लौह पुरुष अर्थात नेपाली कांग्रेसका नेता गणेशमान सिंह २०४६ को जनआन्दोलनका कमाण्डर थिए । वि.सं. १९७२ साल कार्तिक २४ गते काठमाण्डौमा जन्मेका उनले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । ज्ञानमान सिंह र सुभद्रा कुमारीको कोखमा जन्मेका उनी नेपाली राजनीतिमा फादर अफ डेमोक्रोसी तथा सर्वमान्य नेताका नामले समेत परिचित छन् । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँग भारत प्रवासमा चिनजान र राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई जीवनका पछिल्ला दिनहरुसम्म नेतृत्व दिन उनी सफल भए । यद्यपि २०५४ आसोज २ मा मृत्युवरण गर्दा उनी नेपाली कांग्रेसको साधारण सदस्य समेत रहेका थिएनन् । यसका थुप्रै कारणहरु होलान तर २०४६ सालको जनआन्दोलनलाई सफलतामा टुङ्ग्याउन उनले खेलेको भूमिकाको सदा स्मरण गरिने छ, नेपाली प्रजातान्त्रिक आन्दोलनमा । गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदाक्रियाशिल रहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका विरुद्ध सक्रिय रहे ।
बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए। १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका धनी सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो । राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत विरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए । युग नेताको जन्मजयन्तीको अवसरमा उनको सम्झना र श्रद्धान्जली ।
लौह पुरुषको सम्झना
previous post