दमौली/२१ वर्ष अघि माओवादीले हत्या गरि दिएका शहीद सरस्वतीकृष्ण श्रेष्ठकी पत्नि पार्वती श्रेष्ठको ६१ वर्षको उमेरमा सोमबार निधन भएको छ । स्वर्गिय श्रेष्ठको बुधबार काठमाण्डौ आर्यघाटमा दाहसंस्कार गरिएको थियो । स्वर्गिय श्रेष्ठलाई जेष्ठ पुत्र भरतकृष्ण श्रेष्ठ र कान्छा ज्ञानेन्द्र श्रेष्ठले दागवत्ती दिएका थिए ।
स्वर्गिय श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली काँग्रेसका गोपालमान श्रेष्ठ, गोविन्दराज जोशी, रामचन्द्र पोख्रेल, ध्रुब वाग्ले समेतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका थिए । शहीद पुत्र भरतकृष्ण श्रेष्ठले दिएको जानकारी अनुसार २०७५ वैशाख ७ गते व्रेन ह्यामरेजबाट अचेत अवस्थामा रहेकी पार्वती श्रेष्ठको २०७६ जेष्ठ ६ गते साँझ ७ः२९ मा उपचारकै क्रममा नेपाल मेडीसिटी हस्पिटल काठमाडौंमा निधन भएको थियो । नेपाली काँग्रेस भएकै कारण ऋषिङ्ग गाउँपालिकाको अध्यक्ष भएकै बेला पति सरस्वतीकृष्ण श्रेष्ठको हत्या भएपछि सात भाई छोरा तीन वहिनि छोरी, नातीनातीनाका धनी पार्वती श्रेष्ठ मानसीक रुपमा अस्वस्थ भएकी थिइन् । पतिको हत्यापछि त्यसलाई विर्साउने भन्दा बल्झाउने पारिवारिक विवादले उनको व्रेन हेम्रेज भएको हुन सक्ने पारिवारिक स्रोतको अनुमान छ । आमाको निधन भएको खबर पाएपछि यूकेमा रहेका छोरा नगेन्द्र श्रेष्ठ मंगलबार ३ वजे नेपाल उत्रेका थिए । विदेशमै रहेका छोराहरु अन्तिम पटक आमाको स्वरुप हेर्न नेपाल आएका थिए । छोरा नआए सम्म पार्वती श्रेष्ठको पार्थिव शरीरलाई अस्पतालमै सुरक्षित राखिएको जेष्ठ पुत्र भरतकृष्ण श्रेष्ठले बताए । स्व.पावर्तीका भरत कृष्ण श्रेष्ठ सुरेन्द्र श्रेष्ठ,रविन्द्र श्रेष्ठ, नगेन्द्र श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, धर्मेन्द्र श्रेष्ठ र ज्ञानेन्द्र श्रेष्ठ गरी सात भाई छोरा छन् ।