दमौली/नेकपा (एमाले) तनहुँको अगुवा कार्यकर्ता भेला ६ बुँदे प्रस्ताव पारित गर्दै मंगलबार सम्पन्न भएको छ । जिल्ला अध्यक्ष हरिराज कँडेलको अध्यक्षता र पार्टीका केन्द्रीय सचिव खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समसामयिक राजनीतिक र जनसरोकारका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको एमालले जनाएको छ ।
एमाले तनहुँले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सरकारी कदमको विरोध गरेको छ । भेलाले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले ’प्रतिशोधपूर्ण’ ढंगले गिरफ्तार गरेको भन्दै घोर भत्र्सना गर्दै उनीहरूको तत्काल र ससम्मान रिहाइको जोडदार माग गरेको हो
शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका नागरिकमाथि सरकारले दमन गरेको र राज्य आतंक सिर्जना गरेको भन्दै एमालेले आपत्ति जनाएको छ । दमन नरोकिए जनता प्रतिवादमा उत्रने र त्यसको जिम्मेवार सरकार स्वयं हुने चेतावनी दिँदै घाइतेहरूको उपचारको माग गरिएको छ ।
पार्टीभित्र अहिले चलिरहेको ’नेतृत्व परिवर्तन’ र ‘विशेष महाधिवेशन’को चर्चालाई भेलाले ‘बेमौसमी बाजा’ को संज्ञा दिएको छ ।
बाह्य र आन्तरिक आक्रमण भइरहेको बेला पार्टीको विधि र विधानभित्र रहेर एकताबद्ध हुन कार्यकर्तालाई आह्वान गरिएको छ ।
वर्तमान सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा गरेको अत्यधिक मूल्य वृद्धिप्रति विरोध जनाउँदै जनतालाई तत्काल राहत प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।
अमेरिकाले सार्वभौम मुलुकहरू (इरान, भेनेजुएला आदि) मा गरेको हस्तक्षेपको निन्दा गर्दै भेलाले खाडी क्षेत्रमा जारी युद्धका कारण समस्यामा परेका नेपाली श्रमिकहरूलाई सकुशल स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
सकियो एमाले अगुवा कार्यकर्ता भेला
previous post
