अप्सरा भट्टराई
राम्जाकोट/निर्वाचनका बेला मतदातासँग गरेको वाचा अनुरुप आफु समाजमा हुने सबै खाले विभेदको अन्त्य गर्न लागि परेको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताएका छन् । विभेद अन्त्यगरी समतामूलक समाज निर्माण गर्ने आफ्नो अभियानमा सहयोग गर्न समेत अध्यक्ष श्रष्ठले पालिका वासीलाई अनुरोध गरेका छन् ।
ऋषिङ गाउँपालिका कार्यालयले पालिकालाई जातिय विभेद र छुवाछुत मुक्त बनाउने अभियानको क्रममा बडा नं ५ राम्जाकोटमा सोमवार आयोजित सुझाव संकलन कार्यक्रममा बोल्दै अध्यक्ष श्रष्ठले सबैको सकारात्मक साथ र सहयोगले अभियान सफल हुने विश्वास व्यक्त गरे । निर्वाचनका बेला सम्पन्न घरदैलोका बेला मतदाताबाट प्राप्त सुझाव स्मरण गर्दै अध्यक्ष श्रेष्ठले समाजका सबै वर्ग र समुदायको हित र अधिकार रक्षार्थ आफु सधै लागि रहने
बताए ।

पालिकालाई छुवाछुत मुक्त गाउँ पालिका निर्माण गर्ने घोषणा सहित विभिन्न वडामा वडा स्तरीय सचेतना कार्यक्रम गरिएको वडा नं ५ का अध्यक्ष बुद्धिमान रानाले बताए । वडाध्यक्ष रानाका अनुसार सचेतना कार्यक्रमका क्रममा प्राप्त सुझाव समेट्दै जनभावना अनुकूल कार्यक्रमहरु गरिने छन् ।
कार्यक्रममा सहभागीहरुले पालिकाले थालेको सकारात्मका काममा आफुहरुको साथ र सहयोग रहने बताएको वडाध्यक्ष रानाले जानकारी दिए ।