राष्ट्रिय स्वार्थको रक्षा गर्दै जेन जीको मूल मुद्धालाई सम्बोधन गर्न
राष्ट्रिय गन्जागोलको निकाश राष्ट्रिय एकता
विशेष सम्वाददाता
मुलुकमा राजनीतिक परिवर्तन हुँदै आए । सिर्जनशिल उमेर समूहका युवाहरुले बलिदान दिंदै आए । तर नेपालको अवस्था परिवर्तन भएन । विश्वसमुदायमा नेपाल भन्दा कमजोर मुलुकहरुले विकाशमा धेरै प्रगति गरिसके । प्राकृतिक साधन र स्रोतले सम्पन्न देश भएर पनि नेपालले विकाशोन्मुख देशबाट पतनोन्मुख देशको पहिचान निर्माण गर्दै गयो ।
नेपालमा २०४६ पछिको राजनीतिक परिवर्तनले जिम्मेवार राजनीतिक नेतृत्व दिन नसक्दा त्यसपछिका हरेक राजनीतिक परिवर्तनहरु राष्ट्रिय स्वार्थको प्रतिकूल पुष्टि हुँदै आएका छन् । विशेषगरी २०६३ साल जेठ १५ गते घोषणा भएको गणतन्त्र नेपाल र नेपालीको चाहान र स्वार्थको प्रतिकूल पुष्टि हुँदै गयो । दशबर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन, संघीयता, धर्म निरपेक्षता, गणतन्त्रले वास्तवमा राजनीतिक धोकाको रुपमा इतिहासमा अंकित हुने निश्चित भयो गणतन्त्रको १९ बर्षको प्रयोगले जन्मेको जेन जी विद्रोहको उद्देश्य राष्ट्रिय स्वार्थकै लागि थियो । तर धमिलो पानीमा माछा मार्ने अवस्था र परिस्थितिको आँकलन गर्न सक्नु पर्ने राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, विशेष गरी नेपाली काँग्रेस र एमालेका जिम्मेवार नेताहरुले कमजोरी देखाए । कमजोर सावित भए । वीपीको भोगाई बुझेका नेपाली काँग्रेस, मदन भण्डारीलाई गुमाएका एमालेहरुले देशको भूपरिवेश र राजनीतिप्रति वेपरवाह भएर सत्ताभोगि हुँदाको परिणाम असल नियतले गरिएको जेन जी आन्दोलनमा राष्ट्रको धरोहरका रुपमा रहेको सिंहदरबार जल्यो । सम्पूर्ण अदालत जल्यो । सरकारी वकिल कार्यालयहरु जले । कारागार जल्यो । यसको जिम्मेवारी लिन पर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली, उनको राजिनामा बुझेर देशको सुरक्षाको प्रबन्ध मिलाउन पर्ने जिम्मेवारीमा रहेका राष्ट्रपतिले देशको सुरक्षा गर्न सकेनन् । स्वयम् दलहरुले नमानेको संविधानको सुरक्षा गरें भनेर आत्मसन्तुष्टि देखाए ।
तत्कालिन प्रधानमन्त्री खड्गप्रसाद ओलीले हालसालै दिएको अभिव्यक्तिले अझै चिन्तित तुल्याएको छ । मैले सुरक्षा गर्ने त होइन, राज्यसंयन्त्र परिचालन नभएको अवस्था राष्ट्र बचाउन दायित्व जनताको हो भन्नुले उनको गैह्र जिम्मेवारी पुष्टि गर्दछ । राज्यको सुरक्षा संयन्त्र परिचालन गर्न नसक्ने अवस्थासम्म सत्तामा बसी रहनुको के औचित्य थियो र ? अब अन्टसन्ट बोल्नुको औचित्य के नै छ र ? मुलुकलाई गञ्जागोलको अवस्थामा धकेलेर फेरी राजनीतिक स्वार्थको भाषा बोल्नु राष्ट्रप्रतिको इमानदारीता हुँदैन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवहाक सभापति तोकेर सक्रिय राजनीतिबाट विश्राम लिई अभिभावकत्व लिएको संकेत गरे । एमालेभित्र पनि आमकार्यकर्ताको चाहाना बमोजिम खड्गप्रसाद ओलीले पनि सक्रिय राजनीतिबाट विश्राम लिएर पार्टी भित्रको युवा समूहलाइ राजनीतिमा स्थापित गर्नु बुद्धिमानी हुन्छ ।
राष्ट्र यति कमजोर भैसकेपछि यो मुलुक बचाउने हो, सार्वभौम स्वाभिमान बचाउने हो भने अब राजा, दलहरु, जेन जी समूह सहितको राष्ट्रिय शक्ति बीच राष्ट्रिय स्वार्थ संरक्षण गर्ने एकसुत्रिय मुद्धामा जेन जीले उठाएका मूल मुद्धालाई सम्बोधन गर्ने गरी फेरी अर्को विद्रोह, आगजनि, हातहतियारको लुटपाट, कानुनको शासनको उपहास हुने नदिने गरी राष्ट्रिय एकताको लागि तयार हुनुपर्दछ ।