विगत १० महिना देखि अस्वस्थ्य भएको भन्दै आफ्नो कार्यकक्ष सिंहदरबार नगएका प्रधानमन्त्री केपी ओली पछिल्लो समय देश दौडाहामा छन् । आमअपेक्षा प्रधानमन्त्रीको देश दौडाहा जनताका विषयमा होस्, देशको समृद्धिको विषयमा होस् भन्ने हो । तर प्रधानमन्त्रीको दौडाहा त्यसका लागि भएको देखिएको छैन । अझ अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा त कोरोनाको कहरबाट आमनागरिकलाई कसरी मुक्त गराउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीको चासो होस्, पहलकदमी होस् भन्ने हो । दुर्भाग्यवश ओलीको दौडाहा ती कुनै विषयमा केन्द्रीत छैन । देशको प्रधानमन्त्रीको कुर्सीमा वसेका ओलीको प्रयत्न आफ्ना सहकर्मीको विरुद्धमा विष वमन गर्नुमा केन्द्रीत रहेको छ, यतिबेला । भारतीय सञ्चार माध्यम वीअनकी पाल्की शर्मा उपाध्यायलाई दिएको अन्तवार्तामा ओलीले एकातिर प्रचण्डलाई आफ्नो पार्टीका अर्का अध्यक्ष भन्न भ्याए भने सोही अन्तवार्तामा अत्यन्त अस्थिर विचारको मान्छे भनेर प्रचण्डलाई दुत्कारे । आफ्नो समूहका कार्यकतासंगको भेटघाट र सभाहरुमा उनले माधव, प्रचण्ड, झलनाथ लगाएतलाई अत्यन्त तल्लो स्तरमा ओर्लेर गाली गर्ने र हत्यारासम्मको आरोप लगाउने गरेका छन् । सत्ताको भ¥याङ बनाउने बेला सर्वप्रिय र एउटै विमानका अर्का चालक भनेका प्रचण्डलाई कसरी अहिले हत्यारा भन्दैछन्, कुनै नैतिकताले सत्तासिन छन् ? ओलीले पछिल्ला समय आफुसंग फरक विचार राख्नेहरुलाई जसरी गालीको वर्षा गरिरहेका छन्, त्यसले असल राजनैतिक संस्कारको विकास गर्नेछैन । ओली स्कुलिङका हुर्केका आमकार्यकर्ताले आगामी दिनमा अग्रज राजनीतिकर्मी तथा सहकर्मी राजनीतिकर्मीलाई गर्ने व्यवहार कस्तो हुने भन्ने चिन्ता सर्वत्र छाएको छ । ओली अहिले जे गरिरहेका छन्, के यसले हाम्रो राजनीतिलाई दुषित बनाउने छैन ? के यसले परस्पर घृणाको विस्तार गर्दैन ? हाम्रो राजनीतिलाई असभ्य बनाउँदैन ? अग्रज र सहकर्मीको सम्मान गर्न नजान्ने पुस्ता तयार हुँदै गर्दा के नेपालको सुन्दर भविष्य बनाउन सकिएला ? यसको एउटै उत्तर हो, सकिँदैन । परस्पर घृणाको विस्तार गर्ने, राजनीतिलाई असभ्य बनाउने, अग्रज र सहकर्मीको सम्मान गर्न नजान्ने बनाउने अनि आफैलाई असभ्य बनाउने तल्लो स्तरको राजनीति गर्ने परम्परको जुन विकास ओलीले गर्न खोजको छन्, त्यसलाई रोक्न जरुरी छ । यसमा सबैको ध्यान जाओस् ।
राजनीतिलाई दुषित बनाउदै प्रधानमन्त्री
previous post