दमौली/भोलिबाट विश्व स्तनपान सप्ताह सुरु हुँदैछ । हरेक वर्ष अगस्त १ देखि ७ सम्म स्तनपान र यसको महत्वबारे आम सर्वसाााधरणमा चेतना फैलाउने तथा स्तनपान गराउने बानी–व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ । नेपालमा यो वर्ष साउन १६ देखि २२ सम्म यो दिवस मनाईँदैछ । विश्व समुदायले स्तनपान सप्ताह मनाउनुको अर्थ स्तनपानको महत्व बारेमा मानिसहरुलाई सूचित गर्ने, स्तनपान एक महत्वपूर्ण सार्वजनिक स्वास्थ्य जिम्मेवारी भएको बोध गराउने, यसको विषयमा छलफल चलाउने हो ।

आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ । अझ विगोती दूधको महत्व त झनै धेरै छ । पछिल्लो समय आमाहरु आफ्नो रुप बिग्रने भन्दै बच्चालाई स्तनपान गराउनबाट पन्छिने गरेका घटनाहरु बढ्दै गएको छ र यस्ता आमाहरुको संख्या नेपालमा झण्डै ५५ प्रतिशत रहेको छ । यसको अर्थ आधाभन्दा बढी आमाहरु बच्चालाई स्तनपान गराउँदैनन् । तर नियमित स्तनपानले बच्चाको रोग प्रतिरोधी क्षमता विकास गर्ने, शारीरिक र मानसिक विकास गर्न सहयोग गर्ने, झाडापखाला लगायतका समस्याबाट मुक्त राख्न सहयोग गर्छ । अझ महत्वपूर्ण कुरा आमाको दूध नियमित खान यदि सबै बच्चाले पाउने हो भने संसारभरको बाल मृत्युदरमा नै कमि आउने स्वास्थ्य विज्ञहरु दाबी गर्छन् ।
डा. नवराज केसीको पुस्तक सून्यको मूल्यमा उल्लेख भए अुनसार विहानपखको आमाको दूधमा कोर्टिसल भन्ने तत्व
पाईन्छ । यसले बच्चालाई दिनको सुरुवाती ताजगी दिन्छ । आमाको रातीको दूधमा बच्चालाई सुत्न सघाउने तत्व पाईन्छ, जसले बच्चालाई स्लिपिङ ट्याबलेटले झै काम गर्छ । गर्मीको दिनमा दूधमा पानी बढ्छ र यसले बच्चालाई सितल बनाउँछ भने जाडो महिनामा पानी घट्छ र तेलको मात्रा बढ्छ र बच्चालाई न्यानो बनाउँछ । स्तनपान नगराउने आमाहरुले बुझ्नु पर्ने के हो भने स्तनपानले उनीहरुको शारिरीक सौन्दर्यमा कमि आउने होइन बरु थप निखार आउँछ । सँगसँंगै नियमित स्तनपान गराउने आमालाई डिम्बाशय र स्तन क्यान्सर हुने सम्भावना कम हुने तथा पाठेघर सामान्य अवस्थामा फर्कन मद्दत गर्ने अध्ययनहरुले देखाएको छ । अनावश्यक रूपमा तौल बढ्नबाट समेत नियमित स्तनपानले रोक्छ । बच्चाको आन्द्राको विकासमा सहयोग गर्ने, आमा र बच्चालाई राम्रो निन्द्रा पर्ने, बच्चाको दाँत र गिजाको विकासमा मद्दत भई दाँत बलियो हुने, बच्चामा छालाको रोग कम हुने तथा आमाको महिनाबारी गडबड हुनबाट रोक्ने काम यसले गर्छ ।
बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने, बच्चालाई छ महिनासम्म आमाको दूध मात्र खुवाउने र दुई वर्षसम्म थप आहारका साथै स्तनपान पनि गराउनु पर्छ । स्तनपान शिशुको जन्मसिद्ध अधिकार हो र यो अधिकारको उपभोग गर्ने वातावरण हामी अभिभावकले नै बनाउने हो । स्तनपान गराउनु लज्जाको विषय होइन बरु यो त आमाले गौरब गर्नुपर्ने विषय हो । आफ्नो बच्चालाई मानसिक तथा शारिरीक रुपमा स्वस्थ्य भएर हुर्कने वातावरण निमार्ण गर्नु अनि उसको नैसर्गिक अधिकार प्रदान गर्नु लज्जाको विषय होइन ।