तीन दिनपछि नेपालको वर्तमान गणतान्त्रिक संविधान जारी भएको ६ वर्ष पूरा भएर ७ वर्ष लाग्दैछ । २०७२ साल असोज ३ गते सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेने प्रस्तावनाका साथ यो संविधान जारी भएको थियो । संविधान सभाको दुइ तिहाईभन्दा बढी सभासदको समर्थनमा जारी यो संविधानले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता तथा समावेशीता आदिलाई आत्मसाथ गरेको छ । नागरिक स्वतन्त्रता, मानव अधिकार, आवधिक निर्वाचन, मौलिक अधिकार, पूर्णं प्रेस स्वतन्त्रता जस्ता विशेषता रहेको यो संविधान नेपाली नागरिकको झण्डै सात दशक लामो आफ्नो संविधान आफै लेख्ने सपनाको पूर्णता थियो ।
३१ वटा मौलिक हकको व्यवस्था गरेको यो संविधानले प्रत्येक नेपाली नागरिकलाई सम्मानपूर्ण बाँच्न पाउने हक उल्लेख मात्र गरेको छैन, कुनै नागरिकलाई उत्पत्ति, जात, जाति, धर्म, वर्ण, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था आदिका आधारमा विभेद नुहेन उल्लेख गरेको छ । सामाजिक सुरक्षाको हक, ज्येष्ठ नागरिकको हक, माहिलाको हक, बालिबालिकाको हक, दलितको हक, सामाजिक न्यायको हक आदि मार्फत राज्यबाट सबै नागरिकले सुरक्षा र संरक्षण गर्ने उल्लेख गरिएको यो संविधान वास्तवमै उत्कृष्ठ छ । तर केही प्रश्नहरु भने बाँकी छन् ।
संविधानले खाद्य सम्बन्धी हकको व्यवस्था गरेको छ, तर कतिपय नागरिक सडकमा भोकै मर्ने अवस्थामा अझै भेटिएका छन् । हरेक नेपालीलाई उपयुक्त आवासको हक भनिएको छ तर आकाशलाई छानो बनाएर रात बिताउने थुप्रै नागरिक हामी कहाँ देखिएका, भेटिएका छन् । प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने भनिएको छ तर अझै पनि चारलाखभन्दा बढी बालबालिका शिक्षाको अवसरबाट बञ्चित रहेको तथ्याङ्क छ । यस्ता धेरै कुराहरु छन् जसलाई हामीले संविधानमा लिपिवद्ध त बनायौं तर ति अधिकारको उपभोग नागरिकले निर्वाध र पूर्ण रुपमा गर्न पाउने वातावरण तयार भएको छैन ।
सबै तीन करोड नेपाली नागरिकलाई आफ्नो संविधान भएको अनुभूति गराउने गरी आगामी दिनमा राज्य सञ्चालकहरुले काम गर्दै जाउन् । सबैले आफ्ना हकको निर्वाध उपभोग गर्न पाउने वातावरण तयार होस् । कसैले वर्ण, जाति, भाषा, क्षेत्र, धर्म, आदिको आधारमा काखा र पाखाको अनुभूति गर्न नपरोस् । धर्मनिरपेक्षता र संघीयता यतिबेला धरापमा परेको जस्तो । संविधान पूर्ण जीवनको लागि समेत दिवसको शुभकामना ।
संविधान दिवसको शुभकामना-सम्पादकीय
previous post