एकतिसौं नगरसभाको समापन पछि गत बुधबार व्यास नगरको सभाकक्षकमा भएको भोजको भिडियो यतिबेला सबैको चासोको विषय बनेको छ । यो भिडियो सामाजिक सञ्जाल छ्यापछ्याती देख्न पाईन्छ भने सबैजसो टेलिभिजनको प्रमुख समाचार बनिसकेको छ । सामाजिक सञ्जाल, टेलिभिजन, पत्रपत्रिका र सामान्य भेटघाटमा हुने गफगाफमा समेत त्यो दृश्यको आलोचना गरेका भेटिन्छन् । नगर सभाको व्यानर समेत नहटाएर महँगा मदिरा र वियरको चुस्कीमा रमाउँदै आफ्ना प्रतिनिधि दोहोरी गीतमा नाँचेको दृश्यको परिकल्पना व्यास नगरवासीले गरेका थिएनन् ।
उता व्यास नगरपालिकाले शुक्रबार प्रेश विज्ञप्ती प्रकाशित गरी उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ । विज्ञप्तीमा सबैपक्षको सौहार्दपूर्ण वातावरणमा भएको जलपान कार्यक्रमलाई गलत ढंगले व्याख्या गरिएको उल्लेख गरिएको छ । साथै आफुहरुबाट भएको व्यवस्थापकिय कमजोरीलाई आगामी दिनहरुमा सुधार गर्दै लैजाने जनाएको छ ।
तर पत्रकार महासंघले भने मदिरा सहितको उक्त जलपान कार्यक्रममा पत्रकार समेत सहभागी थिए भन्ने आशय सहितको नगरपालिका विज्ञप्ती ेपछि विज्ञप्ती मार्फत जिल्लाका कुनै पनि पत्रकार मदिराजन्य जलपानमा सहभागी नभएको जनाएको छ । महासंघले नगरपालिकाको विज्ञप्तीमा उल्लेखित पत्रकारको आत्म सम्मानमा ठेस पुग्ने वाक्यांश सच्याउन माग गरेको छ ।
सामाजिक संञ्जाल र टीभीहरुमा देखाइएको भिडियोमा जे देखिएको छ, विकास निर्माणका काममा सहयात्री बन्ने कसम खाएर जनप्रतिनिधिमा निर्वाचित जो कोहीलाई सुहाउने काम भएको देखिँदैन । नगरिकको सेवा गर्न भनेर जाने अनि पहिलेको तुलनामा कयौंगुण बढी करको भार तिनै नागरिकलाई बोकाएर आफचाहीँ मदिरामा मस्त हुने हो भने जनप्रतिनिधि हुनुको गरिमा कहाँ रहन्छ र ? खासगरी राजनीति गर्ने मान्छेले क्षणिकतामा रमाउनु हुँदैन अझ त्यो पनि मदिराको । राजनीति भनेको त जनताको दीर्घ सेवा हो । तर जनप्रतिनिधिबाट यस्ता क्रियाकलाप हुने हो भने आम मानिसमा राजनीति प्रतिको विश्वास टुट्छ । जनविश्वास टुट्न जाँदा राजनीति मार्फत जनसेवा गर्छु भन्नेहरुकै भविष्य समाप्त हुने हो । तसर्थ हामीले गरेका समारात्मक कामको प्रचार भएन बरु एउटा सानो कमजोरीलाई गलत व्याख्या गरियो भन्नु भन्दा पनि असार २५ मा जे भयो त्यो भूल थियो भनेर आफुलाई सच्याउनुको विकल्प व्यासका जन प्रतिनिधिसंग छैन । निर्वाचनका समयमा भन्ने गरेका भगवान मतदातासंग क्षमा माग्दा कद होचो हुँदैन, बढ्छ ।