दमौली/लामो समयसम्म कार्यालय प्रमुख, दुई अधिकृत र छ खरिदार रिक्त रहेको मालपोत कार्यालय तनहुँमा कार्यालय प्रमुख गतहप्ताबाट हाजिर भए पनि कार्यालयको काम कारवाही अस्तव्यस्त बनेको छ । सामान्य कामका लागि सेवाग्राही पाँचौ दिनसम्म झुल्न परेको गुनासो गर्दा मुद्दा तथा प्रशासन फाँटका सुब्बा रामबहादुर अधिकारीले पटक पटक जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी दिनुस् भनेर चुनौति दिइरहेका थिए ।
मालपोतमा नामसारी, मुद्धा समेत लिखत पारीत गर्न मालपोतमा मान्छेको मेला लागे जस्तो देखिन्छ । सेवाग्राही बृद्ध अशक्त छन् । कार्यालय सहायकहरु फाँट चलाएको बताउन कार्यालय प्रमुखलाई कुनै दहकस लाग्दैन । कार्यालय प्रमुख मालपोतको यो अस्तव्यस्तामा पनि नागरिक समाज, सेवाग्राही, राजनीतिक दलहरु कसैले ध्यान नदिएकोमा बेचैन देखिन्छन् ।
मालपोत कार्यालयमा काम रोलक्रममा राखिन्छ । तर रोलक्रमको मान्यता देखाउनका लागि मात्र हो । पहूँचवाला र सेटिङ्गमा चल्नेहरुले बीचको फाईल झिकेर फाँटवालाबाट काम लिन्छन् । नेपाल सरकारको अंशियारा बमोजिम कित्ता काट्न बाहेक एउटा कित्ता एक आर्थिक बर्षमा एक पटक भन्दा कित्ता नकाट्ने नीतिगत व्यवस्था भएपछि ९९ प्रतिशत काम फिर्ता गरेको लेखापढी व्यवसायीहरु बताउँछन् ।
नेपाल सरकारको नीति विपरित मालपोत र नापी कार्यालयको सेटिङ्गमा कित्ताकाट भएको लेखापढी व्यवसायीहरु दावी रहेको छ । साविक फराकचौर ९÷ङ कि.नं. ६९ को छ रोपनी जग्गालाई मात्र देखाई अन्य जग्गा नदेखाई अंशबण्डाको बहाना बनाई चैत्र १५ र १८ गते कित्ताकाट गरिएको लेखापढी व्यवसायीहरुको दावी रहेको छ । कार्यालय प्रमुख र लेखापढी व्यवसायी बीच बुधबार सोही विषयमा मिटिङ्ग भएको कुरा अध्यक्ष हरिविलास अधिकारीले स्वीकार गर्नुभयो ।
चैत्र १५ र १८ गतेको कित्ताकाटबाट कायम कित्ताहरु १९ गतेबाट विक्री हुन थालेकोप्रति नेपाल लेखापढी व्यवसायी संघ तनहुँले आपत्ती जनाएपछि बुधबार कार्यालय प्रमुखको कार्यकक्षामा संयुक्त मिटिङ्ग भयो । अंशबण्डाको लागि कित्ताकाट गर्न पाईने भएतापनि त्यो अंशबण्डा सेटिङ्गमा नीतिगत निर्देशन मिच्ने गरी गरिएको प्लटिङ्ग शैलीको अंशबण्डा भन्ने व्यवसायीहरुको दावी रहेको छ ।