पृथ्वी राजमार्गको आँबुखैरेनी–कोत्रे खण्डको यात्रा अत्यन्त कष्टकर रहेको छ । कोत्रेबाट पश्चिम पोखरा तर्फ पनि सडकको अवस्था गएगुज्रेको छ । झण्डै ७० किमिको यो खण्डमा यात्रा गर्न चार घण्टाभन्दा बढी लाग्ने भएको छ । बाटोमा भएको धुलोका कारण दुइ पाङ्ग्रे सवारीमा यात्रा गर्नु असम्भव प्रायः भएको छ भने भत्किएको कालोपत्रे र सडकमा भएको ठूला ठूला खाल्डाका कारण यात्रा निकै कष्टप्रद हुने गर्दछ । सडक विस्तारका लागि भनेर छेउछाउका पहाडहरु कटान गर्न थालेको र सडक भत्काएको धेरै भैसकेको छ तर कार्यप्रगति भने अत्यन्त न्यून छ । केही स्थानहरुमा त काम भइरहको देख्न समेत पाइन छाडेको छ । राजमार्ग छेउका बासिन्दा दिनरात धुलो खान विवश छन् ।
अत्यधिक धुलोका कारण स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएपछि सडकमा नियमित पानी छ्याप्न दवाव दिन आदोलनमा उत्रने गरेका स्थानीय पनि अव त आजित भएजस्तो भान हुन थालेको छ । निर्माण कम्पनीको ‘काग कराउँदैछ पिना सुक्दैछ’ चाला र जनस्वास्थ्यका प्रति स्थानीय प्रशासनको वेवास्ता र निरिहता देखेर सर्वसाधारण विश्मयमा छन् । विद्यालय तथा कार्यालय समयको सामान्य ख्याल समेत नगरेर निर्माण कम्पनीको तर्फबाट गरिने सडक जामले विद्यार्थी, शिक्षक र कर्मचारी व्यथित भएका छन् । तर आश्चर्य हाम्रो स्थानीय प्रशासन मौन छ ।
दशैका बेला सडक मर्मत गर्ने भनियो । कहिँकतै मर्मत गरेको भने देखिएन् । सडकको दुःरावस्था उस्तै छ । अरु बेलाभन्दा दशैंका बेला धेरै मानिस यात्रामा हुन्छन् र स्वाभाविक रुपमा दुर्घटनाको जोखिम पनि बढी नै हुन्छ । तर मर्मतको आवश्यकता देखिएन । घोषणा गरिएको सडक मर्मत भए नभएको बारे कसैले चासो राखेन ।
आखिर सामान्य नागरिकको जीवनसंग किन यतिविधि खेलवाड ? किन यति संवेदनहीन बनेको हाम्रो राजनैतिक नेतृत्व र कर्मचारी प्रशासन ? के नागरिकको जीवनसंग खेलवाड नगर, हाम्रो स्वास्थ्यमाथि खेलवाड नगर भन्न पनि आन्दोलन गर्नुपर्ने भो अब ? कस्तो विडम्बना हो ? र हाम्रो आग्रह यो विडम्बना कायम रहन नदिन पृथ्वी राजमार्गको अवस्थामा तत्काल सुधार गर ।
राजमार्गको अवस्था सुधार गर- सम्पादकीय
previous post