काँग्रेसमा आफू बैधानिक भएको दुबैधारको दावी
दमौली/नेपाली काँग्रेस तनहुँको विशेष अधिवेशन मंगलबार दमौलीमा सम्पन्न भएको छ । विशेष अधिवेशन संगसंगै वैधानिकताको प्रश्न उठेको छ । अविश्वासको प्रस्तावबाट विद्यमान नेपाली काँग्रेस नेतृत्व विघटन गरेको घोषणा गरी अबको नेतृत्व आफूले गर्ने विशेष अधिवेशन आयोजक समितिले दावी लिएको छ । अर्को तर्फ विशेष अधिवेशनको वैधानिकताको प्रश्न उठाएको पक्षले अवैधानिक विशेष अधिवेशनले गरेको विघटन पनि अवैधानिक नै भएको जिकिर गरेको छ । यसको निर्णय भने अब नेपाली काँग्रेस केन्द्रिय समितिले गर्नुपर्ने अवस्था आएको जानकारहरु बताउँछन् ।
विशेष अधिवेशनबाट नयाँ नेतृत्व लिएको पक्षले बुधबार बैठक बसी पदाधिकारी र सदस्यहरुको मनोनयन गर्नुका साथै प्रबक्ता समेत चयन गरेको छ । कार्य समितिको बुधबार बसेको बैठकले उप सभापतिमा शुकुमलाल गुरुङ, सचिवमा परमेश्वर भट्टराई र सह सचिवमा केशरबहादुर गुरुङलाई मनोनयन गरेको हो । बैठकले नेपाली कांग्रेसको विगतको कार्य समितिमा रहेका नेताहरु कृष्णप्रसाद गौतम, उदयराज गौली, किसान गुरुङ र उत्तमप्रसाद लोहोनीलाई यथावत राख्दै थप मनोनयन गरेको सचिव एवं प्रवक्ता चिनु पोख्रलले जानकारी दिइन् ।
मनोनित सदस्यहरुमा गोपीबहादुर गुरुङ, परशुराम गिरी, प्रेमबहादुर बानियाँ, हरिशरण पण्डित, प्रेमप्रसाद लालचन, कुलबहादुर थापा, कृष्णराज हमाल, सोलबहादुर चितौरे, रामदेव पन्थ, इन्कन खनाल, नरनाथ काफ्ले, कृष्णप्रसाद भट्टराई, निलकण्ठ सिग्देल र प्रदीप पौडेल छन् । बैठकले लगातार तीन पटक अनुपस्थित हुने सदस्यलाई त्यसपछि बैठकमा आमन्त्रण नगर्ने निर्णय समेत गरेको छ । पार्टी पूर्व सहमहामन्त्री गोविन्द राज जोशीको विशेष उपस्थितीमा बैठक बसेको थियो ।
यस अघिनै विशेष अधिवेशनबाट सभापति डिल्लीराम अधिकारी सचिव चिनु पोख्रेल कोषाध्यक्ष बालकृष्ण पौडेल सर्वसम्मत निर्वाचित हुनभएको थियो । सदस्यहरुमा बालकुमारी लोहोनी, ध्रुबकुमार श्रेष्ठ, नुरचन्द्र वाग्ले, ऋषिराम पोख्रेल, सुकुमलाल गुरुङ्ग, ओमबहादुर नेपाली, केशरबहादुर गुरुङ्ग, नरेन्द्र थापालाई विशेष अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको थियो ।