शैलुन मजदुरमा आश्रित परिवारको चुल्हो बलेन
दमौली/चैत्र ११ गतेदेखिको लामो बन्दाबन्दीका कारण आयस्रोत बन्दभै थलिएका शैलुन व्यवसाय पुनः सरकारले बन्द गराएपछि छटपटिएका
छन् । महंगो कोठा भाडा, राशन, व्यवसाय कर र परिवार माथिको जिम्मेवारीले शैलुन व्यवसायीहरु सरकारसंग गुहार माग्नै पर्ने अवस्थामा पुगेको बताउँछन् ।
शैलुन मजदुर र ती मजदुरमा आश्रित परिवारको चुल्हो बन्द भो, पेट रित्तो भो, घर भाडा कसरी तिर्ने ? व्यवसाय कर कसरी तिर्ने ? उपाय नदेखेका शैलुन व्यवसायीहरु सरकारसंग माग गरेका छन्– कि त व्यवसाय कर लिने सरकारले व्यवसाय सञ्चालन गर्न दिनु पर्दछ । नदिए शैलुन मजदुर र ती मजदुरमा आश्रित परिवार पाल्नका लागि सरकारले राहत दिनु पर्दछ । व्यवसाय कर र घरभाडा अनुदान दिनु पर्दछ भन्ने माग शैलुन व्यवसायीहरुको रहेको छ ।
नेपाल नाई संघ जिल्ला कार्य समिति तनहुँका अध्यक्ष महमद रमजान शैलुन पसल भन्दा बढी संक्रमण भित्र्याउन सक्ने सम्भावित व्यवसायहरु सुचारु हुन दिएर शैलुन बन्द गरिदाँ प्रभावित मजदुर र तिनमा आश्रित परिवार पाल्न राहत र घरभाडा र व्यवसाय कर अनुदान सरकारले उपलब्ध गराउनु पर्ने
बताउँछन् ।
नेपाल ट्रेड युनियन काँग्रेस तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खलेले शैलुन मजदुरहरुको समस्याका बारेमा संस्थागत रुपमा प्रमुख जिल्ला अधिकारी समक्ष राखेको बताउँछन् । उनि अगाडि भन्दछन्– ‘निमुखो नाईहरुको मात्रै व्यवसाय बन्द गराउने तनहुँ प्रशासनको निर्णय अन्यायपूर्ण छ ।’
शैलुन बन्द गर्ने निर्णयका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले नेपाल सरकारको कोरोना संक्रमण नियन्त्रण गर्ने नीतिगत निर्णय सबैले मान्नु पर्ने बताउनु भयो । नेपाल सरकारले शिक्षण संस्था, व्यूटि पार्लर, शैलुन, जीम खाना कडाईको साथ बन्द गर्ने नीति छ । अर्को सूचना नभएसम्मको लागि ती संस्था र व्यवसाय बन्द नै हुन्छन् प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो । चैत्र ११ गतेदेखि व्यवसाय बन्द गरेका शैलुन व्यवसायीहरु सबैले एक महिनाको पनि घरभाडा छुट दिलाउन नसक्ने सरकार आफ्नो समस्याको निकास दिनुपर्ने व्यवसायीहरु बताउँछन् ।