दमौली/राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाद्वारा सोमबार दमौलीमा गण्डकी प्रदेशका विनाविभागिय मन्त्री डोवाटे बिकलाई सम्मान गरेको छ । राष्ट्रिय दलित पत्रकार तनहुँका संघका सल्लाहकार, शुभचिन्तक एवं संघले स्थापना गरेको पत्रकारिता अक्षयकोषमा आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत सोही अवसरमा प्रमुख अतिथि मन्त्री विकबाट सम्मान–पत्र प्रदान गरिएको थियो । त्यसैगरी हालै सम्पन्न सुनचाँदी व्यवसायी संघ तनहुँका अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएका विनोद कुमार वि.क.लाई पनि हार्दिक बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । उपाध्यक्ष हरि गहतराज,सचिव पदम सुनार र कोषाध्यक्ष रोहित सुनारलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा पत्रकारिता अक्षयकोषमा आर्थिक सहयोग गर्नुहुने दाताहरु तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक ‘बिकास’, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य कृष्ण सुनार, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कि, मिनबहादुर चदारो, नेपाल बिश्वकर्मा, नरबहादुर सुनार समेतलाई सम्मान गरिएको थियो ।
सञ्चार माध्यमले महत्वका साथ न्याय अन्यायको कुरा उठाई दिएका कारण आफूले मन्त्री पाएको खुशी व्यक्त गर्दै प्रमुख अतिथि मन्त्री दोवाटे विकले ‘बन्दुकको गोली भन्दा पनि पत्रकारको कलमको मसी त्यति बलियो हुन्छ भन्ने कुराको प्रमाणित आफ्नै घट्नाले पुष्टि गरिदिएको छ ।’ भन्नु भयो ।
कोरोनाका कारण ज्यान गुमाएका परिवारलाई पचास हजार राहत, मृत्यु भएकाका बालबालिकालाइं मासिक पाँच हजार राहत र महिलाको पाठेघर, क्यान्सर शल्यक्रियामा निशुल्क उपचार र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन महत्वपूर्ण गण्डकी प्रदेश सरकारको योजना रहेको सो अवसरमा मन्त्रीले बताउनु भएको थियो ।
राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाका अध्यक्ष एस.बि.नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य कृष्ण सुनार, राष्ट्रिय दलित पत्रकार संघ तनहुँका सल्लाहकार एवं तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक (बिकास) नेपाल पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्वल पौडेल, राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिके लगायतका वक्ताहरुले दलित समुदायको हक अधिकारको लागि सम्बन्धित समुदायकै नेतृत्वको आवश्यक पर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रमको संञ्चालन संघका सचिव अशोक बिश्वकर्मा र स्वागत संघका कोषाध्यक्ष शर्मिला बिकले गर्नुभएको थियो ।
मन्त्री वि.क. सम्मानित
previous post