दमौली /नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजनामा कौराहाको उद्गम थलो ऋषिङमा दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन हुने भएको छ ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपाल र नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँको सह–आयोजना संगै नेपाल मगर सांस्कृतिक संघ गण्डकी प्रदेश, नेपाल मगर संघ तनहुँ–काठमाण्डौ सम्पर्क समिति र नेपाल मगर सांस्कृतिक संघ जिल्ला कार्यसमिति तनहुँको व्यवस्थानमा सम्मेलन आयोजना गर्न लागिएको शनिबार दमौलीमा अयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक पदम थापा मगरले मगर समुदायभित्र प्रचलित विभिन्न मौलिक नृत्यहरू मध्ये कौराहा नृत्य एक अत्यन्त महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको बताए । संयोजक मगरले समयको परिवर्तनसँगै यस्ता मौलिक संस्कृतिहरू लोप हुने खतरा बढ्दै गएको सन्दर्भमा कौराहा नृत्यको संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण अत्यन्त आवश्यक देखिएकोले उक्त सम्मेलन गर्न लागिएको बताए ।
२०८३ वैशाख ४ र ५ गते ऋषिङ–१, झापुटारमा आयोजना हुने सम्मेलनमा तनहुँ, कास्की, चितवन, पाल्पा, नवलपुर लगाएत देशभरका ३० समूह सहभागी हुने अपेक्षा गरिएको बताउँदै कार्यक्रमका अतिथी सिद्धान्त थापामगरले मगर समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने,
कौराहा सम्बन्धी अध्ययन, अनुसन्धान तथा अनुभव आदान–प्रदान गर्ने अवसर सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए । सहभागी सबै समूहले मौलिक कौराहामात्र प्रस्तुत गर्ने उल्लेख गर्दै थापाले नयाँ पुस्तालाई आफ्नै संस्कृति प्रति जागरूक बनाउन सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे । थापाले कार्यक्रमको उद्घाटन नै कौराहा गाएर/नाचेर गरिने बताए ।
विज्ञ समितिका संयोजक एवं स्थानीय बुद्धिजिवी यामबहादुर आलेले कौराहाको मौलिकता जोगाउनु सम्मेलनको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै कौराहालाई विश्वव्यापि बनाउन र स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । मगर समुदायको रगत र मुटुमा कौराहा रहेको उल्लेख गर्दै आलले मौलिक कोराहाको दस्तावेजिकरण गर्दै अगाडि बढ्ने बताए ।
२२ जनाभन्दा बढी मगर विज्ञ मार्फत कार्यपत्र प्रस्तुत गरिने कार्यक्रममा कोराका विषयमा जिज्ञासा रहेका सहभागीले विज्ञहरुसंग दोहोरो संवाद गर्ने व्यवस्था समेत रहेको आयोजकले बताएको छ ।
नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिका अध्यक्ष नन्द घर्ती मगरको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल मगर संघ तनहँका अध्यक्ष हर्कबहादुर थापा मगरले स्वागत गरेका थिए ।
पहिलो राष्ट्रिय मौलिक कौराहा सम्मेलन तनहुँको दमौलीमा २०७३ जेठ १४ र १५ गते सम्पन्न थियो ।
