कोरोनाको कहरबीच व्यास नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले सरकारले तोकेको ढाँचामा असोज ११ बाट वैकल्पिक सिकाइ क्रियाकलाप प्रारम्भ गरेका छन् । सरकारले वैकल्पिक सिकाइ क्रियाकलाप सञ्चालनका लागि विभिन्न विकल्पहरु दिएको थियो । ति विकल्पहरु मध्ये व्यास नगरका अधिकांश विद्यालयहरुले आवश्यक स्वास्थ्य सावधानी अपनाएर विद्यालयलाई नै सिकाइ केन्द्र मान्दै सिकाइ क्रियाकलाप प्रारम्भ गरेका पाईएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको सामूहिक छलफलाबाट भएको यो निर्णयमा परिपक्वताको अपेक्षा गर्न सकिन्छ । तर शैक्षिक शत्र खेर जान नदिने भन्दै आशंका र डरका बीच प्रारम्भ भएको वैकल्पिक सिकाइ क्रियाकलापले आम मानिसलाई कोरोनाको थप जोखिममा धेकेल्ने त होइन भन्ने डर भने बढेको छ ।
दिनहुँ संक्रमित थपिइ रहँदा विद्यार्थी, अभिभावक र शिक्षकमा पनि आफु र आफ्नो परिवारको सदस्य संक्रमित हुने हो कि भन्ने डर बढेको छ । लामो तथा छोटो दुरीका यातायातका साधनहरु सञ्चालन भएका र कतिपय शिक्षक तथा विद्यार्थीहरु विद्यालय आउँदा–जाँदा ति सधानहरु प्रयोग गर्ने गरेका कारण पनि संक्रमणको डर थपिएको हो । सरकारले जे निर्देश गरेपनि सडकमा गुड्ने गरेका यातायातका साधनमा आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइएको छैन । न स्यानीटाइजर, न मास्क, न आवश्यक भौतिक दूरी । यसले संक्रमणको डरलाई बढाएको छ । त्यसो त विद्यालयहरुमा पनि ति समस्या छन् ।
समस्या छन् तर त्यसबाट भागेर समाधान निस्कँदैन भनेर नै आवश्यक सावधानी अपनाएर वैकल्पिक सिकाइ क्रियाकलाप सञ्चालनको निर्णय विद्यालयहरुले लिएका हुन् । तर अहिले कोरोनाबाट बच्न जनु सावधानीहरु शिक्षालयहरुले अपनाईरहेका छन्, त्यो पर्याप्त नहुन सक्छ । यदि कुनै एक मात्र विद्यार्थीमा दुःर्भाग्यवश संक्रमण देखिएमा त्यसले भयावह स्थिती निम्त्याउन सक्छ । त्यसैले विद्यालयहरुले आफुले अपनाएका स्वास्थ्य सावधानीका उपायहरुको समिक्षा गर्दै थप सावधानी अपनाउनु पर्ने देखिएमा त्यसका लागि पनि तयार रहनु पर्छ । शैक्षिक सत्र खेर जान नदिने कुरामा व्यास नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय र शिक्षकहरुले देखाएको तत्परता प्रशंसनिय छ । तर सावधानी अपनाउने कुरामा हुने सानो भुलको नतिजा अकल्पनिय हुनसक्ने तर्फ पनि सचेत हुनु भने जरुरी छ । आवश्यक सबै प्रकारका सावधानी अपनाउँदै र सजगता पूर्वक सिकाइ क्रियाकलाप सञ्चानल गरेर असमान्य अवस्था आउन नदिने कुरामा सचेत रहन् सबैमा आग्रह ।