नेपाली पन जोखियो बिगतमा संसारले जान्दछ
पुर्खा वीर थिए अपार बलका संसारले मान्दछ।
कैयौँ देश थिए पराधिन हिजो हामी थियौँ निर्भय
केभो आज कठै रुदै छ मन यो बन्दै गयौँ काँतर।
यौटा पुस्तक लेखियो दशकमै थोत्रो र झुत्रो अरे
अर्को पुस्तक लेखियो र भनियो उत्कृष्टमा यो छरे।
खासै मिल्न सक्यो र के मुलुकमा उस्तै छ यो जर्जर
थोत्रो सोच बिचार फेर्न नसके लेखेर के हुन्छ र?
सामन्ती जग हल्लियो सहिदले त्यागेर त्यो जीवन
कोरे मार्ग भबिस्यको रगतले हुँदैन थ्यो बिर्सन।
दोषादोष गरेर भाषण दिने संस्कार उस्तै तर
पाल्दै दम्भ अनन्त सोच घटिया लेखेर के हुन्छर?
नेता या जनता र सेवक सबै संचार कर्मी जन
सारा मानिसमा छँदैछ बुझियो सामन्तबादी पन।
मौलाए तल देखि उच्च तहमा ठग्ने र खाने घर
मै खाऊँ अरु जेसुकै गरिरहुन लेखेर के हुन्छ र?
साँचेका धन सम्पदा मुलुकका बाँडेर खानेहरू
ह्वात्तै वृद्धि भए अहो दसकमै लोभी र पापी हरू
के मायाँ जनता र देश तिरको आफ्नै बनाए घर
यस्तै हो अझ देशमा यदि भने लेखेर के हुन्छ र।
सम्पन्नै धन धान्यले रहरिली आमा थिइन सुन्दर
के भो आज कठोर सन्ततिहरू आमा रुदा धर्धर
जन्मेनन गतिला मरे कति थिए नेपाल कै खाँतिर।
देऊ जन्म महान उच्च जनको लेखेर के हुन्छ र?