान्त निष्ठ नेताको समेत छवि बनाएका भट्टराईको जन्म विसं १९८१ साल पौष कृष्ण द्वादशीका दिन भएको थियो । २००७ सालको जनक्रान्तिमा जनकपुर र उदयपुर कब्जा गर्ने जनमुक्ति सेनाको कमाण्डरको रुपमा कुसलतापूर्वक काम गरेका भट्टराईले २०१५ सालमा सम्पन्न पहिलो निर्वाचनबाट निर्मित प्रतिनिधि सभाको सभामुखका रुपमा पनि उत्तिकै कुशलता देखाए । यतिमात्र होइन, विसं २०४६ को पहिलो जन आन्दोलनको सफलता पश्चात २०४७ वैशाख पहिलो साता बनेको नेपाली कांग्रेस र संयुक्त बाम मोर्चाको संयुक्त अन्तिरिम सरकारको नेतृत्व पनि उनले कुशलता पूर्वक दिए । उनको नेतृत्वको मुख्य कार्यभार संविधान निर्माण गर्नु र प्रतिनिधी सभाको निर्वाचन गर्नु थियो । समयमै र सफलता पूर्वक दुबै काम भट्टराईले गरे । र आजपनि उनी नेपालीको मनमा छन् ।
दुइ पटकसम्म प्रधानमन्त्री बनेका भट्टराई व्यक्तिगत लाभभन्दा सामुहिक हितका काम गर्ने भएकाले स्वच्छ छवि भएका नेताको रुपमा आम नेपाली माझ परिचित थिए । हरदम हँसिलो, गम्भीर विषयलाई समेत सामान्य रुपमै समाधानको मार्गमा लैजाने विशेष क्षमता भएका उनी आफुमाथि गरिने अनेकौं घोचपेच र व्यङ्ग्य सजिलै पचाउन सक्थे । प्रधानमन्त्री भएर निवास छिर्दा हातमा छाता र सुराही लिएर छिर्ने अनि निस्कँदा पनि त्यही दुइवस्तुमात्र लिएर निस्कने उनको सादगी पूर्ण जीवनको अहिलेका नेताको तामझाम पूर्ण जीवन देखेका आम नेपालीले जीवन पर्यन्त सम्झना गर्नेछन् ।
२०६७ फागुन २० मा हामीबाट सदाका लागि विदा भएका भट्टराईको जीवनबाट हामीले सिक्न सकिने धेरै कुरा छन् । अझ किसुनजीका अनुयायी हौ भन्ने कांग्रेसजनले त झन सिक्न सक्ने धेरै कुरा छन् । अरु नसके पनि उनले देखाएको सादगी र राजनीतिमा नैतिकताको बाटोलाई कांग्रेस नेताहरुले अनुशरण गर्न सक्दा कांग्रेसको बैचारिक र सांगठनिक स्खलन रोकिने थियो । ९८ औं जन्मजयन्तीको अवसरमा ढिलै भएपनि भट्टराई प्रति शब्द श्रद्धा ।