तनहूँ जिल्लाको सदरमुकाम दमौलीबाट दक्षिण पश्चिममा पर्ने मानुङ्कोट, प्राकृतिक दृष्याबलोकन गर्न रुचाउनेहरुको लागि राम्रो गन्तब्य हो । साविक जामुने गाविस वडा नंं. १ मा पर्ने मानुङ्कोट हाल व्यास नगरपालिका वडा नं. ५ मा पर्दछ । सदरमुकाम दमौलीबाट दुई पांग्रे सवारीमा करिब २० मिनट, बसमा करिब आधाघण्टा र पैदल एक देखि सवा एक घण्टामा मानुङकोट पुग्न सकिन्छ । मानुङकोटको फेदी मानुङकोट गाउँमा अधिकाँशतः मगर जातिको बाहुल्यता रहेपनि मानुङकोट नै भने बस्ती सून्य प्रायः छ । हाल मानुङकोटमा पाँच घरधुरी मात्र बाँकी रहेको छ । सेवा सुविधाको अभावमा अधिकाँश स्थानीय विस्थापित भै सकेका छन् ।
हिउँदको सुरुवातसंगै मानुङकोट जाने आन्तररिक पर्यटकहरुको बृद्धि भएको छ । दैनिक औषत ५/६ सयको हाराहारीमा आन्तरिक पर्यटकहरु सूर्योदय अवलोकनको लागि मानुङकोट पुग्ने गर्दछन् । कोही एकाविहानै जान्छन् भने कोही रात्री कालिन बसोबासको लागि पनि जाने गर्दछन् । मानुङकोटमा रमाउन जाने अधिकाँश पर्यटकहरु युवा पुस्ताका भेटिन्छन् ।
कुहिरोले डम्म ढाकेको दमौली बजार र आसपासका क्षेत्रहरु, बीच बीचमा देखिने पहाडका चुचुराहरु, उदाउँदै गरेको सूर्य र उदाउँदो सूर्यको किरणमा सुनौलो भएर टल्किएका हिमालका चुचुराहरु । प्राकृतिक दृष्याबलोकनमा रमाउने जो कोहीलाई पनि मानुङकोटको एक पटकको यात्राले धित मर्दैन । मानुकोट विहान मात्र होइन, दिउसो र साँझ पनि उत्तिकै मनमोहक र रमणीय छ । विहानै सूर्योदयको दृष्यावलोकन गर्नुको अनुपम आनन्द त छँदैछ । दिउसो रमाईलो घाममा ज्यान तताउँदै सेती र मादीको संगम नियाल्नुको आनन्द पनि कम छैन । अझ साँझमा चिसो सिरेटोसंग साउती मार्दै झिलिमिली देखिने दमौली बजार बीस घरे, भादगाउँ र साँगेका क्षेत्रहरु हेर्दै, यो ठाउँ त्यो ठाउँ भन्दै अनुमान लगाउनुको मज्जा पनि कहाँ कम छ र ?
मानुङकोट तनहुँको लागि एउटाउँदो पर्यटकीय गन्तब्य हो । हाल कोरोनाको कारणले आन्तरिक पर्यटनमा मात्र सीमित भए पनि आवश्यक तयारी गर्दै जाने हो भने भविष्यमा आन्तरिक साथ साथै बाह्य पर्यटनको लागि पनि उत्कृष्ठ गन्तब्य बन्न सक्छ, मानुङकोट । पोखरा घुम्न आउने राजधानी लगायत मोफसलका नेपाली पर्यटक र अन्तराष्ट्रिय पर्यटकहरुलाई पनि कमसेकम एक दिन तनहुँमा अड्याउन सक्ने सम्भावना छ, मानुङकोटसंग । त्यसो पुरै तनहुँमा थुप्रै पर्यटकीय गन्तब्यहरु छन् । तनहुँमा पनि धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना छ । सांस्कृतिक पर्यटनको पनि उत्तिकै सम्भावना छ । प्राकृतिक दृश्यावलोकनको लागी मात्रै पनि तनहुँमा थुप्रै ठाउँहरु छन् तर सदरमुकामबाट नजिक र राजमार्गबाट आउन जान सुविधाको हिसाबले हेर्दा मानुङ्कोटको पर्यटकीय सम्भावना अलि बढि छ कि भन्ने मात्र हो । अत भावी दिनमा मानुङ्कोटको पर्यटकीय सम्भावना प्रति शङ्का गर्नुपर्ने ठाउँ छैन । तर संगसंगै केहि प्रश्नहरु प्रति गम्भिर भएर सोच्नु पनि आवश्यक छ । के मानुङ्कोटको पर्यटनको आवश्यक पर्यटनले आवश्यक गति समात्न सकेको छ ? के मानुङ्कोटमा भइरहेको पर्यटन विकासले त्यहाँको चालचलन, रहनसहन, संस्कृतिको प्रवर्दनमा मद्दत पु¥याएको छ ? के मानुङ्कोटको पर्यटन विकाससंगै त्यहाका मानिसहरुको जिवनयापनमा सकरात्मक परीवर्तन आएको छ ? उनीहरुको आर्थिक अवस्थामा सुधार आएको छ? के मानुङ्कोटको पर्यटनले त्यहाँको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सकेको छ ?
कुनै पनि क्षेत्रको पर्यटनमा विकास हुन त्यहाँ बाह्य मानिसको आगमन बढ्नु पर्छ, यसमा दुईमत छैन किनकी पर्यटक बिना पर्यटन विकासको कुरा सोच्नपनि सकिदैन । पर्यटकको आगमन कसरी बढाउने के कस्ता पुर्वाधारहरुको विकास गर्ने, कस्ता कस्ता आकर्षणको तयारी गर्ने भन्ने कुरामा सम्बन्धित सबै पक्ष उत्तिकै सचेत हुनु आवश्यक छ । चाहे स्थानीय वासिन्दा होस् या स्थानीय निकाय । मानुङ्कोटकै कुरा गर्ने हो भने राजमार्गदेखि कोट सम्म पुग्ने बाटो पूर्णरुपमा कालोपत्रे हुँदैछ । यो राम्रो कुरा हो । तर माथिमाथि पिच हुँदै जाने तलतल भत्कन थाल्ने भयो भने त्यसले प्रत्यक्ष रुपमा असर पार्छ र लगानी खेर जान्छ । कोटमा अहिलेसम्म पिउने पानीको व्यवस्था छैन । माझ्न धुन ट्याङ्कीमा जम्मा गरिएको आकासे पानी प्रयोग गरिए पनि पिउने पानीको लागि १ घण्टा भन्दा बढि समय खर्चिन बाध्य छन् कोटका स्थानीय । दैनिक पाँच छ सय मानिस आउजाउ हुने ठाउँमा एउटा पनि शौचालय छैन । जसले गर्दा मानुङ्कोटमा रमाउन जानेहरुले समस्याको सामना गर्नुपरेको छ । अधिकांश स्थानीयहरु विस्थापित भइसकेका छन् । अहिले मानुङ्कोटको अधिकांश जग्गाहरु पोखरेली र दमौैली आसपासका धनाड्यहरुको रहेको स्थानीयहरु बताउँछन् । ठाउँको माया बाहिरकालाई भन्दा स्थानीयलाई बढि हुन्छ । यस्तो अवस्थामा बचेका पाँच छ घर पनि विस्थापीत हुने हो भने मानुङ्कोटको भविष्य के होला ? तसर्थ पर्यटन विकास तथा प्रवर्दन समिति लगायत सम्बन्धित सबैले यी कुराहरुमा समय छँदै ध्यान पु¥याउनु पर्छ ।
अर्को महत्वपूर्ण कुरा बढिरहेको मानुङ्कोटको पर्यटनबाट स्थानीयहरु कत्तिको लाभान्वित छन् ? मानुङ्कोटसंगै जोडिएर रहेको मानुङ्गाउँ अलिक पर रहेको बच्र्याङ गाउँ फेदीको धाराडी गाउँ यी सबै मगर गाउँ हुन् । मगर संस्कृतिले ओतप्रोत भएका मानुङ्कोटको बढ्दै गरेको पर्यटनले यी गाउँहरु मगर संस्कृति प्रवर्धनको लागि कति मद्दत पुग्यो त ? जति खाए पनि खाउँ खाउँ लाग्ने सुन्तला, जंगलमा पाईने कटुस्, अर्गानिक पिंडालु, लोकल कालो सुंगुर, लोकल कुखुरा, विषादी रहित कोदोको जाँड र रक्सी यी ठाउँका स्थानीय उत्पादन र पहिचान हुन् । मानुङ्कोटमा बढी रहेको पर्यटनले यसको उत्पादन र व्यापार व्यवसायमा टेवा पु¥यायो कि पु¥याएन ? यी पनि विचार गरिनु पर्ने कुराहरु हुन् । किनभने जबसम्म पर्यटनको विकासले स्थानीयहरुको जीवनस्तरमा सुधार आउँदैन(विशेष गरी आर्थिक रुपले) तबसम्म मानिसको भिडलाई मात्र सही मानेमा पर्यटनको विकास भएको मान्न मिल्दैन । अहिले मानुङ्कोटमा मुस्किलले एउटा पसल छ, चिसो पेय पदार्थ, पानी चाउचाउ विस्कुट, चुरोट, गुट्खा, चाउमिन, मासु चिउरा र रक्सी केही परिकारहरु पाईने स्थानीय कुनै पनि उत्पादन त्यहाँ पाईदैन । यसको अर्थ मानुङ्कोटमा हुने व्यापारको पैसा घुमेर फेरी बजारकै डिलरसम्म आईपुग्दछ । मानुङ्कोटमा जाने अधिकाँश मानिसहरु दृष्याबलोकन, फोटो खिच्न र भिडियो बनाउनकै लागि मात्र जान्छन् । यकिन तथ्याङ्क त होइन, तर दैनिक पाँच छ सय जनाले घुम्ने मानुङ्कोटमा प्रतिव्यक्ति सय रुपयाँ पनि खर्च हुँदैन । खाना पिउनको लागि जाने अधिकाँशले पनि तलैबाट आफ्नो व्यवस्था गरेर गएका हुन्छन् । जस्ले गर्दा मानुङ्कोट दमौलीमा किनिएका चाउचाउको खोल र वियरको बोतल थुप्रिने ठाउँ जस्तो पनि हुन पुगेको छ । त्यसकारण स्थानीय उत्पादनको व्यापारलाई कसरी बढाउन सकिन्छ भन्ने पनि ख्याल गर्नु आवश्यक छ । त्यसको लागि पर्यटन विकास तथा प्रबद्र्धन समितिले त्यहाँका स्थानीय बासिन्दासंग सहकार्य गर्नु आवश्यक छ । पंक्तिकारलाई के लाग्छ भने मानुङ्कोटको पर्यटनको दिगोपनको लागि सुविधाको विस्तार त अपरिहार्य भैहाल्यो, संगै एउटा ट्याग लाईनको आवश्यकता छ । जस्तो कि सार्क भिलेजको रुपमा चिनिएको घलेगाउँ गुरुङ गाउँ र स्थानीय उत्पादनको खानाको लागि प्रख्याति कमायो । त्यसरी मानुङ्कोटको पर्यटन पनि प्रकृतिक दृष्याबलोकन, मगरसंस्कृतिको अवलोकन र मगर परिकारको स्वादलाई प्याकेजको रुपमा विस्तार गर्न सकिन्छ ता कि मानुङ्कोटमा पुग्ने पर्यटक वीस रुपयाँको चिया पनि नखाई दमौली फिर्ने वातावरण बन्द होस् । उसले त्यहाँ केही पैसा खर्च गरोस् जस्ले स्थानीयको जीवनस्तर उकास्न मद्दत पुगोस् । तब मात्र मानुङ्कोटमा बढिरहेको मानिसको भिडले पर्यटनको विकास भएको संकेत गर्दछ ।
कुनै पनि क्षेत्रको पर्यटनको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निभाउनु पर्दछ । त्यसमा घुम्न जाने पर्यटकको पनि ठूलो भूमिका हुन्छ । मानुङ्कोटको एउटा तितो यथार्थ यहाँ सुनाउन मन लाग्यो । दशैं शुरु हुनुभन्दा केही पहिले पंक्तिकार पनि साथीहरुसंग सन्ध्याकालिन दृष्याबलोकनका लागि मानुङ्कोट पुगेको थियो । स्थानीय पसल सञ्चालकसंग कुरा गर्दा उनले नमिठो दुःखेसो पोखे । पर्यटकको सुरक्षार्थ राखिएको रेलिङको टपहरु सबै भाँचिदिएको कुरा सुनाए । फोहोर संकलनका लागि राखिएको प्लाष्टिकको डस्टविनमा आगो लगाई दिने, फुटाई दिने गरेर, करिब एक सय पचास भन्दा बढी डस्टविन सयवटा भन्दा बढी स्टील ड्रहरु पनि फ्याकिदिएर दुईवटा मात्र बचेको बताए । हामी आफैले हेर्दा पनि फोहोर यत्रतत्र छरिएका थिए ।
एकै ठाउँमा थुप्रिएका फोहोर त आफूले जलाई दिने गरेको तर सबै कोट एक्लैले सफा गर्न नसकेको बताए । समय समयमा दमौलीका युवाक्लबहरु र अन्य संस्थाले गरिदिने सरसफाईले भने राहत भएको पनि सुनाए । सोंचौं त हाम्रै सुरक्षाका लागि राखिएको रेलिङ कस्ले विगा¥यो होला ? ड्रम फाल्ने को होला ? डस्टविनमै आगो कस्ले लगायो होला ? चिटिक्क परि फोटो खिच्दा आफूले खाएको चाउचाउको खोल, चिसोका बोतल, चुरोटका ठुटा जहाँ पायो फालिदिने को हो ? पक्कै पनि तपाई हामी नै हो । जो त्यहाँ घुम्न गएका छौं । त्यसकारण हामी पनि अब सभ्य पर्यटक बन्ने कोशिस गर्ने हो कि ? ताकि कोटमा बसेर पारी क्षीतिजको रमाईलो दृष्य कैद गर्दा गर्दै हाम्रो खुट्टा फोहोरले कुरुप बनेको भुई माथि नहोस् । मानुङकोटमा निष्फिक्री लडबुडी खेल्न पाइयोस् । मानुङकोटलाई हामीले बचाए यसले हामीलाई बचाउने हो । त्यसैले तनहुँको आउँदो पर्यटकीय गन्तब्य मानुङ्गकोटको संरक्षण, संबद्र्धन र प्रबद्र्धनको लागि हातेमालो
गरौं ।