
राजन उपाध्याय
शुनपा/चौथो शुक्लागण्डकी महोत्सवको मंगलवार सकिएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले समापन गरेका हुन् ।
समापनका अवसरमा बोल्दै मन्त्री बस्यालले महोत्सवले आर्थिक चलायमान बनाउन सहयोग पुग्ने बताए । उनले गण्डकी प्रदेश पर्यटनको प्रचुर सम्भावना रहेको प्रदेश रहेको बताउदै यसकै माध्यमबाट आर्थिक रुपमा सशक्त बन्न सकिने उल्लेख गरे ।
महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल राखिएका थिए । महोत्सवमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, विभिन्न खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एवं बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा रत्यौली प्रतियोगिता,खुल्ला नृत्य प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रर्वद्धन तथा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा बेलचौतारामा फागुन ९ देखि शुरु महोत्सव १२ दिन चलेर मंगलबार समापन भएको हो ।