रमेश विकल
नीति निर्माण, कानुनको पुनरावलोकन र सन्तुलन कायम गर्ने भूमिकामा रहेको माथिल्लो सदन अर्थात राष्ट्रिय सभाको शक्ति सन्तुलन बदलिएको छ ।
आइतबार सम्पन्न निर्वाचनबाट ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस २५ सिटसहित पहिलो दल बनेको छ । यस अघि १६ सदस्य सहित दोस्रो शक्तिको रुपमा रहेको नेपाली कांग्रेस ९ नयाँ सदस्य थपेर पहिलो शक्ति बनेको हो । यस अघि २५ सदस्य सहित पहिलो रहेको हालको नेपाली कम्युनिस्ट पार्टी ८ सदस्य गुमाएर १७ मा सीमित हुन पुगेको छ । एमाले १० सदस्य सहित तेस्रो स्थानमा कायम रहेको छ ।
राष्ट्रिय सभामा दुई–दुई वर्षमा एकतिहाइ सदस्यको निर्वाचन हुने गर्छ । हाल रिक्त १९ सिटमध्ये १ मनोनीत कोटा हो भने निर्वाचन हुनुपर्ने १८ मध्ये नेपाली कांग्रेसका १ निर्विरोध भइसकेकाले आइतबार बाँकी १७ सिटका लागि चुनाव भएको थियो । जसमा नेपाली कांग्रेसका ८, नेकपा एमालेका ८ र लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर निर्वाचित भएका हुन् ।
कोशीमा आइतबार भएको निर्वाचनमा एमालेकी रोशनी मेचे (७१७३) र एमालेकै सोमनाथ पोर्तेल (७४२३) विजयी भएका छन् । मधेशमा कांग्रेसका रञ्जित कर्ण (८०९३ ) र धर्मेन्द्र पासवान (७९०४), एमालेकी रेखाकुमारी झा (७२२२ ) तथा जसपा नेपालका महन्थ ठाकुर (७७२५) निर्वाचित भएका छन् । बागमतीबाट कांग्रेसकी गीता देवकोटा (६२३९) र एमालेका प्रेमप्रसाद दंगाल (६२०५ ) राष्ट्रिय सभा सदस्य चुनिएका छन् ।
यस्तै गण्डकीबाट कांग्रेसका जगत तिमिल्सिना (५०३३ ) र एमालेकी सम्झना देवकोटा (५०१४) राष्ट्रिय सभामा आएका छन् । लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री (६३०३) र कांग्रेसका वासुदेव घिमिरे (६३२२) तथा चन्द्रबहादुर केसी (५९७७) निर्वाचित भएका छन् । कर्णालीमा कांग्रेसका ललितजंग शाही (३२७८) र एमालेका मीनासिंह रखाल (३१४५) ले जितेका छन् । सुदूरपश्चिमबाट एमालेकी लीलाकुमारी भण्डारी
(३९८४) र कांग्रेसका खम्मबहादुर खाती (३९६९) राष्ट्रिय सभाका सांसद बनेका छन् ।
आइतबार निर्वाचित सांसदहरुले फागुन २१ मा कार्यभार सम्हाल्ने छन् । नेकपाका गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसालको पदावधि सकिँदैछ ।
एकीकृत जसपा नेपालको मृगेन्द्रकुमार सिंह र शेखरकुमार सिंहको पदावधि सकिँदैछ भने एमालेका देवेन्द्र दाहाल, विमला घिमिरे, गोपाल भट्टराई, भगवती न्यौपाने, इन्दिरा देवी गौतम, तुलसा कुमारी दाहाल , शारदा देवी भट्ट र सुमित्रा वि.सी. पदावधि फागुन २० मा सकिँदैछ ।
माथिल्लो सदनको बदलियो शक्ति सन्तुलन
previous post
