काठमाडौँ । उदार भावनाको खडेरी लागेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै कारण चेपुवामा परे । उनको रहर पार्टी सभापति बन्ने र देशको प्रधानमन्त्री हुने थियो । तर यी दुवै पदमा उनी आउन सक्ने वातावरण उनले समाप्त पारे । राष्ट्रको नेता हुन चाहनेले जिल्लाको आन्तरिक सङ्गठन मिलाउन सकेन भने सफल हुँदैन तर रामचन्द्रले आफूलाई सर्वेसर्वा ठाने । मौकाको फाइदा आफैँ लिने आफन्तका लागि दिलाउने रामचन्द्रको प्रवृत्तिका कारण पनि एकपछि अर्को गर्दै आएका झन्झटले झन् अप्ठ्यारो पारेको छ ।
पौडेललाई सधैँ बोक्दा दिक्क भएका तनहुँका काँग्रेसीहरूले जनजातिप्रतिको व्यवहार पनि पचाएनन् । गुरुङ, मगर समुदायको बाहुल्य रहेको तनहुँ प्रदेशका ४ केन्द्रका २ जना सांसद पदमा जनजातिले ठाउँ पाएनन् । रामचन्द्र आफ्नै सहयात्री गोविन्दराज जोशीविरुद्ध केन्द्रित रहनु पनि उनको अग्रगामी छलाङमा अवरोध थियो । पछिल्लो पटक रामचन्द्रकै इच्छामा पार्टी सभापति शेरबहादुर देउवाले जोशीलाई राजनीतिमा सक्रिय नहून् र महासमिति बैठकमा समेत सहभागी नहुन आग्रह गर्नुप¥यो । यस्तो निकृष्ट नेताको भाउ हुँदैन । एउटा क्रियाशील राजनीतिज्ञले आफ्ना कार्यकर्ता भेट्नै नपाउने र पार्टीको गतिविधिमा भाग लिन नपाउने प्रजातान्त्रिक पार्टी कस्तो हुन्छ ? त्यो जस्तो निरङ्कुश अरू हुँदैन । रामचन्द्र स्वार्थका लागि अरूविरुद्ध कति निरङ्कुश बन्न पुगेका रहेछन्, उनकै गतिविधिले देखाए । काँग्रेसले तनहुँलाई सङ्गठनमा बलियो जिल्ला मान्ने गरेको छ । तर काँग्रेसका नेताहरू बलियो आधारलाई टिकाउन सकिरहेका छैनन् ।
गुटबन्दी पहिलो प्रहार, स्वार्थ दोस्रो र आफूबाहेक अर्को पक्षलाई टाउको उठाउन नदिने रामचन्द्रको उदारवाद र काँग्रेसको समाजवाद तनहुँमा जति छरपस्ट छ, त्यस्तो अवस्था अरू कुनै जिल्लामा छैन । तनहुँमा काँग्रेसका दुईवटा समिति छन् । संस्थापनका रामचन्द्रभन्दा कार्यकर्ता तहमा गोविन्दराज बलिया छन् । मौका पाउँदा रामचन्द्रले आफन्तबाहेक कसैको काम गरेनन् तर गोविन्दले जिल्लाभरका कार्यकर्तालाई साथ दिए । क्षेत्र नं. एक विशेष निगरानीमा परेको थियो । रामचन्द्र पक्षधर घट्दा छन्, उनकै अग्रसरतामा जोशीलाई भ्रष्टाचारी करार गरियो । यिनी भने दरबारमा शरण लिएर रोयलको टाँचा लगाइएकै हुन् । यिनले होइन भन्न सक्दैनन् । टिकट दिइएन, जोशीलाई खेद्दै जाँदा निर्वाचन आयोगमा समेत रामचन्द्र आफैँ पुगे । पौडेलको यस्तो शैली र व्यवहारले केन्द्रमा उनलाई काँध थाप्दै आएका डा. रामशरण महत, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. शेखर कोइराला, डा. शशांक कोइराला, सुजाता कोइरालाले पछिल्लो समयमा भर पर्न छाडेका छन् । केन्द्रमा बलियो देखिन जिल्लामा सर्वसम्मत बन्न सकेको भए काम लाग्थ्यो । पैसा पाएपछि मात्र पार्टीको नीति कार्यक्रमअनुसार कार्यक्रम बनाउने यी रामचन्द्र उपसमिति बन्दा सुशील कोइराला देशको प्रधानमन्त्री पदमा थिए । गणेशमान शान्ति अभियानका नाममा राज्यकोषबाट लाखौँ रूपैयाँ दिलाएपछि मात्र पौडेलको गति बढेको थियो । तनहुँको काँग्रेसी राजनीति पौडेलकै कारण छिन्नभिन्न भएको हो । स्थानीय तहमा कार्यकर्ताबीचमा जाँदा जोशी जति व्यवहारिक छन्, पौडेल छैनन् । उनलाई दमौलीका व्यापारीहरूले उपियाँले सिनो छाडे झैँ छाड्नुको कारण मपाइँत्ववाद हो । सरकारमा रहँदा होस् वा पार्टी नेतृत्वमा रहँदा पौडेलको व्यवहार सङ्कीर्ण देखिन्थ्यो । पार्टीमा कामै नगरेका छोरालाई केन्द्रीय सदस्यमा मनोनीत गराउने पौडेलको योजना अधुरै छ । पौडेललाई कोइराला परिवारले त्यागिसक्यो । शेरबहादुर देउवाले समेत राजनीति खेल्छन् । देउवालाई सघाएका डा. शशांकको महामन्त्रीको कार्यकाल पार्टीको निम्ति विवादित रह्यो । सभापतिलाई विधान मिच्न नदिने महामन्त्रीले हो । तर डा. शशांकले सभापतिलाई विधानको ख्याल गर्न दबाब दिन नसकेको आरोप डा. शेखरले लगाएका छन् । डा. शशांकलाई उनकै पिए भरतले सडाइदिइसकेका छन् । यी भरतले टिकट दिलाउँदा पैसा असुलेको रहस्य अहिले खुल्दैछ । रामचन्द्रले पनि टिकट दिलाएबापत कार्यकर्तासँग पैसा लिन्थे । सीता देवकोटा, शङ्कर भण्डारीसँग दोस्रो संविधान सभाको टिकट दिलाउँदा रामचन्द्रले राम्रै पैसा लिएका हुन् । पार्टीकै कार्यकर्तासँग घूस खानेले सरकारी पदमा रहँदा घूस खाएन, कसैसँग लिएन भन्दा पत्याउने ठाउँ भएन । अबको काँग्रेसमा शेरबहादुर देउवा पनि अटाउन नसक्ने बन्दैछन् । किनकि युवा पुस्ताले डा. शेखर कोइराला र गगन थापालाई सभापति र महामन्त्रीका निम्ति अगाडि सार्दैछन् । यदि यो प्रचार सत्य सावित भयो भने रामचन्द्रको प्रधानमन्त्री बन्ने मात्र होइन, सभापति बन्ने सपनासमेत पूरा हुने छैन । किनकि अबको राजनीतिमा रामचन्द्रलाई अगाडि सारेर नेपाली काँग्रेसले फाइदा लिन सक्दैन । हिजो गिरिजा आफू बद्नाम भएपछि कृष्णप्रसाद भट्टराईलाई अगाडि सारेर पनि पार्टीलाई बहुमत दिलाइएको थियो । रामचन्द्र यसरी प्रस्तुत गर्ने पात्र हुन सकेनन् । सुझाव र सहयोग के हो, पत्तो नपाउने रामचन्द्रलाई छोरा निश्चित पौडेललाई काँग्रेसको केन्द्रीय सदस्य बनाउने लक्ष्य पूरा गराउने दिन आउँछ–आउँदैन उनकै आगामी व्यवहार र शैलीले स्पष्ट पार्ने छ । दुई–चार जना कुलचन्द्र जस्ता पत्रकारहरूले धानिदिएर पौडेलको क्रेज धानिँदैन ।
आफ्नै कार्यक्रम अलपत्र
नेपाली काँग्रेसको महासमिति बैठकले पारित गरेका प्रस्तावहरू केन्द्रीय समितिले अनुमोदन गरेको छैन । महासमितिका प्रस्ताव समयमा अनुमोदन नहुँदा १४औँ महाधिवेशनलाई प्रभाव पार्ने अवस्था आउँछ । केन्द्रीय सदस्यहरू पनि बुथबाट निर्वाचित हुनुपर्छ भन्ने महासमितिको प्रस्ताव र विधानको व्यवस्थाबाट नेताहरू एकाएक झस्किएका छन् । समानुपातिक कोटामा लगातार फाइदा लिने ठेकेदार, व्यापारी र चाकडीबाजहरूलाई पनि ठूलै धक्का लागेको विधानले कुरूप अवस्था बेहोर्नुपर्ने अवस्था आउँदैछ । काँग्रेसले ०७६ फागुनमा १४औँ महाधिवेशन गर्नु छ । पार्टीको अङ्कुरा मानिएको विद्यार्थी सङ्गठन भदौदेखि अवैधानिक भएको छ । तरुण दलले भागबन्डामा पाँच जना पदाधिकारी पायो । केन्द्रीय सदस्य मनोनीत गर्न सकेको छैन । महासमितिका निर्णय र विधानलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मतमा डा. शेखर कोइराला र कृष्ण सिटौला रहेका छन् । कम्युनिस्ट जस्तो प्रभाव नपारे पनि काँग्रेसमा देउवा, पौडेल, सिटौलापछि केसी, महत, सिंह, निधि गुट अंकुराउन थालेको छ । पैसा खर्च गर्दा तस्करदेखि माफियासम्मलाई सांसद बनाउने गणतन्त्रमा काँग्रेसभित्रको गुटबन्दी देउवा र रामचन्द्रको पालो खोस्ने स्थिति पैदा हुँदैछ । उता, कोइराला परिवारबाट डा. शेखर, डा. शशांक र सुजाताले पारिवारिक लिगेसी धान्ने गरी भित्रभित्रै तयारी गरेका छन् । डा. शेखर पार्टीका अन्य नेताहरू भन्दा बढी जिल्ला घुम्ने र कार्यकर्ता भेटघाट गर्ने गर्नुको कारण १४औँ महाधिवेशनमा पार्टी नेतृत्व लिने तयारीका रूपमा लिन सकिन्छ ।
साभार: ताजा खबर https://goo.gl/17L9zm