
एक व्यापारी मन्दिरमा रहेको भगवानको मूर्ति सामु उभिएर भन्यो, “भगवन मलाई व्यापारमा मनग्य फाईदा गराईदिनु होस् । म हजुरलाई प्रसस्त भेटी चढाउँछु ।” संयोगवश उसलाई व्यापारमा सोचेभन्दा बढी नै लाभ भयो । उ मन्दिर पुग्यो र मूर्तिसामु उभियो । तत्क्षण उसको मन बदलियो । ठान्यो, मलाई नाफा भगवानको कारण भएको होइन बरु मेरो आफ्नै मिहिनेतका कारण भएको हो । त्यसो भए भगवानलाई मेरो मिहिनेतको यत्रो अंश किन ? उसले आफू र मूर्तिका बिचमा एउटा रेखा को¥यो र भन्यो, “भगवन मसंग भएको सम्पूर्ण पैसा हजुरलाई चढाउँछु तर मैले भर्खर कोरेको रेखाबाट हजुरतिर आएको पैसा हजुरको म भएतिर आएको पैसा मेरो ।” उसले एकदुई सिक्का मूर्तितिर पर्ने र अरु सबै पैसा आफूतिर पर्ने गरी फाल्यो र ठूलो स्वरमा भन्यो, “धन्य भगवन । हे दयासागर हजुर कति कृपालु हुनुहुन्छ । मैले हजुरको नाममा श्रद्धा पूर्वक भेटी चढाएँ तर हजुरले थोरै मात्र आफूले राखेर बाँकी मलाई नै दिनु भयो ।”
दर्शन गर्न र भेटी चढाउन पालोमा बसेको अर्काे व्यापारी भक्तले यो सबै देखि रहेको थियो । उसले भगवानको मूर्ति अगाडि उभिँदै भन्यो, “भगवन म, हजुर र मेरोबिचमा कुनै रेखा कोर्न चाहन्न । हजुर माथि बस्नु हुन्छ, स्वर्गमा र म यहाँ तल पातालमा । मसंग भएको सम्पूर्ण पैसा हजुरलाई चढाउँछु । माथि आएको सबै हजुरलाई तल झरेको मात्रै म लिउँला ।” र उसले सबै पैसा आकाशमा फाल्यो ।
युट्युवमा यो कथा सुनिसक्दा दुवै भक्त व्यापारीको ठाउँमा मैले हाम्रा नेताहरुलाई पाएँ । हामीले देख्दा धुँवा यदाकता सेतो देखिन्छ तर उसभित्र कालो अवश्य हुन्छ । मलाई लाग्छ, हाम्रा नेताहरु त्यही सेतो धुँवा जस्ता छन्, बाहिरी स्वरुपमा जनताका हितकारी, साँच्चैका सेवक तर भित्रबाट बुझ्दा “म खाऊँ मै लाऊँ, सुख–सयल वा मोज म गरूँ, म बाचुँ मै नाचुँ, अरू सब मरून् दुर्बलहरू” स्वभावका ।
नेताहरु निर्वाचनका बेला वा अन्य कुनै सभा समारोहमा भन्ने गर्छन्, नागरिक भनेका हाम्रा देवता सरह हुन् । हामी अहिले जनु स्थानमा छौं, त्यो सबै नागरिककै कारण भएको हो । र हामी नागरिकको हितका लागि रात दिन खटिन्छौं । नागरिक हित बाहेक हाम्रो कुनै चाह छैन । हाम्रो सपना भनेपनि हाम्रो तिर्खा भनेपनि, हाम्रो आकांक्षा भनेपनि नागरिक हित हो । त्योभन्दा पर हाम्रा कुनै आकांक्षा छैनन् । तर के निर्वाचनमा मत बटुल्न वा अरु कुनै सभा समारोहमा भने जस्तै नेताहरु नागरिकको हितमा निरन्तर लािग पर्छन् त ? उनीहरुका अकांक्षा, सपना, तिर्खा सबै नागरिक हित हो जस्तो देखिन्छ ? तीन करोड नेपालीको मुखबाट एउटै जवाफ आउँछ , होइन्, हाम्रा नेताहरू माथिको कथामा उल्लेख गरिएका भक्त व्यापारी जस्तै छन् । कोही पहिलो जस्ता, थोरै भएपनि नागरिक हितको पक्षमा काम गर्ने अनि कोही दास्रो भक्त व्यापारी जसता सबै आफैलाई चाहिने ।
पद प्राप्त नहुँदासम्म नागरिकलाई दुर्गा, सरस्वती, शिव, कृष्ण, राम, जिसस वा अल्लाह मान्न तयार । तर जब तिनीहरुलाई सोपान बनाएर माथिल्लो पदमा पुग्छन् वा पद प्राप्त हुन्छ, उनीहरुलाई नागरिक कोही होइनन् भन्ने लाग्छ । दुर्गा, सरस्वती, शिव, ब्रम्हा, कृष्ण, राम, जिसस वा अल्लाह, सबै विर्सन्छन् । आफुले व्यक्त गरेका प्रतिवद्धताहरु विर्सन्छन् । नागरिक आकांक्षा पूर्ति अव उनीहरुको चासोको विषय हुँदैन । सपनाहरु फेरिन्छन् । आकांक्षा बदलिन्छन् ।
नेताहरुलाई लाग्छ, म यो पदमा पुगेको वा मैले यो पद प्राप्त गरेको त मेरै संघर्षले, मेरै मेहनतले हो । अनि सुरु हुन्छ, विपक्षीहरुसंग वैचारिक र आवश्यक परे शारीरिक लडाइँ समेत लड्दै आफुलाई माथिल्लो पदमा लैजान आम कार्यकर्ताले गरेको मेहनतको अवमूल्यन । लाभका पदमा छोरा–बुहारी, छोरी–ज्वार्इँ, भाइ, भतिजा, साला– साली, जेठान वा अन्य कुनै आफन्तको नियुक्ति । स्वस्थानीको कथामा ब्रतालुले प्रसाद बनाएका एकसय आठ रोटी मध्ये आठ रोटी लोग्नेलाई दिने लोग्ने नभए, छोरा, छोरा नभए, मित छोरालाई दिने त्यो पनि नभए नदीमा बगाउने कुरा यहाँ सुरु हुन्छ । त्यतिबेला सामूहिक समुन्नतिको आशामा तातो घाम नभनेर , , घरको काम नभनेर लाइनमा उभिई आफुलाई मतदान गर्ने कुनै नागरिकको याद नेताहरुलाई आउँदैन । प्राप्त अवसरहरुको उपयोग आफु र आफन्तले मात्र गर्ने हो भन्ने लाग्छ । ति अवसरहरु सबै आफ्नै पेवा हुन भन्ने भान हुन्छ ।
ताजा र नजिकैको उदाहरणबाट हाम्रा नेताहरु कति स्वार्थी र परिवारको घेराभन्दा बाहिर जान नसक्ने स्वभावका छन् भन्ने कुराको चित्र प्रस्तुत गर्न चाहन्छु । केही समय अगाडी तनहुँकै घिरिङ गाउँपालिकाका अध्यक्षले आफ्नो छोरालाई स्वकीय सचिवमा नियुक्त गरे । आम समुदायमा प्रश्न उठ्यो, घिरिङ गापा भरीमा के अध्यक्षका छोरा मात्रै थिए, उनको स्वकिय सचिव हुन योग्य ? मासिक नियमित कमाइको आवश्यकता भएका र उनलाई अध्यक्ष बनाउन अहोरात्र खटेका अरु कोही थिएनन् ? अवश्य थिए । तर उनले नेताको जात जनाए र आफ्नै छोरालाई स्वकीय सचिवमा नियुक्त गरे । शायद भक्त व्यापारीको कथा उनले पढेका थिए र त्यसको अनुशरण गरे ।
अलि अगाडिको घटनाक्रमलाई सम्झौं । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नी छोरी सुजाता कोइरालालाई बारम्बार विना विभागीय मन्त्री र पछि परराष्ट्र मन्त्री बनाए । सुजाताले भन्दा धेरै पार्टी र देशका लागि योगदान गरेका मानिस कांग्रेसमा प्रसस्त थिए । आफुलाई सबैभन्दा बढी लोकतान्त्रिक भन्न रुचाउने पुष्पकमल दाहालका कुरा गरौं । दाहाललाई प्रधानमन्त्रीको कुर्सीसम्म लैजान हजारौं दलित र जनजातिले संघर्ष गरे । बलिदान दिए । तर पद पाउने बेलामा दाहालले छोरीलाई स्वकीय सचिव बनाए, एउटी छोरी नगर प्रमुख छन् , ज्वाईँ सरकारी सुविधा पाउने भित्र पर्छन भने भाइ राष्ट्रिय सभाका अध्यक्ष छन् । उता संघर्ष गर्नेहरुले क्षतिपूर्ति बापत पाएको सानो रकमको चेक खोसियो ।
वर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्माले आफ्नो सालोलाई विद्युत प्राँधिकरणको कार्यकारी निर्देशक बनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो छोरा जयवीर देउवाको व्यापार फस्टाउन नेपाली सेनेटरी प्याड उत्पादक कम्पनीलाई टाट पल्टिने अवस्थामा धकेले । यी सबै देख्दा भन्न मन लागेको छ, हाम्रा नेता र कथाका भक्त व्यापारीमा कुनै भिन्नता छैन ।