एक थुनामा दुई धरौटी १० संरक्षकको जिम्मा
दमौली/तनहूँ भानु नगरपालिका वडा नं. ६ कटरवारी स्थित खोल्सीमा गत बैशाख ११ गते फेला परेका पविन गुरुङ्ग मृत्यू प्रकरणमा चलेको कर्तब्य ज्यान मुद्धाको बुधबार थुनछेक आदेश भएको छ ।
तनहुँ जिल्लाका न्यायाधीश बासुदेव पौडेलको इजलासबाट एक जनालाई थुनामा बसी पुर्पक्ष गर्ने गरी आदेश भएको छ । दुई जनालाई धरौट जमानतमा तारेखमा रही पुर्पक्ष गर्ने गरी छोडिएको छ । पविनसंगै खाजा खाने तीन जनालाई साधारण तारेखमा छाडिएको छ । त्यसैगरी १० जना कानूनको विवादमा परेका बालबालिकालाई आफ्नो संरक्षकको जिम्मामा बसी पुर्पक्षमा रहने गरी आदेश भएको निमित्त स्रेस्तेदार कृष्णप्रसाद गौतमले जानकारी दिनु भयो ।
लकडाउनका बीच भएको सुनवाईमा कोभिड–१९ को संक्रमणको त्रासका बीच भएको सुनवाईमा एक जना जिल्ला न्यायाधिवक्ता रामप्रसाद अधिकारीले सरकारी पक्षबाट बहस पैरवी गर्नुभएको थियो । अभियोग लागेका पक्षका तर्फबाट दशजना कानून व्यवसायीले बहस पैरवी गर्नुभएको थियो ।
सामाजिक दुरी कायम गरी बहस गर्न तनहुँ जिल्ला अदालत पुग्ने कानून व्यवसायीहरुमा बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ताहरु शिवदत्त ढकाल, ऋषिराम पोख्रेल, भानुभक्त सुवेदी, यज्ञबहादुर राना, विश्व वास्तोला, चन्द्रकान्त वाग्ले, अमृतबहादुर नेपाली, केशब भट्टराईहरुले बहश पैरवी गर्नुभएको थियो । साथै सो समयमा वैतनिक कानून व्यवसायी अधिवक्ता सरीता भण्डारीले समेत बहस गर्नुभएको थियो । बहस गर्ने अधिवक्ताहरुले वडाध्यक्षले यथेष्ट सहयोग गर्दागर्दै, नियतबस अभियोग लगार्यएको, कसूरमा संलग्नता नभएको, अभियोग दावीमा लिएको मुलुकी अपराध संहिताको दफा १७७ को परिभाषाभित्रको कसूर स्थापित हुन नसकेको, अभियोजन पक्षले गंभिर कानूनी कार्यविधिगत त्रुटी गरेको हुँदा धरौट, जमानत, बैक जमानत वा अभिभावकको जिम्मा लगाउन माग गरेका थिए ।