फूटबललाई खेलहरुको राजा मानिन्छ । हुन पनि हो, चार चार बर्षमा सञ्चालन हुने विश्वकप प्रतियोगिता हेर्न सहभागिहरु हुने दर्शक दिर्घाको घुईचो, विश्वकप प्रतियोगितामा सहभागि हुनको लागि छनौट प्रक्रियामा हुने तछाँडमछाडको भिडन्त, चोक चोकमा गल्ति गल्तिमा नियमसम्म पनि राम्रोसंग मेसो नपाएका सानासाना नानीहरु समेत झुम्रोको डल्लो बनाई खेलको आनन्द लिएको देख्दा फुटबल खेललाई खेलहरुको राजा मान्न अनकनाउनु पर्ने केही देखिदैन । निसन्देह फुटबल संसारको सर्वाधिक लोकप्रिय खेल हो ।
फुटबल सर्वाधिक चर्चित खेल हो यद्यपि अरु पनि धेरै खेलहरु छन् जो अन्तरष्ट्रिय रुपमा चर्चित छन्, स्थानीय, राष्ट्रिय स्तर अथवा क्षेत्रिय स्तरमा चर्चित र लोकप्रिय पनि सयौं खेलहरु छन् तथापि अन्तराष्ट्रियस्तरमै चर्चित खेलहरुको कुरै बेग्लै हुन्छ । अन्तराष्ट्रिय स्तरमा चर्चित त्यस्तै खेलहरु मध्ये पंक्तिकारले यहाँ प्रसंग जोड्न चाहेको खेल हो, रेस्लिङ । रेस्लिङ खेल विशेष गरी युवा वर्ग माझ असाध्यै लोकप्रिय खेल हो । झट्ट हेर्दा कुस्ती पो हो जस्तो लागे पनि रेस्लिङ्ग खेलको दाउपेच नियम र तौरतरिका कुस्तिको भन्दा निकै नै भिन्न हुन्छ । जे होस् यो कुरामा चाही शंका मान्न प्रदैन कि रेश्लिङ खेलपनि लोकप्रिय खेलहरुको सूचीमा अटाउँछ ।
पंक्तिकारले यहाँ रेस्लिङ खेलको प्रसंगलाई जोड्न चाहेको चाही किन हो भने, देशमा चुनावी माहोल नजिकिदै गर्दा राजनीतिक दलहरुको पारा ताल देख्दा ठ्याक्कै रेस्लिङ खेलको सम्झना आउँछ । अनि यी नेता भनेर हामीले मानिदिएका चाही रेस्लिङमा भिड्ने पहलमान, कुस्तिबाजहरु ।
रेस्लिङ्गको आफ्नै नियम हुन्छ । खेल खेलाउने प्रतिष्प्रधा पनि फरक फरक हुन्छ । कोही एक्ला एक्लै भिड्नु पर्ने स्प्रधा हुन्छ । कोही समूहमा भिड्नु पर्ने हुन्छ । कोही जोडीमा भिड्नु पर्ने । दुई दुई जनाको जोडी बनाएर भिडन्त गर्नुपर्ने खेललाई सम्झँदा पंक्तिकारलाई चुनावी गठबन्धनको याद आउँछ । कहिले ज्यानै लिन्छ कि के हो झै गरी एक्ला एक्लै भिड्ने रेस्लरहरु कहिले भने संगै जोडी बनाएर अर्को समूहसंग भिडि रहेका हुन्छन् । अरु बेला एउटाले अर्कोलाई सत्तोसराप गरेर गालि गर्ने नेताहरु चुनाव जित्नका लागि संगै काँध जोडेको देख्दा, ति भुस्तिघ्रे कुस्तीबाज र यी भुँडे नेता बीच तार्किक रुपमा केही फरक छ जस्तो लाग्दैन ।
रेस्लिङमा प्रतिस्पर्धा गर्ने पहलमानहरुको लागि जित यति प्यारो हुन्छ कि जीतको लागि जुनसुकै हदसम्म पनि जान्छन् । रेफ्रीको आँखा छलेर झेली खेल्न सम्म म्याउँछन् । चुनावको माहोल आफ्नो पक्षमा नहुने देखेर मतपत्र च्यात्ने, मिलेसम्म फर्जी मत खसाल्ने, परिआए ब्लोट बक्स नै साटफेर पछि नहट्ने यी नेताहरु भनाउँदा र झेली गरेरै भएपनि जित्न चाहने ती पहलमा बीच फरक के मा भयो त ? खेलको दुनियामा संगै प्रवेश गरेर संगै सहकार्य गरेर, कैयौं खेलहरु आपसी तालमेलबाट जितेर पनि, आफ्नै स्वार्थ पुरा नहुने भएपछि अथवा अन्तैबाट लाभ बढी हुने भएपछि चटक्क आफ्नो साथी त्याग्ने रेस्लर र पार्टी फुटाउँदै हिड्ने कथित नेताज्यूहरुलाई एउटै विरादरीमा राखेर हेर्दा केही फरक पर्ला र ?
रेस्लिङ खेल हेर्दा कहिले काँही अनौठो पनि लाग्छ यो खेलाडीले त सहजै जित्छ भनेर अनुमान लगायो, अर्कैले जित्छ । पुरै खेलभरि एउटाको दवदवा बनि रहन्छ । अन्तिममा फ्याट्ट चाल चालेर बाजी अर्कैले मार्छ, कति खेलहरु त हेरेर हास्नु की रुनू जस्तो लाग्ने बैरागी पनि हुन्छन् । यस्तो बेला रेस्लिङ यथार्थ नबुझेको दर्शकलाई बडो आश्चर्य लाग्छ । कसरी यो सम्भव भयो ?
वास्तवमा रेस्लिङ एउटा पूर्व निर्धारित योजना अनुसार खेलाईने खेला हो, एक प्रकारको सिनेमा । जस्को सुरुवात र अन्त्य पहिले निर्धारण गरिएको हुन्छ । फरक यति हो सिनेमा रिलमा हेरिन्छ, रेस्लिङ रियलमा । रेस्लिङमा भिडन्त गर्ने सबै पहलमानहरु रेस्लिङ दुनियाको कुसल अभिनेताहरु हुन् । वास्तवमा रेस्लिङमा पहलमानहरु एक आपसमा लडि रहेका हुँदैनन् । उनिहरु पूर्व निर्धारित योजना अनुसार कुसलतापूर्वक आफ्नो प्रस्तुती पस्की रहेका हुन्छन् । उनिहरु बीच एक आपसमा हुने कल झगडा, हातपात, लडाईको लागि हुने सम्झौता यी सबै पूर्व निर्धारित योजनाको हिस्साहरु हुन् । रेस्लिङको प्रचारमा पनि भनिएको हुन्छ कि रेस्लरहरु तालिम प्राप्त कलाकारहरु हुन् । सुरक्षाको पूर्ण प्रत्याभूतिमा यी सबै खेलहरु प्रदर्शन गरिन्छन् । कलाकार भएको नाताले पूर्वनिर्धारित योजना अनुसार प्रदर्शन गर्नु उनिहरुको धर्म हो । जित्ने हार्ने कुरा, पूर्व निर्धारित भएपनि उनिहरुले यसरी प्रदर्शन गर्नु पर्दछ, मानौं कि उनिहरु आफ्नो ज्यानका बाजी लगाएर लडि रहेका छन् । यी सबै कुराहरु गरिन्छ, लडाईलाई सकेसम्म वास्तविक र जीवन्त रुपमा प्रस्तुत गर्ने प्रयास गरिन्छ । किनभने रेस्लिङ खेल भनेको मनोरञ्जनको खेल हो । दर्शकहरुलाई भुलभुलैयामा राखेर मनोरञ्जन दिने दुनिया हो रेस्लिङको दुनिया । तर के राजनीति पनि मनोरन्जनको दुनिया हो ? परि आउ छिनमै आँशू झारेर भावुक भै दिने, फेरी छिनमै आगो ओकलौंला झै चर्केर भाषण गर्ने, कहिले कुन संग, कहिले कुन संग कुम जोड्ने द्वेध चरित्र भएको, रंग फेर्न सिपालु छेपारे प्रबृत्तिको नेताहरु निश्चय नै ति कलाकाररुपी पहलमानहरु जस्तै होलान् । तर राजनीति भनेको रेस्लिङ जस्तो मानिस झुक्याएर मनोरञ्जन दिने क्षेत्र होइन । राजनीति त समाज सेवा गर्ने, देशलाई विकासको बाटोमा अगाडि बढाउने पवित्र माध्यम हो ।
रेस्लिङ हेर्ने दर्शक झुकिएर केही विग्रदैन । अझ भनौं रेस्लिङको रिङमा देखाईइने दृष्यहरु पूर्ण रुपमा सत्य होइनन् भनेर जानीजानी पनि रेस्लिङ हेर्दा केही विग्रदैन । किनभने झुटमुट नै सही यसले मनोरञ्जन
दिन्छ । हेर्दा रमाईलो हुन्छ तर राजनीतिको सवालमा यदि जनता झुक्किए भने सबै कुरा विग्रन्छ । सबै सखाप हुन्छ । देश दुर्घटनामा पर्दछ ।
यी र यिनै नेताले हामी जनतालाई बारम्बार झुक्याई रहेका छन् । कहिले पार्टिको जितको नाममा झुक्याई रहेका छन्, कहिले पार्टीको सिद्धान्तको नाममा, त कहिले राम्रो र हाम्रो बीचको विश्लेषण गर्न नदिएर झुकई रहेका छन् । र हामी जनता पनि रेस्लिङको फाईट पूर्ण रुपमा सत्य होइन भन्ने जान्दा जान्दै पनि हेरेरै दर्शक रमाए जस्तै यिनले हामीलाई भुक्याई रहेका छन् भनेर जान्दा जान्दै पनि बारम्बार झुक्किईदिई रहेका छौं । जानी जानी झुक्किई दिने हामी जनताले पनि आफ्नो गल्ति त स्वीकार्नै पर्दछ ।
यी नेताहरुले देशको इज्जत कहाँसम्म पु¥याए त, कहिले भारतको गुप्तचर प्रमुख नेपालको प्रधानमन्त्री भेट्न सिधै समकक्षी जस्तै पुग्दछ त कहिले नेपालकै प्रधानमन्त्री भारतको एउटा पार्टीको कार्यालयमा दर्शन भेट दिन जस्तो गरी पुग्दछ । कठै बरा यिनले हामीलाई कहिले त रेलको सपना बाँडेर झुक्याए, कहिले पानी जहाजको, कहिले संघीयताको सपना देखाएर झुक्याए त कहिले धर्म निरपेक्षता र जातियताको नारा दिएर झुक्याए । विकास, समृद्धि, उन्नति प्रगतिको सपना देखाएर त कति झुक्याए, झुक्याए । फेरी पनि उहि पुरानो नेता हामी बनाउँछौं देश भन्ने नारा बोकेर जनता झुक्याउन आउँदैछन् । के अब पनि झुक्किने हो त ? आमजनताले आफ्नो सुझबुझ प्रयोग गर्ने समय आउँदैछ । राजनीतिक पार्टीप्रति आस्था राख्ने कार्यकर्ताहरुले पनि विचार गर्नु पर्ने भएको छ, तपाईको नेताहरुले त आफ्नो निष्ठा नैतिकतालाई लिलाम गरेर पार्टीको सिद्धान्तलाई बागमतीमा सेलाई सके भने पार्टी पार्टी भनेर कति धाईरहने अब ? त्यसैले अब हामी सबै कमसेकम यो पटक सचेत बनौं, समाज सेवा र राष्ट्र निर्माण गर्ने राजनीतिको पवित्र मतलाई, भुलभुलैमा पारेर मनोरञ्जन दिने रेस्लिङको रिङ सम्झने र आफुलाई त्यो रिङको महारथी सम्झने दम सकिएको बुढा र छेपारे प्रबृत्तिको झेली खेलाडीहरुलाई यसै पटकको म्याचमा सबै मिलेर नकआउट गरौं । स्वच्छ प्रतिष्प्रधा गर्ने, आफ्नै पाखुरीको दममा खेला जित्छु भन्ने, आत्मविश्वास भएको युवा र नयाँ खेलाडीहरुलाई रिङमा उतारौं ताकि मनोरञ्जनको पनि पैसा असुल होस् ।
अन्ततः नयाँ बर्षले नेतालाई देश बनाउनु पर्छ भन्ने र जनतालाई हाम्रो होइन, राम्रो नेता छान्नु पर्छ भन्ने सद्बुद्धि ल्याई दिओस् । आदरणीय पाठक बर्ग एवं सम्पूर्ण नेपाली जनमा नयाँ बर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना ।