ऋषिङ गाउँ पालिकाले दास्रो अल्ट्रा म्याराथनको आयोजना गर्ने भएको छ । गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार दोस्रो ऋषिङ अल्ट्रा म्याराथन तथा स्थानीय र महिला सर्ट म्याराथन पौष २७ गते आयोजना हुनेछ । अध्यक्ष श्रेष्ठका अनुसार ऋषिङ अल्ट्रा म्याराथन, स्थानीय म्याराथन तथा महिला सर्ट म्याराथन गाउँपालिकाको प्रवेश विन्दु धारुङबाट प्रारम्भ हुनेछ ।
ऋषिङ अल्ट्रा म्याराथनका संयोजक दानबहादुर श्रेष्ठका अनुसार वडा नं ८ को धारुङबाट प्रारम्भ हुने अल्ट्रा म्याराथन एतिहासिक रानीपोखरी, गाउँ पालिका कार्यालय गोठादी, चालिसे, भिर्काेट हुँदै वडा नं ३ को दुभुङमा गएर सम्पन्न हुनेछ । यसैगरी १० किमीको स्थानीय म्याराथन ज्यामिरेमाई मन्दिर परिसरमा गएर समाप्त हुनेछ भने महिला सर्ट म्याराथन ऐतिहासिक कोटदरबारमा गएर समाप्त हुनेछ ।
पौष २५ गतेसम्म धावकहरुले नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको बताउँदे संयोजक श्रेष्ठले ऋषिङ अल्ट्रा म्याराथनमा प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्ने धावकहरुले क्रमषः ६५ हजार, ४० हजार, २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सान्त्वना स्थान प्राप्त गर्ने तीन धावकले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । स्थानीय म्याराथनको प्रथम पुरस्कार १५ हजार, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ६ हजार नगद रहेको छ भने सान्त्वना स्थान प्राप्त गर्ने दुइ धावकले जनही २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महिला सर्ट म्याराथन तर्फ प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ८ हजार तथा तृतीय हुनेले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान प्राप्त गर्ने दुइ धावकले नगद दुइहजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरस्कार राशीमा लाग्ने लाभकर गाउँ पालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको समेत संयोजक श्रेष्ठले बताए ।
गत वर्षको तुलनामा धावकहरुको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको बताउँदै अध्यक्ष श्रेष्ठले अघिल्लो वर्षको अनुभवबाट सिक्दै धावकको आकस्मिक उपचारका लागि एम्बुलेन्स सहितको डाक्टरको टोली खटाइने जानकारी गराए ।
प्रदेश स्तरका धावकहरुलाई कार्यक्रममा बोलाएर सम्मान गरिने कार्यक्रम रहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागी हुन चाहने धावकले निशुल्क सहभागी फर्म भर्न सक्नेछन् । सबै प्रतियोगितामा विजयी धावकलाई अल्ट्रा म्याराथनको अन्तिम विन्दु दुभुङमा विशेष कार्यक्रमबीच पुरस्कार वितरण गरिनेछ ।