दमौली/जिल्ला भित्रका शिक्षकहरु विरामी पर्दा, दुर्घटनामा पर्दा सहयोग पुगोस् भन्ने हेतुले शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोखरेलको परिकल्पनामा सुरु भएको शिक्षक कल्याणकारी कोष शिक्षकलाई परको अप्ठ्यारोमा सहयोगी बन्दै आएको छ ।
कोष स्थापनाको तीन वर्षमा दजनौं सदस्य शिक्षकलाई गम्भीर रोगको उपचारमा प्रति शिक्षक ५२ हजार रुपैयाँका दरले कोषबाट रकम उपलब्ध गराउने व्यवस्था छ भने सदस्य शिक्षकको मृत्यु भएमा किरिया खर्च बापत छुट्टै १३ हजार रुपैयाँ दिने कोषको विधानमा उल्लेख गरिएको छ ।
कोषको सुरुवात गर्न निकै कठिनाईहरुको सामना गर्नु परेको पोखरेलको अनुभव छ । पोखरेल भन्छन् “सुरुमा व्यक्तिगत फाइदाका लागि अवधारणा ल्याएको शंका रहेकाले संघकै साथीहरुलाई आश्वस्त तुल्याउन तथा अन्य शिक्षकका पेशागत संगठनका साथीहरुलाई विश्वास दिलाउन निकै कठिन भयो । तर कोषको स्थापना भएर गम्भीर विरामी परेका शिक्षकलाई उपचार खर्च तथा मृत शिक्षकका परिवारलाई किरिया खर्च वापत सहायता प्रदान गर्न थालिएसंगै शिक्षकहरुले यो कार्यक्रम आफ्नो लागि भएको अनुभव गर्न थालेका छन् ।
कोषको सदस्य हुन सामुदायिक विद्यालयका शिक्षकहरुले दिनको एक रुपैयाँका दरले वर्षको ३६५ रुपैयाँ जम्मा गर्नुपर्छ । सोमबारमात्र कोषले ३ लाख ९२ हजार रुपैया गम्भीर प्रकृतिका स्वास्थ्य समस्या भएका शिक्षक तथा मृत्यु भएका शिक्षकको परिवारका सदस्यलाई सहायता प्रदान गरेको पोखरेलले बताए ।
शिक्षक महासंघमा आवद्ध विभिन्न पेशागत संगठनका प्रतिनिधि तथा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सदस्य रहने गरी गठित कोषले कोषको दुरुपयोग नहोस भन्नका लागि आवश्यक सबै सावधानी अपनाउने गरको शिक्षक पोखरेलले बताएका
छन् । पोखरेलका अनुसार हालसम्म कोेषले २५ लाख रुपैयाँ भन्दाबढी रकम सहायता वितरण गरिसकेको छ ।
कोषलाई देश व्यापि बनाउन आफ्नो प्रयत्न रहेको बताउने पोखरेल यसको स्वामित्व सरकारले लिएको खण्डमा शिक्षकको सामाजिक सुरक्षामा सहायोग पुग्ने र यसले शिक्षकहरुको आत्म सम्मान बढ्ने बताउँछन् । तर सानो रकमबाट सञ्चालन गर्न सकिने कोष स्थापना र सञ्चालनमा सरकारले चासो भने देखाएको छैन ।
कोषमा हाल तनहुँ जिल्लाका झण्डै २ हजार शिक्षक कोषमा आवद्ध छन् । जिल्लाका सबै शिक्षकहरुलाई कोषमा आवद्ध गराएर यसलाई अझ प्रभावकारी बनाउने तथा अन्य जिल्लामा पनि कोषको विस्तार गर्ने सोच अनुरुप प्रयत्नहरु भइरहेको तथा विभिन्न माध्यमबाट सरकारसम्म कुरा लैजाने प्रयत्न समेत जारी राखिएको पोखरेलले बताएका छन्
शिक्षकको सहयोगी बन्दै कल्याणकारी कोष
previous post