
शिक्षकका निम्ति अनेकौं उपमा छन्, हाम्रो समाजमा । कसैका दृष्टिमा शिक्षक पथ प्रदर्शक हो । कोही भन्छन्, शिक्षक एउटा मैनबत्ती हो जो आफु जलेर अरुलाई उज्यालो दिन्छ । शिक्षक एउटा माझी हो जसले हजारौं बालबालिकालाई ज्ञान रुपि सागर तार्छ र आफु भने किनारमै सिमित रहन्छ । शिक्षकलाई पथ प्रदर्शक, माझी वा मैनबत्ती जे भनेपनि दुबैको अर्थ ज्ञान बाँडने अर्थात अज्ञानताको अन्धकारबाट सबैलाई मुक्त गराउने व्यक्तिको रुपमा नै बुझाउन खोजिएको हो । तर संसारका केही देश बाहेक अधिकांश देशका शिक्षकहरु उपेक्षामा छन् । शिक्षकले संसार परिवर्तनका लागि गरेको योगदानको अवमूल्यन गरिएको छ । हाम्रोमा त शिक्षकहरुले राष्ट्र सेवकको दार्जा समेत पाएका छैनन् । निजामती कर्मचारी सरह सेवा सुविधा शिक्षकले पाउँदैनन् । यथार्थमा भन्नु पर्दा नेपालमा शिक्षकहरु दोस्रो दर्जाको नागरिकको रुपमा रहेका छन् । शिक्षकको हित रक्षाका लागि गठन गरिएका भनिएका संगठनहरु फगत शिक्षक नेताहरुको सुविधा प्राप्तीको सोपान भएका छन् । र यही विषयमा विश्व शिक्षक दिवसको अवसर पारेर केही लेख्न मन लागेको छ ।
सन १९९४ देखि मनाउन थालिएको विश्व शिक्षक दिवस यो वर्ष पनि अघिल्लो बुधबार बडा दशैंका दिन
मनाइयो । मनाइयो के भन्नु छ र समाजिक सञ्जालमा शुभकामना दिने र धन्यवाद व्यक्त गर्ने गरियो । हरेक वर्ष इस्वी सम्बतको अक्टोबर ५ मा संसारभर यो दिवस मनाउने गरिएको छ । कोभिड–१९ का कारण दुइ वर्ष देखि अस्तव्यस्त बनेको शिक्षा क्षेत्रको अस्तव्यस्तता हटाउने ल्याकत शिक्षकले मात्र राख्ने भएकोले गत वर्षको शैक्षिक पुनरुत्थानको केन्द्रमा शिक्षक भन्ने आशय बोकेको नारा दिइएका थियो । संयुक्त राष्ट्र संघीय शैक्षिक, बैज्ञानिक र सांकृतिक संगठन(UNESCO) ले हरेक वर्ष तय गर्ने अन्तर्राष्ट्रिय शिक्षक दिवसको यस वर्षको नाराले भने शिक्षामा रुपान्तरणको जिम्मा शिक्षकलाई दिएको छ र यस वर्षको नारामा भनिएको छ, शिक्षाको रुपान्तरण शिक्षकबाट सरु हुन्छ ।
आफु र आफ्नो परिवार नभनेर अहोरात्र बालबालिकाको भविष्य निर्माणमा समर्पित हुने शिक्षकहरुको कुनै कमि छैन यहाँ । शिक्षामा रुपान्तरण गर्दै समाज रुपान्तरणको अभियानमा दिनरात नभनेर अविराम खट्ने शिक्षकको पनि पटक्कै कमि छैन । कोेभिडकै विच कहिले विद्यालय खोल्न पाइएला र भविष्यका कर्णधार भनिने बालबालिकाको जिज्ञासा समाधान गर्न पाइएला, उनीहरु भित्रको अज्ञानको अन्धकार हटाउन पाइएला, शिक्षाको ज्योतिले उनीहरुको मनलाई प्रकाशित गर्न पाइएला भनेर व्यग्र प्रतिक्षा गर्ने शिक्षकको पनि कुनै कमि थिएन गत वर्षहरुमा ।
कोभिडका कारण बालबालिका र समग्र विश्वले व्यहोर्नु परेको शैक्षिक क्षति कम गर्न र त्यसको परिपूरण गर्न शिक्षकको जति महत्वपूर्ण भूमिका अरुको हुनै सक्दैन । अझ समाज रुपान्तरणका लागि शिक्षा र खासगरी बेरोजगार उत्पादन गर्ने वर्तमान शिक्षा पद्दतिमा परिवर्तन, रुपान्तरण वा सोचान्तरण गरेर स्वरोजगार मूलक अनि सहज रोजगारी प्राप्त हुने खालको शिक्षा प्रदान गर्न, विश्व बजार सहजै विक्ने श्रम शक्ति उत्पादन गर्ने कुरामा शिक्षकको जति भूमिका अरुको हुने कुरै भएन ।
हामीले देखे भोगेकै छौं कि हाम्रा साना बाबु नानीहरु हामीले भनेका कुरामा विश्वास गर्दैनन् तर विद्यालयमा शिक्षकले भनेको भनेपछि उनीहरुमा पूर्ण विश्वास हुन्छ । त्यसैले बालबालिकाको सोचमा परिवर्तन गर्ने अहमं भूमिका शिक्षकको हुन्छ । उसले चाह्यो भने समाजको पथप्रर्दशकको उपमा पाएको उसले शिक्षामा अनि समाजमा सहज रुपान्तरण ल्याउन सक्छ । र खुसीको कुरा संसारका शिक्षकमा त्यो ल्याकत र जाँगर छ । केवल खाँचो छ, प्रोत्साहनको । युनेस्कोले शिक्षकको त्यो ल्याकत र जाँगर देखेर र महत्व बुझेर नै यो वर्षको नारा तय गरेको हुनुपर्छ । तर दुर्भाग्य नेपालमा खासगरी राज्य सञ्चालकहरुमा त्यो चेतना आएको छैन कि साना साना प्रोत्साहनका कार्यक्रमले शिक्षामा ठूला रुपान्तरणका लागि शिक्षकलाई तयार पार्न सकिन्छ । कोभिडको समय कै कुरा गरौं , जोखिमका हिसाबले शिक्षकले सबैभन्दा पहिले, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसंगै कोभिड विरुद्ध खोपको सुविधा पाउनु पर्ने हो । शिक्षकले खोप पाउन पनि खोप नलगाएसम्म कक्षामा जान सक्दैनौं भनेर आन्दोलन नै गर्नुप¥यो ।
राज्यद्वारा गरिएको विभेदको हिसाब गरिसाध्य छैन, शिक्षक माथि । कोभिडको जोखिमसंग जुधेर काम गरिरहेका शिक्षकहरुलाई दुरुत्साहन गर्न राज्यले कुनै कसर बाँकी राखेन । निजामती कर्मचारी लागाएतलाई हरेक वर्ष १० दिन पर्यटन काज तथा त्यत्ति नै बराबरको तलब सुविधा दिने घोषणा ग¥यो तर शिक्षकलाई त्यो दिन आवश्यक ठानेन । प्रोत्साहनको एउटा कुरा भयो । देशका विभिन्न स्थान घुमेर ति स्थानको सभ्यता, संस्कृति, परम्परा, भुगोल, हावापानी लगाएत विषयमा जानकारी राख्ने र त्यसबारे बाल बालिकालाई जानकारी गराउने कुरा त शिक्षकका लागि पो आवश्यक हुन्थ्यो र । के देशबारे जानकारी राख्ने, आफ्नो सभ्यता, संस्कृति, परम्परा, भाषा, भूगोल र हावापानी बारे जान्ने अधिकार बालबालिकालाई छैन ? पर्यटन काजमा शिक्षकलाई छुटाएसंगै जोडिएर आएको प्रश्न यो पनि थियो ।
नियमित आवधिक बढुवाको व्यवस्था निजामतीको हकमा छ तर शिक्षकको हकमा छैन । एउटा शिक्षक सेवा प्रवेश गरेको २० वर्षसम्म सोही श्रेणीमा काम गर्न बाध्य हुने अवस्था विद्यमान छ । निजामतीका लागी अस्पताल छ तर शिक्षकका लागि अस्पताल बनाउन सम्भाव्यता अध्ययन गर्ने भनेर भनिएको त छ तर बजेटको भने व्यवस्था गरिएको छैन ।
उता शिक्षकको हित रक्षा गर्छाैं भन्ने नेताहरु विदेश भ्रमण, काज आदिको ललिपपमा भुलेर शिक्षक आन्दोलनलाई कमजोर बनाउन व्यस्त छन् । राज्यले ईसिडी शिक्षक तथा कार्यालय सहायक र सहयोगी माथि विभेद गरिरहेको छ । त्यस बारेमा मौसमी आन्दोलन बाहेक निर्णायक कुनै कदमा संघ, संगठन वा तिनीहरुको छाता संगठनको रुपमा रहेको महासंघले नै चाल्न सकेका छन् । यस्तोमा शिक्षकले शिक्षामा रुपान्तरण र सोचान्तरणको आफ्नो दायित्व निर्वाह गर्दै समान अधिकारका लागि आन्दोलन पनि गर्नु पर्ने भएको छ । हित रक्षाका लागि नतुहिने आन्दोलनमा लाग्न सबै शिक्षकहरुलाई यस वर्षको शिक्षक दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना ।