सन् २०१९ डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक देखापरेको कोरोना भाइरसले यतिबेला विश्वलाई आतंकित पारेको छ । नेपाल अपडेटले दिएको जानकारीमा कोरोना भाईरसबाट विश्वका १९५ राष्ट्र प्रभावित भएका छन् । बुधबारसम्मको विश्व तथ्याङ्क अनुसार कोरोनाबाट तीन लाख ७५ हजार चार सय ९८ जना प्रभावित भएका छन् भने १६ हजार तीन सय ६२ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा कोरोना कोभिड–१९ को संक्रमण तीन जनामा देखा परेको छ । एक जना पुरा उपचार भै पुरानै अवस्थामा फर्केको र दुई जनालाई आईसोलेशनमा राखेको बताईएको छ । नेपाल अपडेट अनुसार हालसम्म नेपालमा छ सय ८७ जनाको नमूना परिक्षण गरिएको छ । छ सय ८४ जनामा कोरोनाको कुनै लक्षण भेटिएन । तीन जनामा मात्र कोरोनाको लक्षण भेटिएको नेपाल अपडेटले जनाएको छ ।
कोरोना भाईरसबाट बच्नका लागि नेपाल सरकारले देशवासीलाई उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ । २०७६ बैशाख ११ गतेबाट देशभर लकडाउनको अवस्था घोषणा गरी जो जहाँ छ त्यही रहन आव्हान गरेको छ । नेपाल सरकारले २०७६ चैत्र ९ गतेबाट सरकारी कार्यालय, शिक्षण संस्थाहरु बन्द गरेर सेल्फ आईसोलेशनमा बस्न अनुरोध गरेको छ । विश्वलाई आतंंकित बनाउने कोरोना भाईरसबाट बच्न बचाउन पालिकास्तरमा पनि सचेतता अपनाईएको छ । आफ्नो क्षमताले भ्याएसम्म आईसोलेशनमा राख्ने स्थान पहिचान गराएको छ । सावुन पानीले हात धुने सहज व्यवस्था उपलब्ध गराएर घरघरमा कुनै कसैलाई छोएपछि हात धुन सचेतना फैलाएको छ ।
व्यास नगरपालिकाले पनि क्रियापुत्री भवनलाई आईसोलेशन स्थान पहिचान गराएको छ । त्यसैगरी सबै पालिकाहरुले गराएको जनचेतनाले गाउँ गाउँ टोलटोलमा कोरोना भाईरसबाट बच्ने र बचाउने अभियान चलाई सतर्कता अपनाइएको छ ।
आमनागरिकले पनि आफ्नो र आफ्ना आश्रितको बचाउका लागि उच्च सर्तकता अपनाउनु जरुरी छ । भिडभाडमा जानु हुँदैन । समुदायको सहभागितामा मात्रै राष्ट्रिय संक्रमणबाट देशलाई बचाउन सफलता हासिल गर्न सकिन्छ । कसैमा लक्षणहरु देखिएमा नलुकाई छिटो उपचारको लागि सम्पर्कमा पुग्न सक्यौ भने आफू बच्नुको साथै अरु धेरैलाई संक्रमणबाट बचाउन सकिन्छ । त्यसको लागि नेपाल टेलिकम र एनसेलको टोलफ्रि नं. १११५ मा कल गरी आफू र आफ्नो परिवार साथै गाउँ समाज र राष्ट्रलाई कोभिड–१९ को संक्रमणबाट बचाउँ ।
विश्व आतंकित पार्ने संक्रमण-सम्पादकीय
previous post