व्यास नगरपालिका वडा नं १२ का वडाध्यक्ष बमबहादुर आले सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षा संस्थागत विद्यालयले प्रदान गर्ने शिक्षाभन्दा अब्बल रहेको बताउँछन् । अघिल्लो कार्यकाल सोही वडा सदस्य रहेर जनताका प्रतिनिधिको रुपमा काम गरेको अनुभव संगालेका आले आफुले निर्वाचनका बेला असम्भव आश्वासन नदिएको बताउँछन् । वडाध्यक्ष आलेसंग सह–सम्पादक रमेश विकल र छविदीप आलेले विकास निर्माण लगाएत विषयमा गरेको कुराकानी :
वडाध्यक्षमा निर्वाचित हुन भएको यहाँलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । वडाध्यक्षका रुपमा साढे दुइ महिनाको अनुभव कस्तो रह्यो ?
आलेः केही पुराना कामहरु बाँकी थिए भने केही नयाँ कामहरु थालनी गर्नु पर्ने थियो । यो वीचमा टोल टोलमा गएर योजना छनौटका लागि आग्रह गर्ने, छनौट भएर आएका योजनाको प्राथमिकिकरण गर्ने लगाएतका कामहरु गरियो । विकास निर्माणका कामहरु पर्याप्त गर्न भ्याइने समय भैसकेको छैन । तर पृथ्वी राजमार्गसंग वडा कार्यालयलाई जोडने दुइवटा बाटाहरु मध्ये कमलबारीबाट वडा कार्यालय आउने बाटोको अवस्था खराब रहेकोले उक्त बाटोमा ग्राबेल हाल्ने काम सम्पन्न गरेका छौं । वडा सदस्यको रुपमा अघिल्लो कार्यकालको अनुभवबाट सिक्दै काम गर्दे जाने प्रयत्नमा छु ।
वडाध्यक्षका रुपमा काम गर्दा र बाहिर बसेर काम गर्दाको फरक के हुने रहेछ ?
आलेः जनप्रतिनिधी भैसकेपछिका केही सिमाहरु हुने रहेछन् । आम मतदाताको अपेक्षा हामीसंग हुने रहेछ । जनआकांक्षाको पूर्ण सम्बोधन सम्भव नहुने भएकाले बाहिर बसेर यो भएन उ भएन भने जस्तो सजिलो नहुने अनुभव भइरहेको छ ।
यस अघिनै कालोपत्रै भैसक्ने भनिएको कमलबारीबाट वडा कार्यालय जोड्ने बाटो कहिलेसम्म पूरै कालोपत्रे हुन्छ ?
आलेः कमलबारीबाट वडा कार्यालयसम्मको यो बाटो जम्मा २.८ किमी छ । कमलबारीबाट कालोपत्रे सुरु भएर अहिले झण्डै आठसय मिटर कालोपत्रे भैसकेको अवस्था छ । कालोपत्रेको काम ठूलो बजेटको हुन्छ । वडामा उपलब्ध बजेटले यो गर्न सम्भव देखिएको छैन । हामीले यस अघि र अहिले पनि प्रदेश र संघीय सरकारसंग यस विषयमा कुरा गरेका हौं । तर अपेक्षा अनुसार सहयोग प्राप्त भएको छैन । नगरपालिकाले ४० लाख उपलब्ध गराउने भएको छ । त्यो रकमबाट थप कालोपत्रे गर्ने काम हुन्छ र यो बाटोलाई छिटोभन्दा छिटो कालोपत्रे गर्ने मेरो प्रयत्न रहन्छ ।
सामुदायिक विद्यालयका प्रति आम अभिभावकको विश्वास घटेको छ । सामुदायिक विद्यालयहरुको सवलिकरण गर्दै अभिभावकको विश्वास जित्न यहाँको वडाले कस्ता प्रयत्नहरु गर्दैछ ?
आलेः सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षा र निजी विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तरमा फरक भएको जस्तो मलाई लाग्दैन । खाली अभिभावकले निजी विद्यालयको गाडिले बच्चा ल्याउने लैजाने गर्ने तथा अंग्रेजी माध्यममा पढाई हुने भएकाले भर्ना गर्न लानु भएको जस्तो लाग्छ । हामी आफैले ६ वर्ष अघि व्यास १२ स्थित सामुदायिक बीपी प्राविका विद्यार्थी र एक निजी विद्यालयका विद्यार्थीबीच गरको तुलनात्मक अध्ययनले सामुदायिक विद्यालयको गुणस्तर राम्रो भएको देखाएको थियो । जहाँसम्म भौतिक निर्माण तथा विद्यालय सवलिकरणको सन्दर्भ छ, हामीसंग ठूलो रकम नुहने भएकाले ठूला भौतिक निर्माणका काम हामीबाट हुन सक्दैन । विद्यालयहरुका लागि अत्यावश्यक योजना छन् भने हामीले सिफारिस गरेर नपा वा अन्य सम्बन्धित निकायमा पठाउन र निर्माणका काम गर्न आग्रह गर्न सक्छौं । विद्यालयको समग्र पक्षको विकासमा हाम्रो पर्याप्त ध्यान नपुगेको हुनपनि सक्छ । तर शिक्षाको गुणस्तर सुधारमा मेरो सधैं प्रयत्न रहन्छ ।
वडाबाट प्रदान गरिने सेवामा लाग्ने शुल्क महंगो भयो भन्ने आम जनगुनासो छ, यसको सम्बोधन कसरी गर्नुहुन्छ ?
आलेः आम मानिसहरुलाई वडाले प्रदान गर्ने सेवाको शुल्क महंगो भएको लाग्न सक्छ । तर यो हाम्रो वडामा मात्र होईन । यस सम्बन्धी निर्णय नगरपालिका बाटै भएर आउँछ र व्यासका १४ वटै वडामा करको दर वा सेवा शुल्कको दर एउटै हो । यदी सबैलाई यो महंगो भयो भन्ने लागेको भए हामीले जनताको आवाजलाई नगरपालिकासम्म पु¥याएर समाधानको उपायहरु खोजी गर्न सक्छौं । तर कर तथा सेवाशुल्कका दरहरुमा हेरफेर गर्ने अधिकार हामीलाई छैन ।
जनप्रतिनिधिहरु निर्वाचित भएर गएसंगै हामी कहाँ आउँदैनन्, निर्वाचनका बेलामात्र आउँछन् भन्ने गुनासाहरु सुन्न पाईन्छन् । वडाध्यक्ष तथा सदस्यहरु र पालिका प्रमुख तथा उपप्रमुख समेत गाउँ टोलमा पुगेर नागरिकका गुनास सुन्ने र समाधानका बाटाहरु बताउने खालका कुनै कार्यक्रम छन् ?
आलेः अवश्य पनि निर्वाचनका बेला हामी स्थानीयका घरघरमा गएर आफ्ना लागी मत माग्यौं । त्यसपछि पनि समय मिलाएर भेटघाट गर्ने, समस्या सुन्ने र समाधानका उपाय बताउने गरिरहेका छौं । उहाँहरुकै मागका आधारमा योजना छनौट गरेर नगर सभामा पेश गरिएको छ र रातो किताब आएसंगै स्वीकृत योजनाको बारेमा जानकारी हुन आउँछ । त्यसपछि योजना कार्यान्वयन गर्ने सन्दर्भमा हामी वडाध्यक्ष र सदस्यहरु गाउँ टोलमा पुगेर योजना कार्यान्वयनमा सघाउने छौं । गर्न नसकिने वा गर्ने सम्भावना नभएका काम गर्छु भनेर मैले मत मागेको छैन । र कार्यान्वयनमा गएका योजनामा कुनै चुहावट नहोस्, गुणस्तरिय निर्माण होस् भन्ने कुरामा म सचेतता पूर्वक लागि पर्नेछु । पछिल्लो समय वडाले कार्यक्रम तर गरेको आधारमा पालिका प्रमुख र उपप्रमुख समेत मतदातासमक्ष पुग्ने भन्ने निर्णय नगरपालिकाले गरेको छ । हामी उहाँहरुको साथमै छौं र समय मिलाएर अवश्य उहाँहरुको गाउँ टोलमा जाने छौं ।
वैदेशिक रोजगारीलाई रोक्ने रोजगारी सिर्जना गर्ने र महिलाहरुलाई आय आर्जनमा सघाउने खालका कार्यक्रमहरु केही छन् ?
आलेः व्यास नपासंगको सहकार्यमा यहाँका चौधवटै वडामा हेफर नेपालको ठूला तथा साना किसानलाई सहयोग गर्ने खालको कार्यक्रम आएको छ र त्यसले रोजगारी सिर्जना र आय आर्जनमा पुग्ने आशा गर्न सकिन्छ । यसै वडाका कृष्ण कैनी तथा हुमबहादुर पाटालाई तरकारी खेतीका लागि हामीले सहयोग गरेका छौं । यसैगरी टनेल निर्माण गरी वेमौसमी तरकारी खेती गर्न चाहने कृषकहरुलाई पनि वडाको तर्फबाट सहयोग प्रदान गरेका छौं । वडाका महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरेर स्वावलम्बी बनाउने तथा अर्थाेपार्जनमा सघाउने खालका कार्यक्रमहरु पनि आउने छन् ।
वडाबासीलाई स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउने सन्दर्भमा वडाका योजनाहरु के के छन् ?
आलेः हामी कहाँ उपलब्ध पानीको श्रोतहरुमा चुना रहेकोले नियमित आपुर्तिमा समस्या आउने गरेको
छ । चुना हटाउने तथा पानीमा रहेका अन्य अखाद्य तत्व हटाएर शुद्ध पिउने पानी नागरिकलाई उपलब्ध गराउने कुरामा हामी प्रतिवद्ध छौं । चुना हटाउने प्रविधिको प्रयोगका सन्दर्भमा कुरा भइरहेको छ । आशा गरौं छिट्टै यहाँका बासिन्दाले शुद्ध र पर्याप्त पानी पाउनु हुनेछ ।
यहाँका पर्यटकिय स्थलको खोजी विकास र प्रचार प्रसार वडाको प्राथमिकतामा छ ?
आलेः कोटकालिका मन्दिर तथा अशोक गुफा लगाएतका पर्यटकिय स्थलको विकास र प्रवद्र्धन हाम्रो प्राथमिकतामा छन् । कोटकालिका मन्दिर परिसर दृष्यावलोकनका दृष्टिले पनि निकै आकर्षक छ । यो मन्दिर बनाउने तथा अन्य पूर्वाधार निर्माणको काम क्रमागत योजनामा राखेर भइरहेको छ । अशोक गुफासम्म जाने बाटो निर्माण भएको छ भने अन्य केही पूर्वाधार निर्माण भएका छन् । तर स्थानीयको चासो कम भएका कारण आवश्यक प्रचार प्रसार भने हुन सकेको छैन ।
छिर्कनेबाट वडा कार्यालय जोडने मार्गको अवस्था के छ ?
आलेः यो मार्गको पनि केही भाग कालापत्रे भैसकेको छ । अहिले मेरो जानकारी रहेसम्म यो मार्गलाई छिर्कनेबाट वडा कार्यालय हुँदै छाब्दी हुँदै केशवटार हुदै कुलुङ र सुखौरा संग जोडने गरी विस्तार गर्ने र यसमा विश्व बैकको सहयोग रहेने भएको छ । अन्य प्रक्रिया पुरा भएर टेण्डर प्रक्रियामा गएको भन्ने सुनिएको छ ।
वडा.नं १२ का आम मतदाताका लागि यहाँको सन्देश के छ ?
आलेः सबैभन्दा पहिले त मलाई वडाध्यक्षमा निर्वाचित गर्नुहुने सबै मतदातामा हार्दिक कृतज्ञता प्रकट गर्दछु । वडा नं १२ वासी सबैको साझा प्रतिनिधिका रुपमा निर्वाचनका बेला मतदातासंग जनाएका प्रतिवद्धता पूरा गर्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । मेरा प्रति जुन आशा र विश्वास उहाँहरुले प्रकट गर्नु भएको छ, त्यो भरोषा र विश्वासलाई मर्न नदिने गरी काम गर्नेछु भन्ने सन्देश तनहुँ आवाज साप्ताहिक मार्फत पु¥याउन चाहन्छु ।